सशस्त्र प्रहरीले छाप्रोमा आगो लगाएपछि…

0
649

भद्रपुर।

सशस्त्र प्रहरी टोली हातमा पेट्रोल र सलाई बोकेर एउटा घरको छाप्रोमा पेट्रोल छर्किएर आगो लगाए । यसरी सशस्त्र प्रहरीले छाप्रोमा आगो लगाउँदा हेर्ने व्यक्तिको भीड लाग्यो । कसैले केही बोल्न सकेनन्, सबै टुलुटुलु हेरेर बसे । यो दृश्य थियो कचनकवलमा आयोजित घुम्ती शिविरमा सशस्त्र प्रहरीले गरेको क्रियाकलापको ।

कचनकवल गाउँपालिका–२ सुकुनाडिकीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको मैदानमा अस्थायी रूपमा निर्माण गरिएको खरको छाप्रोमा सशस्त्र प्रहरीले पेट्रोल छर्केर आगो लगाएको थियो । आगलागीबाट कसरी बच्न सकिन्छ भन्ने सर्वसाधारणलाई सचेत गराउन यो दृश्यसहितको क्रियाकलाप देखाइएको हो ।

सशस्त्र प्रहरी बल गण नम्बर २ झापाबाट गएको टोलीले ग्यास सिलिण्डरबाट आगो लाग्दा हुने भौतिक तथा मानवीय क्षतिको बारेमा पनि जानकारी गराएका थिए । ग्यास पड्किँदा ठूला भवन तथा होटेल, घरमा लागेको आगो निभाउने प्रयोगका बारेमा प्रस्तुतीकरण गरिएको थियो । त्यसैगरी नेपाल प्रहरीले विद्यार्थीहरूलाई लागूऔषध, साइबर क्राइम, शान्ति सुरक्षा लगायत जनजेतनामुलक वृत्तचित्र प्रस्तुत गरेर सचेतना गराइएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

सोही कार्यक्रममा प्रहरीले विद्यार्थीलाई साझेदारीको विषयमा जानकारीमूलक पर्चा समेत वितरण गरेका थिए । त्यसैगरी नेपाली सेनाले सर्पदंशको चेतना वृद्धि, डुबानबाट बच्ने तरिकाबारे जानकारीसहित दृश्य प्रस्तुत गरेका थिए ।

सो शिविरमा वस्तुगत कार्यालयहरूले छुट्टाछुट्टै सेवा तथा जन चेतनाको जानकारी गराएका थिए । प्रशासन कार्यालय झापाबाट नयाँ नागरिकता वितरण गर्ने कार्यक्रम राखे पनि किर्ते नागरिकताको काण्डले गृह मन्त्रालयले सो गाउँपालिकालाई अनुमति नदिएका कारण धेरै सेवाग्राही नागरिकता नलिई फर्किन बाध्य भएका थिए ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालयले संस्थागत र व्यावसायिक पान नम्बर दर्ताको सेवा प्रदान गरेको थियो । त्यसैगरी नेपाल टेलिकम कार्यालयले निःशुल्क सिमकार्ड वितरण, कृषि ज्ञान केन्द्रबाट बालीरोग परीक्षण तथा बीऊबिजन, निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक, स्वास्थ्य क्षेत्र अन्तर्गत मेची अञ्चल अस्पतालले प्राथमिक स्वास्थ्य परीक्षण, स्वास्थ्य कार्यालय र खानेपानी कार्यालयले आर्सेनिक चेकजाँच, सरसफाइको बारेमा सेवा दिएको थियो ।

त्यसैगरी डिभिजन वन कार्यालयले अमला, जामुन र वेलका बिरुवा वितरण गरेको थियो भने परिवार नियोजन संघले महिलाहरूको पाठेघरको जीवाणु परीक्षण, अस्थायी साधन, यौन रोगको उपचार र परामर्श सेवा प्रदान गरेको थियो ।
उपभोक्तालाई थप जानकारी गराउने उद्देश्यले गुणस्तर तथा नापतौल कार्यालयले ढक तराजुका बारेमा जानकारी गराएको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापाले रक्तदान र प्राथमिक उपचारको बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाको संयोजन तथा कचनकवल गाउँपालिकाको व्यवस्थापनमा एकदिने शिविर सञ्चालन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदय राणा मगरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here