सबै पुरस्कारको रकम संस्थालाई

0
388

बागलुङ,

साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै आउनुभएको छ । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार÷सम्मानको रकम प्रतिष्ठानलाई समर्पित गरेको साहित्यकार रोशनले बताउनुभयो ।

उहाँले पहिलोपटक विसं २०४५ मा पाउनुभएको युवा वर्ष मोती पुरस्कारको रकम रु सात हजार ५०० प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो । “पुरस्कारको एक रुपैयाँ पनि यताउता गरेको छैन, सबै प्रतिष्ठानको कोषमा जम्मा गर्दै आएको छु”, रोशनले भन्नुभयो । साहित्यको सेवा र उत्थानका लागि पुरस्कार÷सम्मानबाट पाएको रकम प्रतिष्ठानको कोषमा जम्मा गर्दै आएको उहाँको भनाइ थियो ।

रोशन प्रतिष्ठानका संस्थापक एवं अध्यक्षसमेत हुनुहुन्छ । उहाँले पाएका सबै पुरस्कार गरी रु दुई लाखभन्दा बढी प्रतिष्ठानको कोषमा जम्मा भइसकेको छ । विसं २०४१ मा प्रतिष्ठान स्थापना गर्दा राखिएको रु ११ हजारको कोष बढेर अहिले १० लाख पुगेको प्रतिष्ठानका संस्थापक सदस्य श्याम श्रेष्ठले बताउनुभयो । “साहित्यकार रोशनले पुरस्कारबाट आएको र अन्य व्यक्तिगत रकमसमेत कोषमा राख्दै आउनुभएको छ”, सदस्य श्रेष्ठले भन्नुभयो । प्रतिष्ठान खोल्दा रोशन र श्रेष्ठले रु ५०० का दरले रकम राखेर कोष खडा गर्नुभएको थियो ।

“साहित्यमै जीवन समर्पण गरेपछि मलाई अरु केही स्वार्थ छैन”, प्रतिष्ठानका अध्यक्ष रोशनले भन्नुभयो, “संस्थालाई कहीँबाट सहयोग आउँदैन, साहित्यको सबै काम व्यक्तिगत पहलमा गरिरहेको छु ।” उहाँले युवा वर्ष मोती पुरस्कारसँगै विसं २०६७ मा क्षेत्रीय प्रतिभा पुरस्कार, विसं २०६८ वासु शशी स्मृति पुरस्कार, विसं २०७३ मा भीमनिधि तिवारी साहित्य सम्मानलगायत डेढ दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । बागलुङ बजार निवासी साहित्यकार रोशनले आफू सरकारी सेवामा रहँदा पनि मासिकरुपमा केही रकम प्रतिष्ठानकै कोषमा जम्मा गर्ने गरेको स्मरण गर्नुभयो ।

“सरकारी सेवाका क्रममा पाउने भत्ता र लेखा परीक्षकको रुपमा चार वर्ष काम गर्दा आएको पैसासमेत प्रतिष्ठानलाई हस्तान्तरण गरेको छु”, रोशनले भन्नुभयो । उहाँले साहित्यिक कामका लागि विसं २०३५÷३६ तिर दैनिक रु दुई सङ्कलन गर्ने गरेको सुनाउनुभयो । सरकारी सेवाबाट निवृत्त हुँदा प्राप्त रकमबाट समेत केही रकम प्रतिष्ठानलाई छुट्टाएको उहाँको भनाइ थियो । प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्ने राष्ट्रियस्तरको काजी रोशन साहित्य पुरस्कार सोही कोषबाट प्रदान हुँदै आएको छ ।

प्रतिष्ठानले वर्षेनी भानु, भूपी, मोती जयन्तीलगायत विभिन्न साहित्यिक कार्यक्रम तथा अभियान सञ्चालन गर्दै आएको छ । साहित्यकार रोशनका ‘मानसरोवरमा डुबुल्की मार्दा’ (नियात्रा), ‘एम्बुस’, ‘देश र फूलदानी’ (कविता) लगायत विभिन्न विधाका दर्जनौँ कृति प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here