अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान स्मृति प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको सम्पन्न खेलमा चन्द्रगढी फुटबल एकाडेमी विजयी भएको छ ।
स्थानीय शहीद टेक–मान रंगशालामा नयाँ श्रीनाथ गण चारआलीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै चन्द्रगढी विजयी भएको हो । यो जीतसँगै चन्द्रगढी प्रतियोगिताको सेमफिाइनलमा पुग्ने पहिलो टोली पनि बनेको छ ।
निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
जसमा चन्द्रगढीका लागि मित्र बस्नेत, कर्ण लिम्बू, प्रमोद चौधरी र योगेश लिम्बूको प्रहार गोलमा परिणत भएको थियो भने श्याम मुर्मूको प्रहार विपक्षी गोेलरक्षकले बचाउ गरेका थिए ।

त्यस्तै, नयाँ श्रीनाथ गणका बुद्धराज आङ्देम्बे र डेविड चौधरीको प्रहारमात्र गोलमा परिणत भएको थियो । प्रवेश राईको प्रहार क्रसबारमा लाग्दै बाहिरियो भने किरण बस्नेतको प्रहार चन्द्रगढीका गोलरक्षकले बचाएका थिए ।
खेलको म्यान अफ दी म्याच चन्द्रगढीका प्रमोद चौधरी घोषित भए । उनलाई झापा ११ एफसीका महासचिव केशवराज दाहाल र आयोजक क्लबका अध्यक्ष कृष्ण लोहारले नगद ३ हजार पुरस्कार प्रदान गरे ।
शनिबारको खेल क्षेत्रीय सशस्त्र प्रहरी बल पकली र सैनिक युथ क्लबबीच हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले जानकारी दिए ।


























