स्टेज कार्यक्रमबाट हँसाउन थालेका राजा राजेन्द्र पोखरेल अहिले स्थापित नाम हो । रेडियो अडियोमा वरिष्ठ कार्यक्रम निमार्ताका रुपमा कार्यरत् पोखरेलले टेलिभिजनमा कार्यक्रमहरु चलाए, गीत गाए । धेरै देश घुमे । हाँस्यव्यंग्यकार पोखरेल हाल नेपालकै पहिली अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रचार–प्रसारमा व्यस्त छन् । साइनोमा पोखरेलले पनि अभिनय गरेका छन् ।

गायन, रेडियो कार्यक्रम, स्ट्याण्डअप कमेडी, गाईजात्रा तथा अन्य विभिन्न कार्यक्रहरुको सञ्चालन गर्दै हाँस्यव्यंग्यका एक ताराका रुपमा उदाएका राजा राजेन्द्र पोखरेलको यो दोस्रो चलचित्र हो । यसअघि उनले युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’मा काम गरेका थिए ।
स्ट्याण्डअप कमेडीका साथै हाँस्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै उनले नेपालका झण्डै ७० जिल्लाको भ्रमण गरिसकेका छन् । उनले दर्जनभन्दा धेरै देशको भ्रमण समेत गरिसकेका छन् । जब उनले कुनै पनि स्थानमा गएर कार्यक्रम सञ्चालन गर्छन् । त्यसपश्चात भने आयोजकले हरेक कार्यक्रममा उनकै खोजी गर्ने गरेका छन् ।
विभिन्न कार्यक्रमहरुका निम्ति देश–विदेश गइरहनु पर्ने भएका कारण उनी कन्टेन्टमा अपडेट रहने गर्छन् । सानो कुरालाई पनि हाँस्यव्यंग्यका रुपमा प्रस्तुत गर्न सक्ने कला भएका कारण उनी युवापुस्तामा निकै परिचित मानिन्छन् । उनले नेपाली नेताहरुको झण्डै १६ वटा सेटहरु बनाएर क्यारिकेचर गरिसकेका छन् ।

उनलाई मानसिक संघर्षका अथक योद्धाका रुपमा लिइन्छ । साथी सञ्जालमा उत्कृष्ट सम्बन्ध निर्माण गर्न सफल रहेका कारण पनि साथीसंगीका नजरमा कुसल र क्षमतावान व्यक्तित्वको परिचय दिन सफल छन् पोखरेल । त्यसैले पनि उनलाई पछिल्लो समय हाँस्यव्यंग्यका चम्किला ताराका रुपमा हेर्ने गरिएको छ । हामीले उनै हाँस्यव्यंग्यकार राजा राजेन्द्र पोखरेलसँग पछिल्लो समयको स्ट्याण्ड अप कमेडीमा रहेर गफगाफ गरेका छौँ ।
स्ट्याण्डअप कमेडी भनेको के हो ?
– स्ट्याण्डअप कमेडी भनेको खास उभिएरै गर्ने कमेडी हो । यसमा यही नियम हुन्छ, यही कुरा राख्नुपर्छ भन्ने हुँदैन । तर, समय परिवेश, अवस्था अनुसार भने यो फरक हुन्छ ।
पछिल्लो समयको स्ट्याण्डप कमेडीलाई कसरी नियालिरहनु भएको छ ?
