बडादशैं र नेपाली समाजमा यसको योगदान

0
1354

दीपेन्द्रप्रसाद दाहाल/कमलप्रसाद लुइटेल

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । प्रकृतिको दिव्य सौन्दर्यमा सजिएको यो मुलुक पूर्वीय हिमसंस्कृतिको देश हो । धर्म, संस्कृति रीतिरिवाज तथा परम्पराका आधारमा राष्ट्रभित्र विविध जातजाति, भाषाभाषी आदि अन्तर्गतका संस्कारहरु राष्ट्रका अमूल्य निधिहरु हुन् । हरेक धर्म तथा संस्कृतिले धार्मिक, आध्यात्मिक, ऐतिहासिक, सांस्कृतिक गरिमा र महिमालाई सेचन गरिरहेको हुन्छ । हामी नेपालीहरु धर्म, संस्कृति र सनातन वैदिक परम्परा अनुसार धेरै चाडपर्वहरु मनाउँदै आएको कुरा अविष्मरणीय छ । हिन्दू धर्मावलम्बीहरुका विविध चाडपर्वहरु मध्ये सिङ्गो नेपाली समाजलाई आपसी एकता, सद्भाव र वैदिक सनातन आस्थाको रास्तामा डोहो¥याउने नेपाली संस्कृतिको आत्माका रुपमा स्थापित महान् पर्व हो दशैं ।

मूलतः वर्षा ऋतुपछि आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्मको शरदकालीन मनोरम प्राकृतिक वातावरणको उल्लासमय क्षणमा रमाउँदै मनाइने यो पर्व मुख्य रुपले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म जम्मा दश दिन धुमधामसँग मनाइन्छ । नवरात्रको पहिलो दिनदेखि स्थापना गरिएका नवदुर्गा भवानी मातालाई विविध रुपमा नौ दिन अर्थात् नवमीसम्म पूजा अर्चना र आराधना गरी उनै पूजित, आराधित विद्या, बुद्धि, बल, पराक्रम, आयु, ऐश्वर्य, आस्था प्रदायनी नवदुर्गा भवानीको प्रसादका रुपमा विजया दशमीदेखि पूर्णिमासम्म आफ्ना ज्येष्ठ पूज्य हजुरबुबा, हजुरआमा, मातापिता, गुरु आदि मान्यजनबाट टिका, जमरा ग्रहण गर्दै आशीर्वाद लिने गरिन्छ ।
देवी भगवतीको पराक्रम र शक्तिसँग गाँसिएर आएका नवरात्रका देवीहरु को को हुन् त ? यस प्रसङ्गमा दुर्गा सप्तशती चण्डीको कवचमा निम्नानुसार उल्लेख गरिएको पाइन्छ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।

नेपाली समाज परापूर्व काल भनौं वैदिक युगदेखि नै भाफ्नो अभीष्ट सिद्धिका लागि देवी देवताको पूजा आराधना गर्दै आएको तथ्य हाम्रा धार्मिक ग्रन्थहरुले प्रष्ट्याएका छन् । दुर्गा भवानीको महिमासँगै जोडिएको महान् पर्व विजया दशमीको परम्परा के हो त ?

मूलतः रामायण, देवीभागवत र मार्कण्डेय पुराणको कथा प्रसङ्ग अनुसार रावण, महिषासुर, रक्तबीज, चण्ड, मुण्ड, शुम्भ, निशुम्भ जस्ता असुरहरुले सत्ताको दम्भ देखाई लोकजीवनमाथि असत्य, अधर्म र अन्याय गर्दै अशान्ति मच्चाएका थिए । यस्ता आसुरी प्रवृत्तिमाथि शक्तिस्वरुपा भगवतीले विजय हासिल गरी सत्य, न्याय र धर्मको स्थापना गरेको उपलक्ष्यमा खुशीयाली स्वरुप विजया दशमी मनाउँन थालेको हो भन्ने कुरा नै यस पर्वको ऐतिहासिक एवम् पौराणिक आधार हो । पौराणिक आधार अनुसार नै भन्नुपर्दा त्यस्ती अद्वितीय शक्ति भएकी देवी कहाँबाट आइन् त ? अथवा माथि भनिएका नौवटी देवीको समूह मिलेर पराक्रम देखाएका त थिएनन् ? मार्कण्डेय पुराण एवम् दुर्गा सप्तशती चण्डीलाई हेर्दा स्पष्टरुपमा के देखिन्छ भने प्राचीनकालमा महिषासुर, रक्तबीज आदिले देवताहरुमाथि अत्याचार मच्चाएपछि ब्रह्मा, विष्णु, महेश्वर प्रवृत्ति मुख्य देवताहरुको शरीरबाट अद्वितीय तेज निस्कियो । त्यही तेज सङ्गठित हुँदा तीनै लोकमा व्याप्त एक नारी प्रकट भएको प्रमाण यस्तो छ ः

