स्थानीय पाठ्यक्रमको महत्व

1
2421

सम्पादकीय

झापा जिल्लाका विर्तामोड नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका विद्यालयहरुमा बालबालिकालाई दैनिक व्यवहारसँग सम्बन्धित विषयवस्तुहरु, विशेषतः आचरण, बालबालिकाको व्यक्तित्व विकास, स्वास्थ्य, भोजन, वातावरण, यातायात र सञ्चार प्रविधि सम्बन्धी ज्ञान, सीप र सकारात्मक व्यहार परिवर्तन गर्न सचेतना शिक्षाको आवश्यकता महशुस गरी स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । त्यसरी नै कनकाई नगरपालिका, दमक नगरपालिका लगायत देशैभरिका स्थानीय तहले स्थानीय पाठ्यक्रम र सो अनुरुप पुस्तक प्रकाशनको कामलाई अघि बढाइरहेका छन् ।

स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु हुनु पर्दछ । स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिन सकिन्छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोल लगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।

नेपालको सन्दर्भमा पाठ्यक्रम तयार पार्दा स्थानीय आवश्यकताको अवधारणालाई आत्मसात गर्नुपर्ने खाँचो छ । नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुने कुरा उल्लेख गरिएको छ । विद्यालय तह (कक्षा १२) सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबद्र्धन र स्तरीकरण गर्ने अधिकार उल्लेख गरेको छ । शिक्षाको दीर्घकालीन सोचमा स्थानीय सीप, व्यवसाय, पेसा, स्रोतसाधनको महत्व र आवश्यकता पहिचान गरी विकास गर्न पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई स्थान दिने उल्लेख गरिएको छ ।

व्यावसायिक क्षेत्रहरु कृषि, पंछी तथा पशुपालन, उद्योग, पर्यटन, जडिबुटी, व्यापार, आयआर्जनका क्षेत्रहरु, भूगोल, इतिहास, पुरातत्व, धर्म, जातजाति, भाषाभाषी, सामाजिक संघ–संस्था, शासन व्यवस्था, शिक्षा, स्वास्थ्य र सरसफाइ, योग र प्राकृतिक चिकित्सा, प्रकृति र वातावरण संरक्षण, सूचना तथा सञ्चार प्रविधि, खेलकुद, कला, संगीत, स्थानीय प्रविधि आदि विषय क्षेत्रलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिन्छ ।

फरक–फरक स्थानमा बस्ने मानिसहरुका आवश्यकता र चाहनाहरु पनि फरक फरक हुन्छन् ती विषयवस्तुलाई समेटी स्थानीय पाठ्यव्रmम मार्फत शिक्षण गर्दा समाज अनुकूल विषयवस्तुलाई पाठ्यक्रम मार्फत शिक्षण गर्न, व्यक्ति, समाज तथा स्थानीयस्तरको आवश्यकता परिपूर्ति गर्न, स्थानीय परिवेश अनुसार सञ्चालन भएका चाडपर्व, धर्म संस्कृति, जातजाति, रीतिरिवाज, कलाकौशल, स्थानीय उद्योग, प्राकृतिक स्रोत साधन, कृषि, पर्यटन, पुरातात्विक तथा धार्मिक स्थान, जडिबुटी, अध्यात्मिक शिक्षा, आयआर्जनका क्षेत्रहरुको अधिकतम् उपयोग गर्न र स्थानीय सरोकारवालाहरुको सक्षमता अभिवृद्धि गर्न सकिन्छ । यति महत्वपूर्ण पाठ्यक्रमलाई परम्परागत रुपमा र फगत औपचारिकता मात्र पु¥याउन बनाइनु हुँदैन । स्थानीय सरकार यस सम्बन्धमा बढी गम्भीर हुन जरुरी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here