शान्ति र विकासका लागि विज्ञान

0
1152

सन्दर्भ : शान्ति र विकासका लागि विश्व विज्ञान दिवस

पूर्णबहादुर कटुवाल,

आज कात्तिक २४ गते अर्थात् नोभेम्वर, १० तारिख शान्ति र विकासक लागि विश्व विज्ञान दिवस । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । सन् २००१ मा युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो । दिनहुँ विश्वको हरेक समाज जटिल बन्दै गएको छ । समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतलाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्र्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१औं शताब्दिको विश्व अघि बढिरहेको छ । यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष विविध उर्जामूलक र सचेनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।

समाज रुपान्तरणका लागि विज्ञानले अहम् भूमिका निर्वाह गरेको छ । मानिसको दैनिक जीवनमा विज्ञानको सशक्त भूमिका, मानवीय जीवनमा शान्ति, समृद्धि र विकासको विजारोपण गर्न विज्ञानले पार्ने सकारात्मक र नकारात्मक प्रभावको बहस पनि विश्वमञ्चमा आलो बहस बनेको छ । यिनै विश्वव्यापी मानवीय मुद्दालाई विज्ञानसँग प्रत्यक्ष जोडेर विश्वव्यापी एकता कायम गर्न समेत यस दिवसले विशेष भूमिका खेलेको छ । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ । विज्ञानले प्रत्येक समाजका नागरिकलाई एक ठाउँमा उभ्याउनु, विज्ञानका उपलब्धिले मानवमात्रको हितलाई संगठित गरी विश्वव्यापी भाइचारा, सद्भाव र बन्धुत्वको मालामा गाँस्नु, विश्वका सबै देशबीच विज्ञानकै माध्यमद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता र सद्भाव कायम गर्नु र यसलाई मानवीयहीतको लागि संस्थागत गर्नु, विज्ञानद्वारा सिर्जित चुनौतिलाई सामुहिक ढंगले सामना गर्नु र यसका उपलब्धिलाई र प्रयासको निरन्तरताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपले समर्थन जुटाउनु नै दिवसको उद्देश्य रहेको छ ।

वर्तमान विज्ञानको युगलाई वास्तविक विकास र शान्तिसँग जोडेर अघि बढ्नु विश्वव्यापी लक्ष्य हो । विज्ञान र प्रविधिकै कारणले विश्वमा प्रगति भएको छ । यसकै कारणले कतिपय मुलुकमा द्वन्द्व, युद्ध र खटपटी समेत जन्मिएको छ । विश्वमञ्चमा वैज्ञानिक एकता नहुनु, वैज्ञानिक प्रगतिलाई मानवीय नरसंहारको अस्त्र सम्झेर शक्ति प्रदर्शन गर्नु, आर्थिक उन्नति र अवनतिको यात्रामा रहेका कतिपय मुलुकबीच विज्ञान प्रदत्त अस्त्रशस्त्रको होडवाजी रहनु र परमाणविक द्वन्द्व निम्तिनु जस्ता कुराहरु मानवीय हितमा हुँदैनन् । पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वमा कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानवअधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेको छ । शक्ति उन्मत्तताकै कारणले विश्वका कतिपय स्थानका नागरिक अन्याय, अत्याचार, शोषण, उत्पीडन र अविकासको चपेटामा रहनुपरेको छ । शक्ति राष्ट्रको दम्भको कारणले विज्ञानले देखाएको सही बाटोमा अघि बढ्न नसक्दा विश्व वातावरणीय र पर्यावरणीय क्षति भइरहेको छ ।

विकसित र अल्पविकसित मुलुकबीचको दुरी अझै फराकिलो बन्दै गएको छ । यिनै द्वन्द्व र आडम्वरी व्यवहारलाई न्यूनीकरण गर्न समेत संयुक्त राष्ट्रसंघले विज्ञानलाई शान्ति र विकासको बाहकको रुपमा लिएर विश्वव्यापी नारा बनाएको छ । यो साझा संगठनको सिद्धान्त, मान्यता र लक्ष्यलाई आजको दिन विश्वले स्मरण गर्न सक्यो भने पनि मानवीय, कल्याणको रुपमै महत्पूर्ण हुने विश्वास गर्न सकिन्छ । विज्ञानको युगमा उभिएका हामी सम्पूर्ण मानवलाई विज्ञानले शान्ति र विकासका लागि अघि बढ्ने प्रेरणा दिन्छ भन्ने सन्देश समेत आजको दिनले दिएको छ ।