‘ततोऽति कोप पूर्णस्य चक्रिणो वदनात्तत ।
निश्चक्राम महत्तेजो ब्रह्मण शङ्करस्य च ।।
अतुलं तत्र तत्तेजः सर्वदेवशरीरजम् ।
एकस्थं तदभून्नारी व्याप्त लोक त्रयं त्विषा ।।’
(चण्डी अध्याय २ श्लोक १०, १३)

ब्रह्मा, विष्णु, महेश्वर लगायत इन्द्रादि देवताबाट निस्किएको तेजपुञ्जबाट देवीको प्रादुर्भाव भएको प्रमाण छ । तिनै देवीले लोककल्याणका लागि प्रतिरुपका रुपमा युग–युगमा समय परिस्थिति अनुसार धारण गरेका नाम हुन्– नवदुर्गा । देवी जो हुन् ती एक हुन्, रुप अनेक । मुख्य गरी महाकाली, महालक्ष्मी, महासरस्वतीका रुपमा त्रिगुणमयी देवीको उपासना गरिन्छ तथापि दुर्गा सप्तशतीमा वर्णित १०८ देवीका नाम कार्यका आधारमा प्रकट गरिएका पवित्र नाम मात्र हुन् । नाम जे भए पनि देव तेजबाट प्रादुर्भाव भएकी देवीले मानवहीत अर्थात् लोककल्याणका निम्ति कहिले कन्या, कहिले क्रुद्धा, कहिले सौम्या, कहिले सिद्धिदात्री, विद्याबुद्धि शक्तिदातृ, वरदायिनी भएर हाँस्दै, कटाक्ष गर्दै अनेकस्वरुप धारण गरी कार्य सम्पादन गर्नुपरेको कुरा स्पष्ट देखिन्छ । युग–युगमा देखापरेका असत्य, अधर्म र अहंकारको विनाश गरी सत्य, धर्म र सदाचारको पुनस्र्थापनाका लागि सीता, द्रौपदीका रुपमा पनि लोक मर्यादाको स्थापना गर्ने अद्वितीय कार्य गरेको छ, देवीशक्तिले । यिनै चर्चित, वर्णित देवी भगवतीको नौ दिनसम्म पूजा, अर्चना र उपासना सकिएसँगै विजया दशमीदेखि तिनै देवी भवानीको प्रसाद स्वरुप मान्यजनबाट आशीर्वचन, जमरा, टिका आदि ग्रहण गरी पूर्णिमासम्म धुमधामसँग मनाउने दशैँ पर्वको विकास र सामाजिक सद्भावका लागि कस्तो योगदान छ त ?

हाम्रो देशको ऐतिहासिक पक्षलाई केलाएर हेर्दा के देखिन्छ भने राजनीतिक परिवर्तनभन्दा दरिलो शक्तिका रुपमा आस्था स्थापित छ । विशेषतः पौराणिक र वैदिक मार्गदर्शनबाट निर्देर्शित व्यक्तिव्यक्तिका विचारहरु र तिनै विचारहरुको संशोधित एवम् परिमार्जित स्वरुप नेपाली समाजको सङ्गठनात्मक संरचनाको ऐन वा विधानको रुपमा रहेको कुरा स्पष्टै छ । वेद पुराण, उपनिषद् र समाज सञ्चालनको निर्देशिकाका रुपमा रहेको मनुस्मृति आदि ग्रन्थहरुको निर्देशनले नेपाली समाजलाई आस्था, भक्ति र एकताको सूत्रमा बाँध्न महत्वपूर्ण मात्र होइन अद्वितीय योगदान गरेको कुरा मननीय छ ।

