दमौली,
जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन् ।
आर्थिक वर्ष २०७४÷७५ मा २५६, ०७५÷७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६÷७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४÷७५ मा २५६, ०७५÷७६ मा २२२ र ०७६÷७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन् ।
सिलवालका अनुसार ०७४÷७५ मा हराएकामध्ये छ र ०७६÷७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन् । “विसं ०७४÷७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो ।
कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो । प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ ।
त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ ।






























