दशैं नजिकिएसँगै बजार अनुगमन

0
507

गौरीगञ्ज।

चाडपर्व नजिकिएसँगै स्थानीय सरकार गौरीगञ्जले आइतबारदेखि बजार अनुगमन शुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको बजार अनुगमन गौरीगञ्जले पहिलोपटक गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापा संयोजक रहेको पालिकास्तरीय अनुगमन समितिले अनुगमन गर्ने क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्ने, व्यवसाय दर्ता तथा नवीकरण नगर्ने, मूल्यसूची नराख्ने, प्रतिबन्धित वस्तुविक्री गर्ने पसलका व्यापारीहरुलाई १५ दिनभित्र नसच्चिए बजार अनुगमन निर्देशिका २०७४ बमोजिम दण्ड जरिवाना गर्ने चेतावनी दिएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै उपभोक्ताहरु नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक थापाले बताए । व्यवसायिक प्रमाण–पत्र नलिएका, नवीकरण नगरेका, मूल्यसूची नराखेकालाई पहिलोपटक सम्झाई–बुझाई १५ दिनभित्र सच्चिन आग्रह गरिएको संयोजक थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तुबिक्री वितरण गर्ने, ‘डेट एक्सपाएर’ भएका चिज वस्तु वेचविखन गर्ने गरेको र व्यवसायिक प्रमाण–पत्र नलिएको पाइएमा दोस्रोपटकको अनुगमनमा सोझै कार्वाही गर्ने बताए । जनचेतना फैलाउने उद्देश्यले पहिलो पटक अनुगमन गरेको बताउँदै अध्यक्ष श्रेष्ठले सबै व्यापारीहरुलाई सचेत रहन आग्रह गरेका थिए ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको वेचविखन कार्यमा लापर्वाही गर्ने जोसुकै व्यापारीलाई २०७४को बजार अनुगमन निर्देशिका बमोजिम दण्ड र सजाय हुने उनले बताए । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले सबै व्यापारीलाई मूल्य सूची राख्न, अखाद्य वस्तु नबेच्न र सही नापतौल गरी उभोक्तालाई मालसामान दिन यसअघि नै सूचना गरिसकेको बताए । बाणिज्य संघ गौरीगञ्ज उपभोक्ताको स्वास्थ्यसँग जहिल्यै सचेत रहेको बताउँदै अध्यक्ष महतोले व्यवसायिक प्रमाण–पत्र लिन सबै व्यापारीलाई आग्रह गरे ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहालले अखाद्य वस्तु वेचविखन गर्न, प्रतिबन्धित सामानहरु बेचबिखन गर्न कानूनले बन्देज गरेको हुँदा त्यस प्रकारको गतिविधि गर्ने व्यापारीहरुलाई कानून बमोजिम कार्वाही गरिने बताए । जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गर्दै आएकोमा मुलुक संघीय संरचना परिवर्तनसंगै बजार अनुगमनको जिम्मा स्थानीय सरकारले पाएको भन्दै प्रमुख दाहालले यस कार्यमा स्थानीय प्रशासनले खुलेर सहयोग गर्ने बताए ।

गौरीगञ्ज गाउँपालिकाले बजार अनुगमन गर्ने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा राखे पनि पालिकाले करिब २ वर्षपछि बजार अनुगमन गरेको हो । अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक थापा, इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहाल, झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष तथा वार्ड नं. ३ का अध्यक्ष मखना महतो, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराई, इलाका प्रशासन कार्यालय गौरीगञ्जका लेखापाल यमनाथ सञ्जेल, झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका सचिव श्रवण गिरी, गौरीगञ्ज गाउँपालिकाका वीरेन्द्र खड्कालगायत सहभागी थिए थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here