विश्व ओजोन दिवस र हाम्रो अस्तित्व

0
706

आज सेप्टेम्बर महिनाको १६ तारिख । आजको दिनलाई विश्व ओजोन दिवसका मनाइन्छ । सन् १९९५ देखि मनाउन थालिएको यो दिवस पृथ्वीको वातावरण र स्वास्थ्य बचाउनका लागि महत्वपूर्ण छ । यो पृथ्वीको वातावरणीय तहभन्दा पन्ध्रदेखि तीस किलोमिटर माथि रहेको त्यस्तो तह हो जसले सूर्यबाट आउने परावैजनी रंगको किरणलाई पृथ्वीमा सोझै छिर्न रोकेर पृथ्वीको रक्षा गर्छ । त्यही तह अहिले मानिसका क्रियाकलापका कारण पातलिँदै, कमजोर हुन थालेको छ । अव्यवस्थित औद्योगिकीकरण तथा रसायनको उच्च प्रयोगले ओजोन तह च्यातिन र नाश हुन थालेको छ । यदि त्यसलाई टाल्न, क्षय हुने क्रम रोक्न सकिएन मानव जाति, उसको सभ्यता र पृथ्वीमा भएका सम्पूर्ण जीव र वनस्पतिको अस्तित्व समाप्त हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

पृथ्वीमा रहेका प्राणीहरु मध्येको सचेतनाका दृष्टिले सर्वोच्च भनिने मानिस यसको बारेमा गम्भीर हुनैपर्छ भनेर अहिले विद्यालय तहदेखि नै वातावरण शिक्षाको पढाइ गरिन्छ । पाठ्यक्रममै समावेश गरेर वातावरण र मानवबीचको सम्बन्ध देखाउन जनसंख्या र वातावरणका विषयमा शिक्षा दिइन्छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने ओजोन, जलवायु परिवर्तन, पारिस्थितिक प्रणाली हुँदै समग्र वातावरण बचाउन गर्नुपर्ने उपायका बारेमा पढाइन्छ । तर, पनि अव्यवस्थित बसोबास, क्रियाकलाप, रसायनको अधिकतम् प्रयोगले ओजोन तह प्रतिक्षण पातलिँदै गएको छ ।

कलकारखाना, सवारी, विलाशिताका वस्तुहरु, शरीरमा लगाइने गन्ध प्रतिरोधी स्प्रे, अत्तर, वातानुकुल गर्ने साधन लगायतका वस्तुले क्लोरोफ्लोरो कार्वन उत्सर्जन गर्दछन् । जसले ओजोन तहमा पज्ञुगेर सूर्यबाट आउने परावैजनी तहसँग मिलेर सुरक्षा कवचलाई कमजोर बनाउँछ । सूर्यबाट आएका हानीकारक किरणहरुले अनेक रोगहरु ल्याउने भएकाले पृथ्वीमा रहेका जलचर, थलचर प्राणीहरुको जीवनमा नकारात्मक असर ल्याउँछ र मानव अस्तित्व संकटमा पर्छ । त्यसका साथै मानवीय क्रियाकलापका कारण उत्पन्न फोहोरले पनि ओजोन तहलाई कमजोर बनाइरहेको छ । दुर्भाग्य भन्नुपर्ला विकसित देशहरुले उत्पादन गर्ने गरेका आणविक हतियार तथा त्यसको प्रयोगले हामी जस्ता विकासशील देशका बासिन्दाहरुले पनि ओजोन तहको विनाशको परिणाम भोग्नुपर्ने निश्चित छ ।

विकासको नाममा विनाशको यात्रामा हिँड्नु पक्कै पनि बुद्धिमानी होइन । त्यसैले हाम्रा क्रियाकलाप अर्थात् विकासका पूर्वाधार वातावरणमैत्री हुनुपर्दछ । त्यसो भएमात्र पृथ्वीको रक्षा कवचका रुपमा रहेको ओजोन तहको सुरक्षा हुनसक्छ । आफ्नो र आउँदो पुस्तालाई स्वच्छ, सुरक्षित र सुनिश्चित विश्व हस्तान्तरण गर्न हामी सबैमा चेतना जाग्नु पर्दछ । ओजोन तहको सुरक्षामै हाम्रो अस्तित्व सुरक्षित हुन्छ । यसतर्फ हाम्रा गतिविधि केन्द्रीत होस् र आजको दिनले फोहोर व्यवस्थापन, इन्धनको खपत कम हुने जीवनशैली र सादा जीवन बाँच्ने प्रेरणा दिओस् । यसमै विश्व ओजोन दिवसको सार्थकता भेटिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here