एकद्धार प्रणालीमा पालिका सहमत

0
357

दमक।

झापा, इलाम र मोरङ भएर बग्ने खोलाहरुको खोलाजन्य सामग्री झिक्नका लागि यस क्षेत्रका ५ वटा स्थानीय तहबीच पहिलोपटक ठेक्का प्रक्रियामा एकद्वार प्रणालीबाट जाने सहमति भएको छ ।

खोलाजन्य सामग्रीको बिषयमा प्रत्येक बर्ष विवाद हुने र कता कसले बढी खन्यो भनेर समेत असमझदारी हुने गरेकोमा अब एकैपटक एकै ठाँउमा संयुक्त रुपमा टेण्डर खोल्ने सहमति भएको बताइएको छ । चालूआर्थिक बर्ष २०७६÷०७७ का लागि नदीजन्य पदार्थको ठेक्का बन्दोबस्ती प्रक्रियाका लागि झापाको दमक नगरपालिका, कमल गाउँपालिका, इलामको चुलाचुली र मोरङको मिक्लाजुङ गाउँपालिकाले एकद्वार प्रणालीबाट यसभन्दा अघि पनि सहमति गरे पनि मोरङको उर्लाबारीले बेग्लै ठेक्का लगाउँदै आएको थियो । अहिले उर्लाबारी नगरपालिकाले समेत संयुक्त रुपमा ठेक्का बन्दोबस्ती गर्ने सहमति जनाएको बताइन्छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार ५ वटै पालिकाको प्रारम्भिक वातावरणीय परीक्षण संयुक्त रुपमा गर्ने र सो प्रतिवेदनबाट निर्धारण हुने परिमाणका आधारमा अलग–अलग हिस्सा यकिन हुने गरी संयुक्त रुपमा ठेक्का बन्दोवस्त प्रक्रिया अघि बढाउने निर्णय भएको छ । यसलाई दमक नगरपालिकाको बोर्ड बैठकबाट अनुमोदन गरिएको उनले जानकारी दिए ।

यसरी एकीकृत रुपमा खोलाजन्य पदार्थको ठेक्का लाग्दा अनुगमन समेत सहज हुने र संयुक्त संयन्त्र बनाएर अनुगमन गर्न सजिलो हुने बताइन्छ । १० देखि १२ करोड रुपैयाँसम्ममा रतुवा र मावा खोलाको ठेक्का लाग्न सक्ने बताइन्छ । अघिल्लो आर्थिक बर्षमा उर्लाबारी नगरपालिका बाहेक दमकसहितका स्थानीय तहले करिब ९ करोडमा खोलाजन्य सामग्री ठेक्का लगाएका थिए ।

दमक नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक गीता अधिकारीका अनुसार बेग्लाबेग्लै रुपमा ठेक्का लगाउँदै एकअर्काबीच आरोप लगाउने र ठेक्का लिएकाले समेत निहुँ खोज्ने गरेकाले एकद्वार तथा एकीकृत रुपमा ठेक्का लगाउँदा छलकपट कम हुने अपेक्षा गरिएको छ । कताबाट झिकेको हो पत्तो नहुँदा एकले अर्कालाई देखाएर पन्छिने अवस्था थियो अब त्यो नहोला– उनले भनिन् ।

यसैगरी नदीजन्य पदार्थको शुल्क संकलन गर्ने कार्य ठेक्काद्वारा बदोबस्त नभएसम्म असोज १ गतेदेखि खोलामा ठूलो मेसिन प्रयोगमा रोक समेत लगाइएको छ । मानवीय श्रोत परिचालन गरेर नदीजन्य पदार्थ ढुवानी तथा संकलन भने गरिने बताइएको छ । प्रदेश आर्थिक ऐनमा तोकिएको दररेट अनुसार कार्यालयले आफ्नोतर्फबाट कर्मचारी तथा कामदार खटाइ संकलन गर्ने निर्णय नगरपालिका बोर्ड बैठकले गरेको वडा नं. ३का वडाध्यक्ष नवीन बरालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here