देशलाई धर्म निरपेक्ष घोषणा गरेसँगै परम्परादेखि चल्दै र मान्दै आएको संस्कार र संस्कृतिमाथि तीव्र आक्रमण भइरहेको छ । विश्वको एकमात्र हिन्दू राष्ट्रका रुपमा रहेको नेपाल विश्वका करोडौं हिन्दू धर्मावलम्वीहरुको आस्था र श्रद्धाको केन्द्र थियो । तर, राजनीतिक दलका नेता तथा खासगरी इसाइ धर्मावलम्वीहरुले अवसरका रुपमा प्रयोग गरेर हिन्दूत्वमाथि प्रहार गरिरहँदा पनि सहिष्णुताको अविच्छिन्न मर्यादाले प्रतिवाद गर्न रोकेको छ । यहाँका धार्मिक आस्थाका प्रमुख केन्द्रहरुमै प्रहार भइरहेका बेला सरकार आफैं वैदिक सनातनीहरुको आस्थामाथि प्रहार गर्न उद्धत रहेको घटना सार्वजनिक भएको छ ।
धर्म सापेक्ष राष्ट्र हुँदासम्म विशेष दिनहरुमा पशु बध गर्न बन्देज थियो । कानूनले नै औंशी, पूर्णिमा जस्ता तिथि र समय कसैले पशु बध गरे दण्डित हुने व्यवस्था थियो । नयाँ संविधान घोषणा भएसँगै जहिल्यै, जहाँसुकै र खुल्लारुपमा पशु बध हुन थालेको छ । कानूनले प्रतिबन्ध लगाएको गोवंशको समेत हत्या गरेको घटना पनि सार्वजनिक भएका छन् । यसले वैदिक सनातनीहरुको आस्था माथि आघात पु¥याएको मात्र छैन मुलुकलाई नै इसाईकरण गर्ने खतरा बढेको छ । घर–घर गएर इसाई धर्मको प्रचार गर्ने, टोल–टोलमा चर्चहरुको निर्माण गर्ने र अशिक्षा, गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गर्न प्रेरित गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्न सरकारका तर्फबाट पहल भएको छैन ।
यही समय सरकारकै तर्फबाट ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ शीर्षक दिएर ब्रोसर प्रकाशित भएको छ । ब्रोसर (पोष्टर)मा आस्थाले समेत प्रतिबन्ध लगाएको बाख्रा र कानूनले रोकेको गाईको तस्वीर अंकित छ । ‘स्वच्छ र स्वस्थ मासु’ भनेर देखाइएको सो तस्वीरले यी सबै कानूनतः बध गर्न हुने देखाउँछ । पशु सेवा विभाग जो नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गतको सरकारी अड्डा हो, उसले नै गरेको यो गल्ती अक्षम्य मात्रै होइन अपराध नै हो । यो घटनाले सरकार मन्द विषको माध्यमबाट देशलाई इसाईकरण गर्न अग्रसर छ भन्ने आरोपलाई पुष्टि गराउँछ ।
जनचेतनाका लागि भन्दै प्रकाशन गरेको पोष्टरमा मासुजन्य पशुको सूचीमा बाख्रा, गाई रहनुलाई सामान्य त्रुटी भनेर पुग्दैन । ‘माफी’ भनेर मात्र पनि हुँदैन, यसले जिम्मेवार व्यक्तिको नियत र उसलाई निर्देशित गर्ने संस्था वा व्यक्तिको अभिष्ट पनि जिम्मेवार छ भन्ने देखाउँछ । त्यसैले लक्ष्मी, माताका नामले पूजा गरिँदै आएको गाई स्वयम्ले नगरे पनि सम्पूर्ण सनातनी, ओंकार परिवारले यसको प्रतिवाद गर्नैपर्छ । पछिल्लो घटनाक्रमले आराध्यदेव पशुपतिनाथ र जानकी मन्दिरलाई नै विवादमा तान्ने काम गरेको छ । यही समय सार्वजनिक भएको विवादित पोष्टर सम्पूर्ण वैदिक सनातनीहरुको आस्थामाथिको प्रहार भएकाले सरकारका तर्फबाट प्रष्ट धारणा सार्वजनिक हुनैपर्छ ।


























