नगर प्रमुखसँग बालबालिकाको गुनासो

0
470

बिर्तामोड।

बालदिवसको अवसर पारेर बिर्तामोड र अर्जुनधारा नगरपालिकाका १० वटाभन्दा बढि बालक्लबहरुका पदाधिकारीले बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीसँग अन्तरक्रिया गरेका छन् ।

बिर्तामोड वडा नम्बर ५ कोे आयोजना र सिर्जनशील एकता बालक्लब र उज्यालो मनकामना बालक्लबको व्यवस्थापनमा भएको प्रमुखसँग बालबालिकाको अन्तरक्रिया विषयक कार्यक्रममा उनीहरुले आफ्ना समस्या नगर प्रमुख शिवाकोटीसँग राखेका हुन् ।

कार्यक्रममा नगर प्रमुख शिवाकोटीले बाल मजदुरहरु राख्न पनि नपाइने भन्दै बिर्तामोडमा कोही पनि बाल मजदुर नरहेको बताए । विभिन्न बालक्लबहरुबाट सहभागी भएका बालबालिकाले सोधेको प्रश्नको उत्तर दिँदै शिवाकोटीले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी बालबालिकाहरुले बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटी, शिक्षा अधिकृत दिनेशकुमार आचार्य, ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारी, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा इञ्चार्ज खगेन्द्र दङ्गाल लगायतलाई प्रश्न गरेका थिए ।

बालबालिकाहरुले बिर्तामोड नगरपालिकाभित्र बाल इजलास छ कि छैन यदि छ भने कहाँ छ र छैन भने किन छैन ?, नगरपालिकाभित्र हेल्थ सेनिटेरी किन सञ्चालन गरिएन ?, बाल अधिकार संविधानमा मात्र सिमित हो यदि होइन भने हाम्रो नगरमा कहिलेबाट पाउँछौं ?, नगरभित्र बाल मजदुरको संख्या कति छ, हामीले बुझ्न चाहेमा कहाँ खोज्न सक्छौँ ? नगरभित्रका प्रायः अधिकांश विद्यालयहरु सडक छेउमा छन् जसले गर्दा दुर्घट्ना बढेको छ यसलाई नियन्त्रण गर्न कस्तो किसिमको पहल गर्नुभएको छ ? लगायतका प्रश्न सोधेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शिवाकोटीले नगरका हरेक विद्यालयमा कलको पानी खानुपर्ने व्यवस्थाको अन्त्य गरि स्वच्छ पिउने पानीको व्यवस्था गर्ने जानकारी दिए । त्यसका साथै नगरभित्रका रहेका विद्यालयमा शिक्षकका लागि मात्र भनेर बनेका शौचालयहरु नगरले ताला लगाउने जानकारी दिए ।

शिक्षक र विद्यार्थीको शौचालय एउटै भएमात्र सबै विद्यालयको शौचालय सफा हुनेमा नगरप्रमुखले जोड दिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here