नरेन्द्र ढकाल / बिर्तामोड ।

मानवीय रहनसहन तथा खानपान र जीवनशैलीका कारण झापासहित देशभर मुटु रोगीको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । झापामा महिलाभन्दा पुरुषमा धेरै मुटु रोगको समस्या देखिएको जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा वर्षेनि मुटु रोगीको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ६० जना पुरुष र एक सय ३२ महिलामा मुटु रोगको समस्या देखापरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार मुटु रोगीलाई सरकारले उपचारमा एक लाख रुपैयाँसम्म छुट दिएकाले विभिन्न अस्पतालबाट सिरफारिस लिन आउनेको संख्या मात्रै यति हो । कतिको रोगको पहिचान नै नभई मृत्यु हुने गरेको भन्दै मुटु रोगीको संख्या अझै धेरै हुन सक्ने चिकित्सकहरुले बताएका छन् । झापामा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा मुटु रोगीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलका मेडिकल डाइरेक्टर एवम् मुटु रोग विशेषज्ञ डाक्टर अनिल बस्नेतलले पछिल्लो समयमा २०–२२ वर्ष उमेर समूहका मानिसमा हृदयघातको समस्या देखा पर्न थालेको बताएका छन् । उनले जंकफुड तथा चिल्लो, भुटेको खानपानले स्वास्थ्यमा समस्या देखिएको बताए । उनले भने– मानिसहरु हिँड्नै छाडिसके यसले गर्दा शारीरिक समस्या निम्तियो । मुटुलाई स्वस्थ्य राख्नका लागि शारीरिक व्यायामसँगै हरियो सागपात खान डाक्टर बस्नेतले सुझाव दिएका छन् ।
उता बीएण्डसी हस्पिटलका मुटु रोग विशेषज्ञ (डीएम कार्डियोलोजिष्ट) डा. राजेश पञ्जियारले भने– पहिले मुटु रोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर, पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरी फैलिएको छ । मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठिन र महंगो हुने डाक्टर पञ्जियारले बताए ।
उनले वर्षमा एकपटक भए पनि आफ्नो स्वास्थ्यको जाँच गराउन सबैसँग आग्रह पनि गरे । पछिल्लो समय खानपान, व्यस्त जीवनशैली, तनाव, रहनसहन नै मुटु रोगको प्रमुख कारण भएको डाक्टर पञ्जियारले बताए । उनले भने– तारेको, भुटेको, चिल्लो मात्रा बढी भएको र मादक पदार्थ तथा धुम्रपान गर्नुहुन्छ भने त्यसले तपाईको मुटुलाई गम्भीर असर पारिरहेको हुन्छ । त्यसले गर्दा पछिल्लो समय युवा अवस्थाका मानिसहरु पनि मुटु रोगको जोखिममा पर्दै गएका छन् । पछिल्लो समय हृदयघात धेरै हुनुको कारण पनि यही हो ।
त्यस्तै सञ्जीवनी हस्पिटलका मुटु रोग विशेषज्ञ डाक्टर सीपी यादवले जीवनशैलीमा सुधार नगरे मुटु रोगले भयावह स्थिति सिर्जना गर्ने बताए । उनले प्रत्येक घरमा एक जनामा मुटुको समस्या रहेको भन्दै उनले औषधिले मात्र समस्या समाधान नहुने बताए । डाक्टर यादवले खानपान र जीवनशैलीमा ध्यान दिन आग्रह गरे ।
किशोर अवस्थाका मानिसमा समेत मुटुको समस्या देखिएको भन्दै हृदयघातका कारण धेरै मानिसले अकालमा नै ज्यान गुमाउनु परेको चिकित्सकको भनाइ छ । डाक्टर यादवले झापामा समेत वर्षेनि मुटु रोगीको संख्या बढ्दै गएको भन्दै आफ्नो मुटुलाई प्रेम गर्न सुझाव दिए । वर्ष एकपटक स्वास्थ्य अवस्था चेकजाँच गराउन आग्रह गर्दै उनले शारीरिक व्यायाम र खानपानमा विशेष ध्यान दिन सुझाव दिए ।
नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । चिकित्सकहरुले धुमपान तथा मद्यपान सेवन नगर्न, चिल्लो, पिरो बोसो, भुटेको तारेको खानेकुरा नखान, सकभर मासु कम खान, सागपात खान र दैनिक शारीरिक व्यायाम गर्न सुझाव दिएका छन् । विश्वमा हरेक वर्ष मुटु सम्बन्धी रोगका कारण १७ लाखभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक छ ।
यसैबीच आइतबार विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । विश्व मुटु फेडरेशन र विश्व स्वास्थ्य संगठनले सन् २०००देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२देखि सेप्टेम्बर २९लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको हो ।
६० वर्ष उमेर कटेका तथा मधुमेह र दमको समस्या भएकालाई मुटु रोगको जोखिम धेरै हुने गरेको बताइएको छ । सामान्यतया एक मिनेटमा मुटुको चाल ५० भन्दा धेरै र एक सयको बीचमा हुनुपर्नेमा त्यसभन्दा फरक भएमा मुटुमा समस्या छ भनेर बुझ्नुपर्ने चिकित्सकहरुको भनाइ छ । विशेष गरेर शहरी क्षेत्रमा बायु प्रदुषण तथा खानपानका कारण पनि मुटु रोगीको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
स्वस्थ मुटुका लागि के गर्नुपर्छ ?
साधारणतया मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदै जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदै लैजानुपर्छ । उमेर बढ्दै गएपछि शारीरिक परिश्रममा कति पनि निष्क्रिय हुनुहँुदैन । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदै जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ ।
यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशील हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारक तत्वहरु घटाउँछ ।
प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशील रहने लक्ष्य राख्नुपर्छ । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भए पनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ । युवाहरुले प्रत्येक दिनजस्तो ४०देखि ५० मिनेट व्यायाम गर्नुपर्छ ।
नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै–थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ ।






























