नेपालका अल्पसंख्यकको भाषा र भाषा राजनीति

0
1314

तीर्थराज खरेल,

भाषा मानवीय वस्तु हो, भाषा समाजमा जन्मन्छ र समाजमा नै हुर्कन्छ । भाषा निरपेक्ष भएर कुनै पनि व्यक्ति र समाज रहन सक्दैन । भाषा मानवीय विचार आदान प्रदानको माध्यम हो । समाजका मानिसहरु भाषाकै माध्यमबाट भावनाहरुको साटासाट गर्दछन् । त्यसैले भाषालाई सामाजिक वस्तु हो भन्न सकिन्छ । भाषा विज्ञानले मानवीय उच्चारण अवयव (जिब्रो, ओठ, दाँत आदि)द्वारा उच्चारित सार्थक ध्वनि वा आवाजलाई मात्र भाषा भनेको मानिन्छ । त्यसैगरी भाषाका मौखिक र लिखित गरी दुई रुप हुन्छन् । भाषाको मौखिक रुप सुन्ने र बोल्ने प्रक्रियामा आधारित हुन्छ, अर्थात् भाषा सुनाइ, बोलाइ, पढाइ र लेखाइसँग सम्बन्धित हुन्छ ।

भाषालाई विभिन्न व्यक्तिहरुले आ–आफ्नै ढंगबाट परिभाषित पनि गरेको पाइन्छ । ब्याकरणकार पतञ्जलिका विचारमा मानवका उच्चारण अवयवद्वारा उच्चारित मानवीय अभिव्यक्ति नै भाषा हो भने ब्लुमफिल्डका विचारमा खास किसिमको उत्तेजनाको प्रतिक्रिया नै भाषा हो । हेनरी स्वीट उच्चरित ध्वनिहरुका माध्यमबाट गरिने विचारको प्रस्तुतिलाई भाषा मान्छन् भने आपसमा विचार विनिमय हुन सक्ने यादृच्छिक रुढ वाक् प्रतिक नै भाषा भएको आचार्य देवेन्द्रनाथ शर्माको विचार छ । त्यसरी नै मानवद्वारा निश्चित प्रयत्नका साथ स्वतः निस्कने सार्थक ध्वनि नै भाषा हो भनी भाषाशास्त्री भोलानाथ तिवारीले परिभाषित गरेका छन् ।

वास्तवमा भाषा मानवीय र सामाजिक वस्तु हो र मानवीय उच्चारण अवयवद्वारा उच्चारित सार्थक ध्वनिलाई भाषा भन्न सकिन्छ । मानवीय व्यवहार गर्न विचार आदान–प्रदान गर्न तथा आवश्यकता पूरा गर्नकै लागि संसारमा धेरै भाषाहरु जन्मिएका छन् । नेपाल क्षेत्रफलका हिसाबले सानो भएता पनि यहाँ विभिन्न भाषा परिवारका एक सयभन्दा बढी मातृभाषा बोल्ने वक्ताहरु रहेको तथ्यबाट पुष्टि भएको छ भने एक सय २० भन्दा बढी भाषाहरु रहेको तथ्यांक छ ।

नेपाल एक बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । यहाँ भारोपेली, चिनियाँ तिब्बती÷भोटबर्मेली, आग्नेली, द्रविड जस्ता भाषा परिवारका भाषाहरु बोलिन्छन् । नेपालमा बोलिने भाषा परिवारहरु मध्ये धेरै वक्ताहरु रहेको भाषा परिवार भारोपली भाषा परिवार हो । भारोपेली भाषा परिवारभित्र नेपाली, मैथिली, भोजपुरी, अवधी, थारु, कुमाल, बोटे, अंग्रेजी, चुरौटी आदि रहेका छन् । भोट बर्मेली भाषा परिवार सबैभन्दा बढी भाषाहरु रहेको भाषा परिवार हो नेपालमा । यस भाषा परिवारभित्र तामाङ्ग, नेवारी, मगर, राई, लिम्बू, गुरुङ, शेर्पा, चेपाङ, थकाली, लेप्चा आदि भाषाहरु पर्दछन् ।

