थुनुवा फरार प्रकरण : प्रहरी निरीक्षक कार्कीसहित ८ जनालाई कारबाही

0
849

झापा,

हिरासतबाटै भारतीय थुनुवा फरार भएका घटनामा दोषी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षकसहित आठजना प्रहरीलाई विभागीय कारबाही गरेको छ।

कारबाहीमा परेका प्रहरी निरीक्षकसहित पाँच जनालाई सरुवा गरिएको छ, भने अन्य तीन जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। कारबाहीमा परेका इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीलाई विभागीय कारबाही गर्दै संखुवासभा सरुवा गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

उनको ठाउँमा प्रहरी युक्त महाविद्यालय नवलपरासीबाट प्रहरी निरीक्षक कैलाश चौधरी आएका छन्। त्यस्तै छानबिनको क्रममा दोषी पाएका प्रहरी नायव निरीक्षक नवराज थापा, प्रहरी सहायक निरीक्षक घनश्याम पाण्डे र एक जना हवालदारलाई त्यहाँबाट सरुवा गरिएको उनले बताए।

उनीहरूलाई जिल्लाभित्रै सरुवा गरिएको उनको भनाई छ। त्यसै गरी धुलाबारीमा कार्यरत रहेका प्रहरी जवान विजय विश्वकर्मालाई निलम्बन गर्दै मुद्दा चलाइएको छ। थुनुवा फरार भएका बेला प्रहरी जवान गेट डियुटीमा रहेका थिए। डियुटीमै रहेका अन्य तीन जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिए पनि त्यहाँबाट सरुवा नगरिएको उनले बताए।

यता एक महिना अगाडि पश्चिम बंगालको दार्जिलिङ जिल्ला अल्छिया बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थान बस्ने २९ वर्षीय कृष्ण मण्डल हिरासत भित्रैबाट फरार भएको भोलि पल्टै प्रदेश १ प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले छुट्टाछुट्टै छानबिन समिति गठन गरी अनुसन्धान थालेको थियो।

चोरी घटनामा पक्राउ परेका दुई जना भारतीय थुनुवालाई अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप भइसकेको थियो।

चोरी मुद्दामा किटानी जाहेरी दिन कोही नआएपछि प्रहरीले दुवै जनामाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गराएको थियो। फरार भएका दुईजना भारतीय थुनुवा अझै फेला परेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here