– पछिल्लो समय हुने स्ट्याण्डप कमेडीमा अलि बढी भल्गर शब्दहरु हुने गरेको पाएको छु । यसको मतलव सबैमा त्यस्तो छ भन्ने पनि होइन कतिपय राम्रा कमेडीहरु पनि छन् ।
हामी हाम्रो माटोबाट प्रभावित छौँ । हामी हाम्रो बाटोबाट प्रभावित छौँ । त्यो हिसाबले हामी हाम्रो बाटोको कुरा गर्छौँ । हाम्रो माटोको कुरा गछौँ । हामी गन्तव्यको कुरा गछौँ । हाम्रो समाजको कुरा गछौँ । हामीले कुनै पनि गलत कुरा छ भने त्यसलाई सुधार गर्नुपर्छ भन्ने कुरा गछौँ । हामी राजनीतिमा व्यंग्य गछौँ । हामी सामाजिक विकृतिहरुमाथि व्यंग्य गछौँ । हामीले गर्ने हाँस्यव्यंग्यका पाटोहरु यिनै हुन् । अब भारतमा हुने स्ट्याण्डप कमेडीलाई हेर्ने हो भने उनीहरु बलिउडको कुरा गर्छन्, क्रिकेटका कुरा गर्छन् अनि श्रीमान्–श्रीमतिको कुरा गर्छन् । त्यो उनीहरुको आफ्नो पाटो भयो । युरोप अमेरिकाको कमेडीलाई हेर्ने हो भने अलि फरक छ । उनीहरु सेक्सको विषयमा कमेडी गर्छन् ।
अब स्ट्याण्डप कमेडीको नाउँमा भल्गर शब्दहरु प्रयोग गर्नेको कुरा गर्दा उनीहरुले त्यही युरोप अमेरिकामा हुने कमेडीलाई फलो गरेका हुन् । उनीहरु हामी जस्तो नेपाली लेबलको मान्छे होइनन् । अन्तर्राष्ट्रिय स्तरका मान्छेहरु हुन् र अन्तर्राष्ट्रिय कमेडीमा त्यो मान्य हुन्छ । यो चिज क्यानडामा सन्नि लियोनीले कुन फिल्म खेल्छिन् र भारतमा आएर कुन फिल्म खेल्छिन् भन्ने कुराले थाह हुन्छ । क्यानडामा खेलेको जस्तो फिल्म सन्नि लियोनीले भारतमा आएर खेल्दिनन् । किनभने त्यो भारतले स्वीकार्न सक्दैन ।
हाम्रा भाइबहिनीहरुले चाहिँ क्यानडाको सन्नि लियोनीलाई फलो गरे त्यो सामान्य कुरा हो । किनभने उनीहरु अन्तर्राष्ट्रिय कमेडियन हुन् ।
पछिल्लो समय स्ट्याण्डअप कमेडी गर्न धेरै सजिलो छ भन्छन् नी ?
– हो, पहिला पहिला सफलता प्राप्त गर्न राजा राजेन्द्रहरु दिनरात नभनी स्ट्रगल गर्थे । मान्छे नहाँस्लान् भन्ने तनाव एक हप्ता अगाडिबाट हुन्थ्यो । हेर्ने दर्शकलाई मनोरञ्जन कसरी दिने भनेर अध्ययन गर्थे ।
तर, अहिले सिम्रन पाण्डेहरु हिट हुन्छन् । अहिले हिट हुन धेरै सजिलो छ । अर्चना पनेरुहरुलाई सजिलो छ । ज्योति मगरहरुलाई सजिलो छ । सरस्वती लामाहरुलाई सजिलो छ । सजिलो छ, सजिलो बनाउँदा सजिलो छ ।
अब यही हिसाबले अगाडि बढ्दा स्ट्याण्डअप कमेडीको भविष्य कस्तो होला ?
– यसले स्ट्याण्डअप कमेडीलाई खासै तात्विक असर पार्दैन । मान्छेहरु यस्लाई आँधीबेहरी भन्छन् तर म चैँ भन्छु यो आँधीबेहरी होइन । किनभने आँधीबेहरीले पुराना संरचनाहरुलाई पनि बिगार्छ ।
तर, यो अहिलेको छाडा कमेडीले पुरानो कमेडीलाई खासै असर गर्दैन । म चाहिँ यसलाई भेलसँग तुलना गर्छु । भेल आउँछ जान्छ खासै असर गर्दैन । अहिले युवापुस्तालाई फरक रमाईलोको अनुभूति भएको छ त्यति हो ।
प्रस्तुतिः मनोज दाहाल

























