मेचीनगरमा नियमविपरीत खोला उत्खनन्

0
570

पार्थ मण्डल / भद्रपुर,

प्रारम्भिक वातावरणीय परीक्षण (आईई) स्वीकृत मापदण्डले नतोकेको क्षेत्रमा नदीजन्य पदार्थ (गिट्टी र बालुवा) उत्खनन् भइरहेको पाइएको छ ।

झापाको मेचीनगर नगरपालिका कार्यालयले नियम विपरीत वडा कार्यालयलाई उत्खनन् गर्न अनुमति दिँदा निन्दा र हडिया खोलामा जथाभाबी दोहन भइरहेको पाइएको हो । त्यति मात्र नभई नगरपालिकाले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई समेत मिच्दै गिट्टी र बालुवाको कर संकलन गरिरहेको भेटिएको छ ।

जनप्रतिनिधिको एकलौटी निर्णयले मेचीनगर–१५को निन्दा र वडा नम्बर १४को हडिया खोलामा आईईको मापदण्ड विपरीत जथाभाबी खोला उत्खनन् भइरहेको छ । मेचीनगर नगरपालिकाले आईई प्रतिवेदन अनुसार मेची, निन्दा, हडिया र टिमाई खोला उत्खनन्का लागि टेण्डर आव्हान गरिसकेको छ । टेन्डर आव्हान गरे पनि अहिलेसम्म ठेक्का स्वीकृत नभएको नगरपालिकाले जनाएको छ ।

तर, मेचीनगर–१५स्थित खेम र कर्ण थापाको चिया बगान नजिकै बग्ने निन्दा खोला आईई नभएको क्षेत्र हो । त्यहाँबाट दिनमा ५० देखि ७० वटा ट्याक्टरले गिट्टी बालुवा उठाइरहेका छन् । वडा नम्बर १४ निलगुढी गाउँ पश्चिमबाट बग्ने हडिया खोला क्षेत्रमा पनि मापदण्ड विपरीत खोला दोहन भइरहेको छ । मापदण्ड विपरीत दुई वटा खोला दोहन भइरहे पनि यसतर्फ अनुगमन गर्ने निकायले चासो देखाएको छैन ।

उत्खनन्का लागि ठेक्का आव्हान गरेकै बेला मेचीनगर नगर कार्यपालिकाको बोर्ड बैठकले वडा कार्यालयलाई उत्खनन् गर्न अनुमति दिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले बताए । ‘गिट्टी–बालुवाको विषयमा स्थानीयको गुनासो लिएर बोर्ड बैठकमै १५ र १४का वडाध्यक्षले कुरा राखेको हो’– प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गले भने– ‘आईई क्षेत्रमा उत्खनन् गर्न अनुमति दिइएको हो, नदीजन्य पदार्थको कर सङ्कलनको जिम्मा पनि वडा कार्यालय दिइएको हो ।’ नियममा ठेक्का लगाएर गिट्टी बालुवा उत्खनन् गर्नुपर्ने विषयमा जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गले भने– ‘नियम मिचेर त काम गर्नु भएन, तर बोर्ड बैठकले नै अनुमति दिएकोले समस्या आएकै हो ।’

अर्थ विधेयक विपरीत कर संकलन

१ नम्बर प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको अनुसूची ५ र दफा ८मा प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्कमा उल्लेख गरिए अनुसार ढुङ्गा र गिट्टीमा प्रति क्यूफिट सङ्कलन दर २ रुपैयाँ र बिक्री दर ४ रुपैयाँ छ ।

बालुवामा प्रतिक्यूफिट संकलन दर १ रुपैयाँ ७५ पैसा र बिक्री दरमा ३ रुपैयाँ तोकिएको छ । त्यस अनुसार एउटा ट्याक्टरमा गिट्टीको कर ६ सय र बालुवाको कर ४ सय ७५ हुन्छ । तर, मेचीनगर नगरपालिका वडा नम्बर १५ र १४ले प्रदेशको अर्थ विधेयक मिच्दै बालुवा र गिट्टीबाट २ सय रुपैयाँ कर सङ्कलन गरिरहेको ट्याक्टरलाई दिँदै आएको बिल नै फेला परेको छ । मेचीनगर नगरपालिकाको दुई वटा वडा कार्यालयले प्रदेश सरकारको अर्थ विधेयकलाई लत्तयाउँदै कर संकलन गर्दा समेत यसतर्फ सम्बन्धित निकाय बेखबर छ ।

अर्थ विधेयक विपरीत कर संकलनको विषयमा जिज्ञासा राख्दा– प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गले भने– ‘अर्थ विधेयक विपरीत स्थानीय तहले कर संकलन गर्ने अधिकार नै छैन, वडा कार्यालयले जनताको सुविधालाई ख्याल गरेर कर उठाएको हुनुपर्छ ।’ यता जिल्ला समन्वय समिति झापाका अध्यक्ष तथा नदीजन्य पदार्थ उत्खनन् जिल्ला अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले अहिलेसम्म जिल्लामा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको खोलाको अनुगमन नभएको बताए ।

‘बिहीबारदेखि खोला अनुगमन शुरु हुँदैछ’– अध्यक्ष पोर्तेलले भने– ‘मेचीनगरको हडिया र निन्दामा आईई मापदण्ड विपरीत खोला उत्खनन् गर्न पाइँदैन । ठेक्का नलागेको त्यसमाथि आईई नभएको क्षेत्रमा उत्खनन् भइरहेकोले मेचीनगरसँग समन्वय गरी तत्काल रोक्ने छांै ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here