बिर्तामोड। 
जङ्गली हात्तीको उपद्रो रोक्न झापाको पूर्वाेत्तर क्षेत्र बाहुनडाँगीसहित विभिन्न ठाउँमा विद्युतीय तारबार गरिएको छ । विद्युतीय तारवार गरिएका कारण दर्जनौं हात्तीको यसअघि मृत्यु भइसकेको छ ।
तर, शनिवार बिहान हात्तीको उपद्रो रोक्न प्रयोग भएको विद्युतीय धरापमा परी मामा भाञ्जाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बुद्धशान्ति गाउँपालिका–४का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका–५ का करिब ३५ वर्षीय मणिराम राई रहेका छन् ।
मणिराम र अभिनाश मामा–भाञ्जा हुन् । बुद्धशान्ति–४का परेसीकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनाश शनिवार बिहान माछा मार्न गएका थिए । सोही गाउँपालिका– ४स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै विद्युतीय धराप लगाइएको थियो । कार्यालय नजिकैको खोलामा माछा मार्ने क्रममा धरापमा राखिएको बिजुलीको तारले पानीलाई छोएकोले करेन्ट प्रवाह भएर मामा–भाञ्जाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
भारतीय सीमावर्ती नाकासँग जोडिएका झापाका विभिन्न स्थानका नागरिकले जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति व्यहोर्दै आएका छन् । तर, विद्युतीय धरापमा परेर मानिसको मृत्यु भएपछि बुद्धशान्तिका स्थानीयवासी मात्र होइन जिल्लाका आम नागरिकमा त्रास थपिएको छ ।
नेपालको प्रचलित कानूनले विद्युतीय बार राख्नु गैरकानूनी हुन्छ । तर, यस क्षेत्रमा डिभिजन वन कार्यालय, प्रहरी, प्रशासन र विद्युत् प्राधिकरणको स्वीकृत बिना हात्ती प्रभावित क्षेत्रका बासिन्दाले विद्युतीय बार लगाउँदै आएका छन् । यसमा सम्बन्धित निकायले पनि चासो देखाएको छैन । सुरक्षाका लागि यसरी राखिएका विद्युतीय बार नै उनीहरुको मृत्युको कारण बन्दै आएको छ । यस्ता बारमा परी जंगली हात्ती मात्र होइन मान्छेले नै ज्यान गुमाउँदै आएका छन् ।
२०७६ साउन ३१मा जंगली हात्ती नियन्त्रणका लागि घर वरिपरि लगाइएको विद्युतीय बारमा परी पूर्वी झापाको मेचीनगर नगरपालिका–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गंगा थपलियाको ज्यान गयो । आफ्नै घर पछाडि खेतमा जंगली हात्ती नियन्त्रणका लागि लगाइएको विद्युतीय बारमा थपलियालाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थपलिया परिवारले घर वरिपरि विद्युतीय बार लगाउन सम्बन्धित निकायबाट स्वीकृति लिएका थिएनन् ।
त्यस्तै २०७६ असार १४मा हल्दिबारी–३ रनकाली सामुदायिक वनमा राखिएको विद्युतीय बारमा परी तीन वटा हात्ती मरे । हुलाकी राजमार्गसँगै जोडिएको साबिक दक्षिणी झापाको जलथल गाविस–१मा पर्ने रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ रैथाने जंगली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न वन वरिपरि विद्युतीय तरबारको रूपमा अर्थिङ करेन्ट लगाउँदै आइरहेको समूहका सदस्य योगेन्द्र लिम्बूले जानकारी दिए । करेन्ट लगाउँदा जंगल नजिकैको बस्ती सुरक्षित छ– उनले भने– ‘त्यही भएर वनमा साँझ परेपछि अर्थिङ करेन्ट लगाउँदै आएको छौं ।
तर, रनकाली सामुदायिक वनले पनि विद्युतीय धराप लगाउन अनुमति लिएको छैन । अहिले पनि वनमा विद्युतीय धराप लगाएको स्थानीय बताउँछन् । त्यस क्षेत्रमा रहेका अधिकांश वनमा विद्युतीय धराप लगाइएको छ ।
राखिएको विद्युतीय बारमा परी उत्तरी झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडाकी २५ वर्षीया अनु लिम्बूको मृत्यु भएको थियो । उनलाई उद्धार गर्न जाने अर्की एक महिला समेत घाइते भएकी थिइन् । अनुका श्रीमान् भक्तबहादुर सेर्मा लिम्बूले घर वरिपरि विद्युतीय बार राखेका थिए । घरबाट बाहिर निस्किएकी अनुको सोही बारमा परी करेन्ट लागी मृत्यु भएको थियो । सोही घटनामा अनुकी बहिनी सुस्मिता पनि करेन्ट लागेर घाइते भएकी थिइन् । उनको स्वास्थ्यमा सुधार आएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता २०७५ भदौ ६मा झापाको पूर्व–उत्तरमा रहेको मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको विद्युतीय बारमै परी मृत्यु भयो । बाहुनडाँगीमा जंगली हात्ती निस्किएपछि हात्ती धपाउन जाँदा हात्ती नियन्त्रणका लागि थापिएको विद्युतीय बारमा उनलाई करेन्ट लागेको थियो ।
त्यस्तै २०७४ असोज ९मा विद्युतीय बारमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिका–१०का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको ज्यान गयो । जंगली हात्ती रोक्न घर वरिपरि लगाइएको विद्युतीय बारमा करेन्ट लागेर घाइते भएका लिम्बूको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
२०७४ चैत १७ मा घर वरिपरि लगाइएको विद्युतीय बारमा परी हल्दिबारी गाउँपालिका–३की ६० बर्षीया छविमाया खड्काको पनि मृत्यु भयो । घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०७२ असोज १४मा जंगली हात्ती धपाउने क्रममा करेन्ट लाग्दा बाह्रदशी गाउँपालिका साबिक राजगढ–३ बुट्टाबारीका ५७ वर्षीय कृष्ण नेम्बाङको मृत्यु भयो । गाउँमा जंगली हात्ती पसेको थाहा पाएपछि नेम्बाङ हात्ती धपाउन विद्युतीय साइरन बजाउँदा करेन्ट लागेर घाइते भएका थिए । नेम्बाङको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
२०७० असार २१मा विद्युतीय बारमा परी झापा र इलामको सीमामा पर्ने इरौंटार–८ का टीकाराम रिजालको घर नजिकै खेतमा पोथी हात्ती म¥यो । यी केही प्रतिनिधि घटना मात्रै हुन् । हात्ती धपाउन लगाएको धरापमा परेर झापामा धेरैले ज्यान गुमाएका छन् भने दर्जनौं हात्ती मरेका छन् ।






