आग्नेली भाषा परिवारमा सतार र सन्थाल पर्दछन् भने द्रविड परिवारको भाषा झाँगड तथा धाँगड हो । नेपाल सानो मुलुक भए पनि विभिन्न एक सयभन्दा बढी मातृभाषाका वक्ताहरु भएकाले यहाँ पर्याप्त भाषिक विविधता पाइन्छ । सबैभन्दा बढी वक्ता रहेको भाषा नेपालको नेपाली भएता पनि विभिन्न क्षेत्र जातजातिको बसोबासको बाहुल्य आदिका आधारमा अन्य भाषाहरुको पनि त्यतिकै महत्व पाइन्छ । भाषा विचार विनिमयको प्रभावकारी साधन हो । भाषा बिना मानव व्यवहार समृद्ध हुन सक्दैन । भाषाकै माध्यमबाट व्यक्तिले आफ्ना विचार तथा भावनाहरु एकअर्कामा साटासाट गर्दछन् । समाजले भाषाकै माध्यमबाट आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिहरु एक पुस्ताबाट अर्को पुस्तामा सार्दै जान्छ । भाषा परिवर्तनशील हुन्छ परिवर्तन र परिष्कारले पनि भाषामा नवीनता ल्याउने भएकोले कुनै पनि भाषाको विकासको लागि पहल हुनु नितान्त जरुरी छ ।

नेपालमा पहिचानको राजनीतिको प्रभाव गहिरोसँग जरा गाडेर बसेको छ । जातिकेन्द्रित र भाषा केन्द्रित राजनीतिको जग त्यति धेरै बलियो हुन सक्दैन । मानिससँग अभिन्न रुपमा गाँसिएको मातृभाषा लोप हुँदै गएको पीडा निकै कष्टकर हुन्छ । आज कतिपय भाषाहरु राजनीतिक, सामाजिक आर्थिक आदि कारणले संकटमा परेका मात्र छैनन्, लोपोन्मुख अवस्थामा पुगिरहेका छन् यस्तो अवस्था बढ्दै गएमा कतिपय भाषाहरुको अस्तित्व नै नरहने स्थिति देखिन्छ । त्यसैले भाषालाई समाजमा जीवन्त राख्न जरुरी हुन्छ । त्यसका निम्ति कसैको एक्लो प्रयास सफल नहुने भएकाले सामुहिक प्रयत्नका साथै सरकारी तहबाट पनि पहल हुनु जरुरी छ । अल्पसंख्यक भाषाको जगेर्ना र विकासका लागि नेपालमा सरकारी क्षेत्रबाट केही प्रयास अवश्यै भएका छन् । तर, ती प्रयत्नहरु त्यति प्रभावकारी छैनन् ।

उदाहरणका लागि नेपालको पूर्वी पहाडी भेगमा बोलिने भोट बर्मेली भाषा परिवारमा पर्ने लिम्बू भाषाको प्रयोक्ताहरुको जनसंख्या जनगणना २०५८ अनुसार साढे तीन लाख रहेको छ । नेपालको पूर्व मेची र कोशीको पहाडी इलाका लिम्बू जातिहरुको बसोबास गर्ने ठाउँ र ती लिम्बू जातिले बोल्ने भाषानै लिम्बू भाषा हो । यस भाषाको प्रयोग क्षेत्र मेची र कोशीको पहाडी इलाका भए पनि भारतको दार्जीलिङ्ग, सिक्किम, कालिम्पोङ्गसम्म यो भाषा बोलिन्छ । नेपालभित्रै बोलिने यो भाषाको चार वटा भेदहरु पनि छन् । पान्थरे, फेदापे, तमरखोले र छत्थरे आदि भाषिक भेद भए पनि पान्थरे भेदलाई मानकको रुपमा सबैले स्वीकारेका छन् । नेपालको जम्मा जनसंख्यालाई हेर्ने हो भने यो भाषा प्रयोक्ताको संख्यालाई अल्पसंख्यक नै मान्नुपर्ने हुन्छ । तथापि यस भाषाको आफ्नै लिपि भए पनि यो लिपि वर्ण कति वटा हुन् भन्ने विषयमा बहसहरु भइरहेका छन् । यसकारण पनि भाषामा मानकको अभाव खड्किएको देखिन्छ ।

कुनै पनि भाषाको अध्ययनले त्यस भाषाको उत्पत्ति, भाषिक विकास, भाषाको प्रयोग अवस्था जस्ता विषयहरु समेट्ने र त्यस भाषाको वर्तमान स्थिति अवगत गराउनुका साथै आगामी दिनमा त्यस भाषाको अवस्था र पहँुचलाई जीवन्तता दिनका निम्ति अवलम्बन गर्नुपर्ने मार्गचित्र समेत दर्शाउने भएकोले सबै भाषाको अध्ययन आवश्यक हुन्छ । त्यसमा पनि भाषिक पहुँच कमजोर भएका र अन्य भाषाको प्रभावमा परेका वक्ता रहेको भाषाको अध्ययन अनुसन्धान त झनै बढी महत्वको हुन्छ । विविधताको सौन्दर्यले युक्त हाम्रो देश नेपाल अनेकतामा एकताले बाँधिएकोे छ । त्यसैगरी यहाँ बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीले आफ्नो सौन्दर्यको छटाले सबैलाई मन्त्रमुग्ध पारिरहेको छ ।

