लक्ष्मी उप्रेती / मेचीनगर ।

पूर्वी पहाडी जिल्लाको मुख्यः नगदे वालीको रुपमा रहेको अलैचीको माग भारतमा बढ्न थालेकाले पूर्वीनाकाबाट हुने कृषि तथा कृषिजन्य वस्तुको व्यपार नेपालको पक्षमा मजवुत देखिएको छ । भारतीय बजारमाअलैचीको माग बढेसँगै निर्यात समेत बढेका कारण तुलनात्मक रुपमा व्यपार नेपाल नेपालको पक्षमा देखिएको छ ।
वितेको आर्थिक वर्ष २०७५÷२०७६ को एकवर्षे अवधिमा काँकरभिट्टा नाका भएर कुल ४ अर्व ८५ करोड ५५ लाख १८ हजार रुपैयाँ मुल्य बराबरका कृषि तथा कृषिजन्य वस्तु भारतसहित अन्य देश निर्यात भएका थिए । जुन रकम आयातको तुलनामा २ अर्व १२ करोड ९७ लाख ५० हजार रुपैयाँले निकासी व्यापारमा बृद्धि भएको प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाको कार्यालयको तथ्याङ्कले देखाएको छ । यो नाकाहुँदै बन्दाकोपी, मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीपिना, राइसव्राण्ड तथा जडीबुटीलगायतका वस्तुहरु निर्यात हुने गरेको छ ।
चीन, भारत अष्टे«लिया, क्यानाडालगायतका देशबाट कृषिजन्य वस्तुहरुको आयात हुने गरेको छ । काँकरभिट्टा नाका भएर सवैभन्दा बढी दलहन आयात भएको देखिन्छ । दल्ल्हन गेडागुडी क्यानडा अष्टे«लियाबाट आयात भएको थियो । कार्यालयका अनुसार सो अवधिमा २ अर्व ७२ करोड ५७ लाख ६८ हजार रुपैयाँ मुल्य बराबरका कृषि तथा कृषिजन्य वस्तु आयात भएका थिए ।
आर्थिक रुपमा व्यपार नेपालको पक्षमा हुनुपर्ने मुख्य कारण अलैजीको माग बढ्न् र निर्यातमा बृद्घि हुनु नै भएको कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सुरेशकुमार साहको भनाई छ । यो नाका भएर बंगलादेश तथा भारतलगायतका देशमा कृषिजन्य वस्तु निर्यात हुने गरेको छ ।
उनका अनुसार एकवर्षे अवधिमा पूर्वीनाका भएर ३ अर्व ८ करोड ४४ हजार रुपैयाँ मुल्य बराबरको ३८ हजार ५ सय ५५ मेट्रिक टन अलैची भारत निर्यात भएको छ । यसैगरी १ अर्व ४१ करोड १ लाख २० हजार रुपैयाँ मुल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन मुसुरो दाल, १० करोड ११७ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय २६ मेट्रिक टन अर्थाेडक्स चिया रसिया, जर्मन निर्यात भएको छ । यो नाका हुँदै सवैभन्दा बढी मुसुरो दालको निर्यात देखिन्छ । मुसुरो दाल विशेषगरी बंगलादेश निर्यात हुने गरेको छ ।
कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत साहका अनुसार २९ करोड ८८ लाख ५ हजार रुपैयाँ मुल्य बराबरको ८ हजार ८ सय ९३ मेट्रिक टन अम्रिसो, तथा २२ करोड २८ लाख ३५ रुपैयाँ मुल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा समेत भारततर्फ निर्यात भएको छ । सो वर्ष आयात भएका वस्तुमध्ये अनारस, हरियो सागसब्जी, प्याज, आलु, धान, कोदो, गेडागुडी दल्हनलगायत मुख्य स्थानमा छन् ।
आयाततर्फ १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज, ४४ करोड २२ लाख २० हजार रुपैयाँ मुल्य बराबरको २२ हजार १ सय ११ मेट्रिक टन आलु तथा ४७ करोड ७३ लाख ६० हजार रुपैयाँ मुल्य बराबरको २६ हजार ७ सय ४१ मेट्रिक टन हरियो सागसब्जी नेपालका विभिन्न बजारमा आयात भएका छन् । कार्यालयले प्रवेश अनुमती पत्र वापत निकासी तथा पैठारीतर्फ सोहि अवधिमा ९ लाख ४५ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
खाद्यन्न तरकारी तथा फलफूलको उत्पादनको पर्याप्तको सम्भावना रहेपनि विविध कारणले उत्पदान हुन नसक्दा नेपाल कृषिजन्य वस्तुमा अझै परनिर्भर बन्नु परेको छ । कृषि क्षेत्रलाई व्यवसायिक बनाउन नसक्नु तथा कृषकले उत्पादनको उचित मुल्य नपाउनुलगायतका कारणले पनि नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्न नसकेको कृषि विज्ञहरुको भनाई छ ।































