अमित खम्बू /अर्जुनधारा।

हस्पिटलबाट निस्कने फोहोर फँयाक्ने जिम्मा पाएका ठेकेदारको लापरवाहीका कारण हस्पिटलका फोहोरजन्य सामग्रीहरु सामुदायिक वन क्षेत्र तथा नदी किनारहरुमा लगेर फँयाक्निे गरेको पाइएको छ ।
झापाको अर्जुनधारा–१स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको साविक ब्ल्क नम्बर २ र हाल वैज्ञानिक वन व्यवस्थापन अन्र्तगत ब्लक नम्बर ६को सानो नेते खोला किनारको त्रिशुलीमा शुक्रबार विहान फोहोर फँयाकिएको पाइएको हो ।
कालो प्लाष्टिकमा पोको पारिएको ५० वटा भन्दा बढी पोकामा हस्पिटलको फोहोरजन्य सामग्रीहरुसँगै खानेकुराका खोल तथा बट्टाहरुलगायत रहेका छन् । फँयाकिएको फोहोरको थुप्रोमा बिर्तामोडस्थित कनकाईमाई ड्रग हाउसको बिललगायत फेला परेको छ ।
रातको मौका छोपेर ट्रीपरबाट उक्त फोहोर फँयाकिएको हुनसक्ने समूहका अध्यक्ष चक्र तामाङले बताए । उनको अनुसार फोहोर कसले ल्याएर फँयाकेको भन्ने विषयमा समूहले खोजी गर्दै जाने क्रममा बिर्तामोडस्थित ग्लोबल हाइजेनिक सेनिटेसनका प्रोपाइटर चुतर मल्लिकले बिर्तामोडस्थित कनकाई अस्पताल र मनमोहन सामुदायिक अस्पतालबाट निस्किएको फोहोर त्यस क्षेत्रमा फँयाकेको स्वीकार गरेको बताइएको छ ।
समूहका अध्यक्ष तामाङका अनुसार मल्लिकले शनिबार बेलुका सम्म फोहोर उठाउने समयसीमा मागेको बताए । त्यसैगरी उनलाई फँयाकिएको फोहोरको विषयमा समूहले स्पष्टीकरण माग गर्ने र नियतवश गरेको भेटीएमा कानुनी कार्वाहीको लागि प्रक्रिया अगाडी बढाउने बताइएको छ ।
फोहारे फँयाकिएको विषयमा पूर्वाञ्चलकर्मीले मल्लिकको एनटीसी नम्बर ९८६६७७५५५२ र एनसेल नम्बर ९८१४०३९३५४मा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । ट्रिपर चालकको कारण भएको उक्त गल्तीलाई तत्काल सच्याउने जानकारी आफूले ग्लोबल हाइजेनिक सेनिटेसनका प्रोपाइटर मल्लिकबाट पाएको कनकाई अस्पतालका कार्यकारी निर्देशक महेन्द्र राईले बताए ।
फोहोर फँयाक्ने विषयमा अस्पतालको तीन वर्ष अघि उक्त प्रा.लि.सँग सम्झौता भएको हो ।































