पेसापालो विश्वकपका लागि नेपाली खेलाडी छनौट

0
568

भद्रपुर।

१०औं पेसापालो (फिनिस बेसबल) विश्वकप २०१९ मा नेपाली टोलीले भाग लिने भएका छन् । आगामी मंसीर १० देखि २४ गते (नोभेम्बर २६–३० तारिक) सम्म भारतको पुनेमा आयोजना हुने पेसापालो विश्वकपमा भाग लिन नेपाली राष्ट्रिय टोलीका लागि खेलाडी छनौट भइसकेको नेपाल पेसापालो संगठनका अध्यक्ष पारसमणि दाहालले जानकारी दिए ।

पेसापालो विश्वकपका लागि छनौटमा परेका झापाका तीनसहित १४ जना खेलाडीलाई झापामै प्रशिक्षण दिइँदैछ । नेपाल पेसापालो संगठनको आयोजना तथा मेचीनगर नगरपालिका कार्यालय र सरस्वती मावि बाहुनडाँगीको सहयोगमा खेलाडीहरुलाई बाहुनडाँगीमा प्रशिक्षण दिने कार्य शुरु भएको हो । आइतबारदेखि शुरु भएको पेसापालो खेलको प्रशिक्षण मंसीर ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

नेपाली राष्ट्रिय टोलीमा विधान पोखरेल, ईश्वर जेसी, रुझन केसी, राजेश मैनाली, सुदिप भुर्तेल, लाक्पा सिंह (हेल्पो), राजु श्रेष्ठ, संकल्प श्रेष्ठ, सविर श्रेष्ठ, अतित खनाल, मुकुन्द पौडेल, सुजन उप्रेती, सक्रिय थापा मगर लगायतका खेलाडी छनौट भएका छन् । जसमध्ये मुकुन्द, सुजन र अतित झापाबाट छनौट भएका खेलाडी हुन् । चाडपर्वको बिदा कटौती गरेर ५१ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाली खेलाडीलाई फिनल्याण्डका पेसापालो प्रशिक्षक मिक्कोले प्रशिक्षण दिने छन् ।

फिनल्याण्डको राष्ट्रिय खेल पेसापालो भएकाले त्यही देशका प्रशिक्षक मिक्कोलाई बोलाइर नेपाली खेलाडीहरुलाई आजैदेखि प्रशिक्षण दिइने नेपाल पेसापालो संगठनले मेचीनगर नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्मा दर्ता नभएका नेपाल पेसापालो संगठन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको संगठन हो’ –अध्यक्ष दाहालले भने– ‘प्रशिक्षणदेखि प्रतियोगितामा भाग लिनसम्म १५ लाखभन्दा बढी खर्च हुन्छ, यो खर्च सरकारबाट नभई विभिन्न संघ–संगठन र दाताबाट संकलन गरेका छौ ।’ नेपालमा २०७४ माघको पहिलो साता यो संगठन गठन भएको बताउँदै अध्यक्ष दाहालले भने– ‘भारतबाट ६६ जना खेलाडी काठमाडौंमा बोलाएर पहिलो पटक पेसोपालो मैत्रीपूर्ण खेल खेलाएका थियौं, त्यहीबाट नेपालमा खेलाडी छनौटसँगै यस खेलको शुरुवात भएको हो ।’

गतवर्ष बंगलादेशमा भएका एसियन पेसापालो च्याम्पियन प्रतियोगितामा नेपाली खेलाडीले राम्रो खेल प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गरेको एसियन पेसापालो संगठनका उपाध्यक्ष प्रशान्त दाहालले बताए । ‘पेसापालो फिनल्याण्डको राष्ट्रिय खेल भएकोले नेपाली खेलप्रेमी जनता लागि यो नौलो खेल हो, तर पछिल्लो समयमा यो खेल विश्वभर फैलिन थालिसकेकोले नेपालमा पनि ल्याएका हौ’ –उनले भने– ‘यो खेल बेसवल प्रकारकै खेल हो, यो खेल पुरुष टिम, महिला टिम वा पुरुष–महिला दुवै टिम गरी तीन वटा टिम बनाएर खेलिन्छ, नेपालमा पुरुष टिम मात्र छ । यो खेलमा १२ जना खेलाडी हुन्छ, अतिरिक्त २ जना गरी १४ जना खेलाडी सहभागि हुन्छन्’ –उनले भने– ‘ब्याटिङ्ग अडरमा १२ र फिल्डिङ्गमा नौ जना खेलाडी मैदानमा हुन्छ, यो खेल पनि रनकै आधारमा जितिन्छ ।’

भारतमा हुने पेसापालो विश्वकपमा नेपालसहित १२ वटा राष्ट्रले भाग लिइसकेको छ, सो विश्वकपमा नेपाली टोलीले उपाधि जित्ने उदेश्य राखेर दुई महिना अघिदेखि नै प्रशिक्षण दिने कार्य शुरु गरेको संगठनका कोषाध्यक्ष विनेश श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै फिनल्याण्डका पेसापालो प्रशिक्षक मिक्कोले भने– ‘नेपाली खेलाडीमा पेसापालो खेलको प्रदर्शन र आत्मविश्वास राम्रो छ, त्यही भएर नेपाली खेलाडीलाई प्रशिक्षण दिन आएका हौं ।’ कार्यक्रममा मेचीनगर नगर प्रमुख विमल आचार्य, सशस्त्र प्रहरीका डिएसपी ज्ञानमणि पौडेल, झापा जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष शंकर थापा लगायतले नेपाली खेलाडीलाई जीतका लागि अग्रीम शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here