घर भारतमा, बिद्यालय नेपालमा

0
839

भद्रपुर।

नेपाल–भारतको ११२ नम्बर सीमा पिलर । पूर्वपट्टि मेची नदी बग्ने सीमा पिलरको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती । एकापट्टि नेपाली बस्ती छ भने अर्कोतर्फ भारतीय बस्ती छ ।

त्यहाँ बसोबास गर्दै आइरहेका नागरिक नेपाली र भारतीय नभई मानवीय सद्भाव, माया, स्नेह र आपसी भाइचाराको सम्बन्ध गाँसेर बर्षौदेखि मिलेर बस्दै आइरहेका छन् । त्यहाँ बस्ने दुवै देशका नागरिक आफ्नो मातृ भाषाबाहेक नेपाली भाषा नै बोल्छन् । त्यहाँ भारतीय हिन्दी भाषा खासै बोलचाल हुँदैन ।

भारतीय नागरिकसहित त्यहाँका बालबालिकाहरू शिक्षा लिन नेपालकै बिद्यालय जाने गरेको स्थानीय बताउँछन् । हिन्दी भाषा, मेची नदी र सडक दुरीको समस्याका कारण भारतीय बालबालिका पनि नेपालकै विद्यालयमा पठनपाठन गर्दै आइरहेका छन् ।

झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका वडा नम्बर–५ स्थित पाठामारी गाउँमा रहेको बस्तीको कथा हो यो । साबिक पाठामारी गाविसमा पर्ने मेची नदी नजिकै ११२ नम्बर पिलर सीमा छुट्याएको छ । गाउँमा मुस्लिम र राजवंशी समुदायकै बसोबास छ । बस्तीमा भारत र नेपाल गरी ६५ देखि ७० जना बालबालिका रहेको श्री प्राविका शिक्षक बिजय हजामले बताए ।

‘भारतीय बालबालिका पनि यहाँ नै पढ्छन्’– शिक्षक हजामले भने– ‘बालबालिकाहरू नजिकै रहेको श्री प्राथमिक र जानकी आधारभूत विद्यालय गएर पढ्छन् । सीमाले देश छुट्याए पनि मानवीय नाता सम्बन्ध बस्तीमा अहिले पनि कायम छ ।
भारतीय नागरिक भए पनि उनीहरूले नेपाली भाषा नै बोलचालमा प्रयोग गरेको हुँदा भारत गएर पढ्नुभन्दा नेपालमै पढ्न सजिलो हुने भएकोले उनीहरू नेपालकै शिक्षा लिइरहेको उनको भनाइ छ ।

बस्तीमा बस्ने भारतका करिब १२देखि १५ बालबालिका नेपालमै पठनपाठन गर्दै आइरहेको उनले बताए । भारतीय नागरिक रूपलाल गणेश भन्छन्– ‘मेरो छोरा नेपालमै पढ्छ, जेठो छोरा उमेश जानकी आधारभूतमा कक्षा आठ पढ्दापढ्दै रोजगारीको सिलसिलामा भारत गएको छ, कान्छो छोरा रमेश कक्षा ४मा अहिले पनि जानकीमै पढ्दैछ ।’ ‘म जस्तै गाउँका अरू भारतीयले पनि आ–आफ्नो छोराछोरी यहाँ नै पढाउँदै आइरहेका छन्’– उनले भने– ‘यहाँ नेपाली शिक्षा लिने पनि बस्तीमा बस्ने नेपाली होस् वा भारतीय बालबालिका, उनीहरूको विवाह चाहिँ भारतमै गर्ने चलन छ ।’

अभिभावक भारत गएर पढ्न भन्छन्

जानकी आधारभूत विद्यालयमा कक्षा ४मा अध्ययनरत् भारतीय नागरिक ममताकुमार गणेशले भनिन्– भारतीय भए पनि म नेपालमै पढ्छु, बुबा–आमाले भारत गएर पढ्न भनेर घरमा कराउँछन्, नेपाली भाषा बोल्ने हामी कसरी भारतमा गएर पढ्न सक्छौ, त्यहाँका भाषा नै बुझ्न गाह्रो हुन्छ, त्यही भएर जानकीमा पढ्दैछु । ‘मसँग मेरो भाइ सुनिल पनि बाल कक्षामा पढ्छ’– उनले भनिन् ।

भारतमा बस्ने कविता यादव कक्षा ८मा र उनकी बहिनी निकीता यादव कक्षा ७मा पढ्ने गरेको उनले बताइन् । जानकीमै मसँग ५÷६ जना भारत घर भएका साथीहरू पढ्ने गरेको भारतीय नागरिक देवकुमार गणेशले बताए । कक्षा ६ मा पढ्दै आइरहेका गणेश भन्छन्– ‘घर भारत परे पनि के भो र सबै थोक नेपालमै पाइन्छ भने किन भारत गएर पढ्नु ? यहाँ शिक्षाको सुविधा सरकारले दिएकै छ ।’ ११२ नम्बर पिलरदेखि तीन किलोमिटर पर भारतको टेलिभिट्टा भन्ने स्थानमा श्री उत्तिम विद्यालय धोबोभिट्टा छ । तर, त्यहाँका बालबालिका विद्यालय जान मान्दैनन् ।

सीमा क्षेत्रका बालबालिका पढाइ छाडेर क्यारियरको काम गर्दै

नजिकै भारतीय बजार पाठामारी र ठाकुरगञ्ज पर्छ । त्यहाँबाट नेपाल भित्र्याउने किराना तथा खाद्यान्न सामग्री ल्याए बापत सीमा क्षेत्रका बालबालिकाले दिनमा ५००देखि १००० कमाउँछन् । बेरोजगारीका कारण अधिकांश बालबालिका बिद्यालय जान छाडिसकेका छन् ।

बस्तीका आधाभन्दा बढी बालबालिकाले पढाइ छाडिसकेको शिक्षक बिजय हजामले बताए । ३देखि ५ कक्षा पढ्दापढ्दै बालबालिकाहरू कमाइको बाटोमा लागीपर्ने गरेको उनको भनाइ छ । ‘पढाइ छाडेको अधिकांश बालबालिका नेपालमै पढ्थे’– उनले भने । हामी भारतीय नागरिक भए पनि नेपालमै पढ्थ्यौं– १४ वर्षीय भारतीय बालक उदयकुमार गणेशले भने– ‘अहिले पढाइ छाडिसकेका छांै, भारतको विद्यालयमा नाम लेखाएका थियांै, दुवैतिर पढ्नु भन्दा रोजगारीमा लाग्नु घरबाट भनेपछि पढाई छाडेर काम गर्न थालेका हांै ।’

१२ वर्षीय साहिल आलमले भने– ‘जानकीमा कक्षा ५सम्म पढेको थिएँ, अहिले पढाइ छाडेर क्यारियरको काम गर्दैछु । ‘नेपाली वा हिन्दी कुन भाषामा पढ्नु, भाषाकै समस्याका कारण पढाइ छाडेर पैसा कमाउन लागीपरेका छांै’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here