विश्व विज्ञान दिवसले मानवीय प्रगति र वातावरणसँग समेत प्रत्यक्ष सरोकार राख्दछ । वातावरणीय संरक्षण बिनाको विकास र समृद्धिलाई विज्ञानले स्वीकार गर्दैन । तसर्थ, यस महत्वपूर्ण अवसर र पर्वको सन्देशलाई तल्लो तह र समुदायसम्म पुर्याउन आवश्यक छ । खासगरी प्रत्येक राज्यको उर्वर स्रोत भनेको नै शिक्षालय र शिक्षार्थी हुन् । अर्थात् यस मुद्दालाई सानो तर महत्वपूर्ण विषयका रुपमा विद्यालय र विद्यार्थीबीच पुर्याउन सकिए यसको सान्दर्भिकता र गरिमा अझ ओजपूर्ण गहन हुनसक्छ ।

परिवर्तनशील वातावरणमा प्रविधि विकसित भइरहेको छ । यसलाई शिक्षासँग जोड्न सकियो भने मात्र पनि प्रकृति प्रदत्त वातावरणमा रहेका हरेक जीव र समुदायका पारिस्थितिकीय प्रणालीबीचको अन्तरसम्बन्ध बुझेर र बुझाएर विज्ञानसँग एकीकृत गर्न सकिन्छ । जुन मानव जीवन र समाजका लागि अमूल्य उपलब्धि हुनेछ । विद्यालय तहमा विद्यार्थीहरुलाई समाजमा शान्ति र दिगोपन विकास गर्न विज्ञानको सशक्त भूमिका रहन्छ भन्ने कुरा बुझाउन, राष्ट्र–राष्ट्रबीच विज्ञान र प्रविधिको आदानप्रदान गरी समन्वय कायम गर्न सकिन्छ भन्ने कुराको विश्वास दिलाउन र समाजको भलाइकै लगि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धताहरुको नवीकरण गर्न सकिन्छ भन्ने कुराको बोध गराउन समेत विद्यालय तहमा यस विषयलाई समावेश गराउन सान्दर्भिक हुन्छ ।

नेपालमा सन् १९७४ मा नै शिक्षा मन्त्रालय अन्तर्गत युनेस्को नेपाल राष्ट्रिय आयोग गठन भए पनि विज्ञान र प्रविधिको क्षेत्रमा पर्याप्त चेतनामूलक र प्राज्ञिक कार्यक्रमहरु सञ्चालन हुन सकेनन् । यद्यपि केही समययता विद्यालय तहमा प्रविधिमैत्री शिक्षाको थालनी भएको छ । यो आशलाग्दो विषय त बनेको छ, तर यसलाई पनि औपचारिकता मात्र दिन खोजियो भने र विज्ञान र प्रविधिलाई वातावरण र विकासबाट अलग गर्न खोजियो भने शान्ति र विकासका लागि भन्ने विश्वव्यापी नारा सफल बन्न सक्दैन । त्यसैले प्रत्येक सरोकारवालाले सजगतापूर्वक आजको दिनको मर्मलाई मन, वचन र कर्मले सम्झना गर्यौं भने मात्र मानवका लागि पृथ्वी र पृथ्वीका लागि विज्ञान, भविष्यका लागि बरदान सावित हुनेछ ।

नेपाल जस्ता साना र विकासशील मुलुकमा विज्ञान र प्रविधिलाई शान्ति र विकासका रुपमा प्रयोग गर्ने भरपर्दो माध्यम भनेको नै विद्यालयीय शिक्षामा यसको प्रयोग गर्नु हो । अहिले मुलुकमा शुरु गरिएको प्रविधिमूलक शिक्षाको भविष्य उज्वल छ । तर, यसलाई औपचारिकता मात्र नसम्झी व्यवहारिक रुपमा उतार्न सक्नु पर्छ । समय र परिस्थिाति अनुसार मुलुकमा थालनी गरिएको पद्धती अत्यन्त सराहनीय छ, यसलाई निरन्तरता दिई, शान्ति र विकासको पथमा अघि बढ्न राज्यले विद्यालय शिक्षामा विज्ञान र प्रविधिलाई अत्यन्त महत्व दिन जरुरी छ । अनि मात्र आजको दिनका सार्थकतामा विश्वमै एउटा इँटा थपिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here