भाषा आन्दोलनका दुई आयामहरु छन् । भाषाको नारा उठाएर आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थपूर्ति गर्ने एउटा विचार प्रवृत्ति रहेको छ भने विभिन्न समयमा भएका जनआन्दोलनहरुले पनि नेपाली भाषालाई राष्ट्रभाषा र यस देशभित्र बोलिने अन्य सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएर तिनको पहिचान संरक्षण र विकासको प्रत्याभूति समेत गराएको छ । यस देशभित्र विभिन्न धर्म र संस्कृति अनुसरण गर्ने विभिन्न जाति तथा जनजाति एक सयभन्दा धेरै भाषा बोल्दछन् भन्ने विद्वानहरुको भनाइ छ । भाषाको पहिचान र संरक्षणका लागि राज्यका नीति, नियम, ऐन, कानून, नियमावली र विनियमावलीमा आवश्यक प्रबन्धहरु गर्ने र ती नीति–नियमलाई व्यावहारिक रुप दिने प्रयास र प्रयत्न गर्नु र आवश्यक पर्दा भाषिक आन्दोलनका आँधी उठान गर्नु दोस्रो प्रकारको भाषा राजनीति मान्न सकिन्छ ।

उदाहरणका लागि पूर्वी नेपालको मेची र कोशी क्षेत्रको पहाडी इलाका वा लिम्बुवान क्षेत्रमा बसोबास गर्ने लिम्बू जातिले बोल्ने लिम्बू भाषा नेपालको लेख्य परम्परा र साहित्य भएको भाषामध्ये एउटा प्रमुख भाषा हो । वर्तमान कालमा यो भाषामा साहित्य लेखन द्रुतगतिमा भइरहेको छ भने शिक्षणको क्षेत्रमा पनि यो भाषाको प्रयोग विस्तार हुदैछ । निकै वर्षअघि नै नेपाल बाहेक भारतको सिक्किम राज्यले लिम्बू भाषालाई राज्य भाषाको मान्यता दिएर प्राथमिक तहदेखि स्नातक तहसम्म नै लिम्बू भाषा र साहित्य विषयको रुपमा पढाइँदैछ भने नेपालमा पनि प्राथमिक तहमा ऐच्छिक विषयको रुपमा पढाइँदैछ । यसरी हेर्दा लिम्बू जातिले बोल्ने भाषालाई लिम्बू भाषा भनिन्छ भने उनीहरुले आफ्नो भाषामा यसलाई ‘याक्थुङ्ग पाःन्’ या ‘याक्थुङ्बा पाःन्’ भन्दछन् । यसरी लिम्बू भाषाको विकास साहित्य लेखन र शिक्षामा प्रयोग विस्तार हुन थालेपछि यो भाषाभित्र रहेका चार वटा भाषिका (पान्थरे, फेदापे, तमोरखोले र छत्थरे) मानकको पनि खाँचो पर्यो तथापि यी भाषिकाहरु मध्ये पान्थरे भाषिकालाई मानकको रुपमा स्वीकार गरियो । यसपछि विभिन्न व्यक्तिहरुले वर्णमाला र ब्याकरणहरु पनि तयार पारे ।

अल्पसंख्यक प्रयोक्ताहरु वा वक्ताहरु रहेका भाषाहरुको संरक्षण र विकास गर्नु राज्यको कर्तव्य हो र सबै भाषा, जाति, धर्म, संस्कृतिको जगेर्ना गर्न सकिएमा मात्र वास्तविक रुपमा कुनै पनि मुलुकको साँचो अर्थमा विकास र उन्नति सम्भव छ । राज्यको उदासीनता कायम रहनु र भाषा राजनीतिमा संलग्न हुनेहरु पनि आफ्नो निहीत स्वार्थभन्दा माथि उठी भाषाको जगेर्नाका लागि क्रियाशील हुने हो भने लोपोन्मुख भाषाको संरक्षण गर्न सहज हुन्छ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको संघीयताको मर्म अनुरुप भाषिक अधिकारको प्रत्याभुत गर्ने उद्देश्यबाट प्रेरित भई भाषिक आन्दोलनको उठान हुनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here