सम्पादकीय
नदीले छुट्याएको सीमा जहाँ र जहिल्यै विवादित हुन्छ । नदीनालाले आफ्नो धार परिवर्तन गरेसँगै भू–भाग घट्छ वा बढ्छ । त्यसमा पनि सँधियार बलशाली छ भने त आफैं धार परिवर्तन गर्न पछि पर्दैन । यस्तो प्रत्येक व्यक्तिको व्यवहारमा देखिन्छ जसको साँध सीमनामा नदीनाला हुन्छ ।
यही परिवेश छ हाम्रो पूर्वी सीमा मेची नदी र पश्चिमको महाकालीले छुट्याएको भू–भागको । अनि तुलनात्मकरुपले ‘सानो’ भएका कारण नेपालले चौतर्फी संकुचन खप्नु परिरहेको छ अहिलेसम्म । पूर्वी सीमारेखा मेची नदीको जल प्रवाहले धार परिवर्तन गर्ने एउटा समस्या छ जो प्राकृतिक हो भने त्योभन्दा जटिल अप्ठ्यारो छ कि बलियो भारतले रातारात र प्रत्येक दिनजसो सीमा स्तम्भ पश्चिमतर्फ सार्ने गरेको छ।

ताप्लेजुङबाट शुरु भएको यो विस्तार तराईमा आइपुग्दा असाध्य बन्ने गरेको छ। सुगौली सन्धिमा ब्रिटिस इण्डिया सरकारसँग भएको सम्झौताका शर्तहरु, नक्सा र ऐतिहासिक अभिलेख र दस्तावेजहरुको अवज्ञा गर्दै भारतले आज पर्यन्त थिचोमिचो गरिरहेको छ । विकट भूगोल र प्रशासनिक एवम् राजनीतिक कमजोरीको फाइदा उठाउँदै भारतले तीनै क्षेत्रमा अतिक्रमण गरिरहेको कैयौं उदाहरणहरु छन् । मानेभञ्ज्याङदेखि लिपिम्पयाधुरासम्मका हजारौं हेक्टर जमिनबाट वेदखल गरिएको छ । अहिले भने नक्कली काली नदी देखाएर पश्चिम सीमानामा भएको अतिक्रमणका कारण आमनेपालीको मन दुखेको छ, आन्दोलित भएर सडकमा विद्रोह देखिन थालेको छ।
‘सूर्य नअस्ताउने देश’ भएको ब्रिटिस सरकार भारत छोडेर गएपछि बनिएको स्वतन्त्र भारतले त्यही समयदेखि सीमा विवाद शुरु गरेको छ । नेपाल तर्फको भू–भागमा बिस्तारै–बिस्तारै अतिक्रमण गर्न थालेको भारतले पूर्वी नेपालको धेरैको लालपुर्जासहितको जग्गा बलपूर्वक खोसेको छ । पचहत्तर वर्ष अघिको स्मरण गर्दै बिर्तामोडका अन्ठानब्बे वर्षका परशुराम ढकाल भन्छन्– ऊ बेला भारत जाने पूर्व गौंडा भद्रपुर थियो, जहाँबाट मेची नदी तरेर भारतको गलगलिया पुगिन्थ्यो । झापाको अािर्थक कारोबारको नाका भएका कारण गइरहनुपथ्र्यो प्रत्येक पटक सीमा ठाउँ सरेका देखिन्थे । ००६ सालमा एकैपटक झण्डै एककिलोमिटर ‘वर अर्थात् नेपालतर्फ ‘स्तम्भ’ सरेको त मैले नै देखेँ ।
एउटा उदाहरण मात्र हो, देख्ने र भोग्नेहरुको यो भनाइ । हामीले विगतमा महेशपुरदेखि सुस्तासम्मको अतिक्रमणविरुद्धका आन्दोलन पनि भोगेका छौं । जसले पसिना र खुन साटेर जमिन आर्जन गरे र स्वामित्व अनायास र अनाहकमा गुमाए तिनलाई यस्तो अतिक्रमणले दिने चोट ‘कोरली’ले थाहा पाउँदैन । भद्रपुरमै ‘मेचीपारि’गाउँ छ, जो मेचीले धार पश्चिम सारेका कारण ‘टापु’ जस्टै भएको छ । अहिले यस्ता कति मेचीपारि र कालीपारि गाउँ र आवादी होलन् जहाँ सेवा र सुविधाका नाममा ‘मन्द विष’ खुवाएर राखिएको छ त्यहाँ बस्नेहरुलाई राजनीति गर्नेहरुले यस्ता समस्यालाई दलीय र स्वार्थसँग जोडेर अर्काको टाउकोमा पन्छाउन पनि खोज्छन् ।
कालापानी लगायतका अत्यन्त विकट ठाउँलाई भारतले आफ्नो भू–भागमा समेटेको नक्साले उब्जाएको समस्या अहिले राष्ट्रिय एकताको आधार बनिएको छ । सत्तामा र सत्ता बाहिरका सबै राजनीतिक शक्तिहरु कुराले एक भएका छन्, अब मन, भावना र व्यवहारले पनि एक हुने बेला आएको छ । दस्ताबेज र प्रमाणपत्र आधारमा उच्चस्तरीय क्षमता र कुशलता प्रदर्शन गर्दै गुमेको भू–भाग फिर्ता गर्न र भविष्य पनि सुनिश्चित गर्न हाम्रो नेतृत्व सफल हुनुपर्छ । यही नै आजको राष्ट्रिय आवश्यकता हो ।




