सङ्गठित शिक्षालयको अभाव अनि शिक्षित र साक्षर जनशक्ति नभएको अवस्थामा पनि हाम्रो नेपाली समाजलाई संस्कारयुक्त सभ्यताको राजमार्गमा हिँडाउँन दशैंको निकै ठूलो योगदान रहेको पाइन्छ । जीवनका सवल पक्षहरु आहार, विहार, सदाचार, न्याय, सत्य, मानवता, नैतिकता, विश्वबन्धुत्व एवम् गुरुशिष्य संरचना, पारिवारिक प्रेम र कर्तव्यनिष्ठ जीवन पद्धतिलाई दरिलो पार्न राज्यद्वारा स्थापित संविधानभन्दा समय–समयमा महान् विचारदर्शनले बाँधेका हाम्रा पर्वहरुको योगदान अझ उल्लेखनीय रहेको पाइन्छ ।

चार जात छत्तीस वर्ण जो जहाँ जसरी भए पनि साझा पूmलवारीको रुपमा दशैं पर्व मनाउँदै आएका छौं । ऋषिमहर्षिहरुको तपोभूमि, वीरवीराङ्गानाहरुले त्याग देखाएको यो पवित्र भूमि नेपालमा राजनीतिक असमझदारीका कारण मानिसमा मानवता, एकता र आस्था हराउँदै गएका बेला पनि दशैं पर्वले हाम्रो समाजलाई मानवता, एकता, आस्था, बन्धुत्व, जातीय सद्भाव एवम् धार्मिक, सांस्कृतिक सहिष्णुतामा रमाउन सिकाएको कुरा हाम्रासामु ऐना जस्तै छर्लङ्ग छ । लिङ्गेपिङ, रोटेपिङको पवित्र प्रेममा रमाउने हाम्रो आस्थाको समाजलाई यस बडा दशैँले भौतिक अफ्ठ्याराहरु पार गर्दै मातृत्वको काखमा रमाउँन घर फर्काउँने पवित्र आशीर्वचनको योगदान अनुपम छ । अक्षरै नचिनेका हजुरबा–हजुरआमाले शास्त्रीय श्लोकलाई लयमा मिलाएर प्रेमपूर्ण तरिकाले सफलताको हार्दिक कामनासहित दिइने आशीर्वाचन विश्वका कुनै समृद्ध वा विकसित देशको ऐतिहासिक वा समसामयिक पक्षले परिपूर्ति गर्न सकेको देखिँदैन । दशैँमा दिइने आर्शीवचनका मर्मलाई संक्षिप्त रुपले हेर्ने हो भने नेपाली समाजले सम्पूर्ण नेपाली सन्ततिको यस्तो पवित्र परिकल्पना गरेको कुरा तलका श्लोकहरुले प्रष्ट बोलेका छन् ।

आयुद्र्राेणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
दानं सूर्यसुते वलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे ।।१।।
ब्रहा करोतु दीर्घायु विष्णुः करोतु सम्पदा
हरो हरतु पापानि गात्रो रक्षतु चण्डिका ।।२।।
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।३।।

अर्थः द्रोणका छोरा अश्वत्थामाको जस्तो आयु, श्रेय रामचन्द्रका पिता राजा दशरथको जस्तो, शत्रु नाश गर्ने शक्ति रघुनन्दन रामचन्द्रको जस्तो, ऐश्वर्य नहुष राजाको जस्तो, गति वा वेग वायुको जस्तो, सम्मान दुर्योधनको जस्तो, दान दिनेमा दानवीर कर्ण जस्तो, शक्ति वा बल हलधर बलरामको जस्तो, सत्य कुन्तिपुत्र युधिष्ठिरको जस्तो, ज्ञान विदुरको जस्तो, कीर्ति भगवान् नारायणको जस्तो, होस् । १

सृष्टिकर्ता ब्रह्माजीले दीर्घायु प्रदान गरुन्, पालनकर्ता भगवान् विष्णुले धनसम्पत्तिको वृद्धि गरुन्, संहारकर्ता भगवान् शंकरले समस्त पापहरुको नाश र देवी चण्डिकाले शरीरको रक्षा गरुन् । २

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नाम गरेका देवीलाई नमस्कार छ । ३

माथि दिइएका आशीर्वचनले आशीर्वाद ग्रहण गर्ने जो कोहीलाई पनि जीवनमा सफलताको सोपान चढ्न अद्वितीय प्रेरणा, हौसला मिलेको कुरा स्मरणीय मात्रै होइन, मननीय पनि देखिन्छ । यस्ता आशीर्वचनद्वारा आस्था, भक्ति, एवम् पारिवारिक प्रेम र कर्तव्यको पाठ दशँैले नेपाली समाजलाई परापूर्वकालदेखि नै सिकाउँदै आएको छ ।

