झापा नाटक घर निर्माणमा आर्थिक अभाव

0
1222

बिर्तामोड।

क्षितिज नाट्य समूह झापाको अगुवाइमा बिर्तामोडमा निर्माणाधिन बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण कार्य स्थगन भएको छ ।

प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा आर्थिक अभाव भएपछि हाल काम स्थगन गर्नुपरेको क्षितिज नाट्य समूह झापाका अध्यक्ष तथा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले जानकारी दिए ।

बिर्तामोड– १ का मनोज निरौलाले नि शुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पबित्रा महतरा प्रसाईले गत असार ११ गते संयुक्तरुपमा शिलान्यास गरेका थिए । झापा नाटक घर निर्माणका लागि गत आर्थिक बर्षको बजेटबाट प्रदेश नं. १ को सामाजिक बिकास मन्त्रालयले नगद १५ लाख रुपैयाँ छुट्याएको र उक्त रकम प्राप्त भएको बताइएको छ ।

झापा नाटक घर तथा संग्रहालय निर्माणका लागि करिब चार दर्जनभन्दा बढी ब्यक्ति तथा संघ–संस्थाबाट जनही ५१ हजार सहयोग पु¥याउन रकम घोषणा भए पनि हालसम्म क्षितिज नाट्य समूहकी उपाध्यक्ष सुजना खतिवडा कलाकारहरु सबिता रेग्मी, माया सिटौला, मदन रसाइली, देवीमाया प्रसाईं, नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंबाट मात्रै घोषित रकम प्राप्त भएको निर्माण व्यवस्थापन समितिका सचिव कल्पितले जानकारी दिए ।
८० फुट लम्बाई र ७० फुट चौडाइको सुबिधासम्पन्न नाटक घरभित्र दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, कार्यालयसहित तीन सय ५० जना दर्शक क्षमता भएको भवन रहने बताइएको छ ।

बिर्तामोडमा निर्मित भबनहरुभन्दा फर शैली र सुबिधासहितको निर्माण हुन लागेको र यसको निर्माण कार्य सम्पन्न गर्न एक करोड २४ लाखको डिपिआर तयार भइसकेको निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंले जानकारी दिए ।

बहुजातीय, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर अन्तर्गत पहिलो चरणमा नाटक घर निर्माण कार्यसम्पन्न गरी संग्रहालय निर्माणमा जुट्ने क्षितिज नाट्य समूहको लक्ष्य र उद्देश्य रहेता पनि नाटक घर निर्माणमा नै प्रर्याप्त स्रोत जुट्न नसक्दा प्रदेशबासीकै साझा गौरवको नाटक घर ओझेलमा परेकोप्रति नाटक घर निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष मुना प्रसाईंले चिन्ता व्यक्त गरिन् ।

सरकार र सम्बन्धित निकायले यस अभियानलाई उच्च प्राथमिकता दिन नसकेको र विकासको नाममा बाटो र बिजुलीभन्दा अन्य क्षेत्रमा लगानी बढाउन नसकेकोप्रति रंगकर्मीको मात्रै नभएर कला साहित्य र सिर्जनाका पारखीहरुको समेत चिन्ताको बिषय रहेको स्थानीय कलाकार माया सिटौलाले बताइन् ।

यसैबीच अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले झापा नाटक घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा लगायतको टोलीले झापा नाटक घरको अबलोकन गर्दै यस्तो प्रतिबद्धता जनाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here