अर्जुनधारा ।

अन्तराष्ट्रिय बिपद जोखिम न्यूनिकरण दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले एकदिने उद्दार कला सम्बन्धी प्रदर्शनी आयोजना गरेको छ ।
प्रदर्शनीमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाढीमा डुबेका मानिसलाई गर्ने उद्दार कला प्रस्तुत गरेका थिए ।
नगरपालिकाको सालबारी झिलमा आयोजना गरेको कार्यक्रममा नयाँ श्रीनाथ गणको टोलीले डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर पानीमा डुबेका मानिसलाई उद्दार गर्ने कला प्रस्तुत गरेका थिए ।
यसैगरी नेपाल प्रहरीको टोलीले उद्दारका क्रममा हुनसक्ने दुर्घटना र त्यसबाट बच्ने उपायका बारेमा प्रदर्शनी गरेको थियो ।
गत बर्ष नै आयोजना हुने भनिएको प्रदर्शनीको अघिल्लो दिन शसस्त्र प्रहरीको एकजना गोताखोरको मृत्यु भएपछि स्थगित भएको थियो ।
त्यसबर्ष स्थगित भएको प्रदर्शनी यसबर्ष आयोजना गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । उनले धेरैवटा खोलानाला भएको नगरपालिका भएको हुनाले त्यसबाट हुनसक्ने सम्भावित जोखिम कम गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।