जननी र जन्मभूमि स्वर्गभन्दा श्रेष्ठ हुन्छन्, ठूलालाई आदर गर्नु, सानालाई माया गर्नुपर्छ भन्ने कुरा हामीले वाल्यजीवनदेखि वर्तमानसम्म सिक्दै र सिकाउँदै आएका छौँ । यस्तो उत्तम शिक्षा हरेक नागरिकले प्राप्त गरी अनुशासित र कर्तव्यपरायण नागरिक उत्पादन गर्ने शिक्षाको राष्ट्रिय उद्देश्यलाई हाम्रो महान् पर्व दशैंले पूरा गरेको हुनाले नेपाली समाजमा बडा दशँैले धार्मिक एवम् सांस्कृतिक मात्रै नभएर अद्वितीय शैक्षिक योगदान समेत दिएको देखिन्छ ।
माथिका विविध पक्ष र प्रसङ्गमा गहिरिँदा दशैं नेपालीहरुको गौरवको पर्व हो । क्षेत्रीय, जातीय, धार्मिक, पारिवारिक, सांस्कृतिक, सामाजिक, नैतिक आदि कोणबाट हेर्दा यो पर्व नेपाली सद्भाव र एकताको मौलिक पर्व हो । यस पर्वले नेपाली समाजमा महान् योगदान दिएकै कारण महान् र बडा जस्ता विशिष्ट विशेषण शब्द प्रयोग भएको हो ।

मुख्यतया हाम्रो नेपाली समाजले यस पर्वको वास्तविक गहिराइलाई शताब्दीयौँदेखि संरक्षण, सम्बद्र्धन गर्दै यसबाट मानव सभ्यता र सामाजिक सहिष्णुतालाई बचाउँदै आएको छ । दशैंको मूल उर्वराभूमिको रुपमा रहेको नेपाली समाज नेपालको भौतिक परिधिभित्र मात्र नभई विश्वको कुनै भौतिक संरचनाभित्र रहेर पनि यसप्रतिको सम्मान अक्षुण्ण राख्नु सम्पूर्ण नेपालीको महत्वपूर्ण कर्तव्य हो । विभिन्न धर्मका अपरिपक्व धार वा वादलाई समाएर दशैँ जस्तो महान् पर्वप्रति उदासीनताको प्रयास गर्नु र यसप्रति सामान्य मानसिकता समाजमा स्थापित गर्न प्रयास गर्नुले नेपालीहरुको स्थापित मान्यता र मर्मप्रतिको बेइमानी भएको भन्न सकिन्छ । दशैँ हाम्रो समाजको पर्व मात्र होइन, पौराणिक कालदेखिको सामाजिक एकताको वरदानका रुपमा अद्वितीय योगदान दिदै आएको कुरालाई महत्त्वपूर्ण रुपले बुझी बडा दशैंको पावन समय हाम्रो पारिवारिक मिलन, सामाजिक सद्भाव, एवम् राष्ट्रिय एकताको रुपमा मनाउनु हामी सबैको स्वधर्म पनि हो भन्दा अत्युक्ति हुँदैन । त्यसैले यस पावन पर्वलाई हाम्रो, राम्रो र रहरको पर्वको रुपमा मनाउन सबै सफल हौंँ । यस महान् पर्वलाई तडक–भडकका रुपमा नभई पारम्पारिक रुपमा मनाउनु नै हाम्रो कर्तव्य हो ।

यसरी पूर्वीय वैदिक सनातन परम्पराका रुपमा मनाउँदै आएको, जगदम्बा भगवती दुर्गा भवानीको शौर्य शक्तिको गौरव गाथा बोकेको, सम्पूर्ण मानवमात्रलाई पारिवारिक, सामाजिक एवम् राष्ट्रिय एकताको सुन्दर मालामा उन्दै सबैलाई धार्मिक, सामाजिक एवम् जातीय सद्भावमा रमाउन सिकाउने सद्बुद्धि दुर्गामाताले प्रदान गरुन् ।
(दाहाल पूर्वीय दर्शन प्रतिष्ठान नेपालका सह–सचिव र कमलप्रसाद लुइँटेल सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here