प्याजमा आत्मनिर्भर बनौं

0
534

सम्पादकीय

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको अभाव शुरु भएका खबरहरु आएका छन् । भारतले आफ्नो देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै असोजको दोस्रोसातादेखि प्याज निर्यातमा प्रतिवन्ध लगाएको थियो । प्रतिबन्धसँगै नेपालमा प्याजको अभाव सिर्जना भएको छ भने मूल्य आकासिएको छ । नेपालमा खपत हुने ९७ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई अर्काे आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । महँगीका पछि व्यवसायीहरुले महँगो मूल्यमा खरिद गर्नुपरेकाले बिक्रीमा मूल्य वृद्घि गर्नुपरेको तर्क गरेका छन् ।

प्याजको संकट देखापर्नुका पछाडि भारतीय नीति र नेपाली सरकारी अधिकारीहरुको उदासिनता मात्र जिम्मेवारी छैन, दीर्घकालीन रुपमा समस्याको निदान नखोज्ने प्रवृत्ति पनि जिम्मेवार छ । रेमिट्यान्समा भरपर्ने र हरेक कुरामा परनिर्भर हुने संस्कृति हामीमा मौलाउँदो छ । हाम्रो नारा छ– ‘समृद्ध नेपाल सुखी नेपाली’, तर सो नारा अनुरुप हाम्रा क्रियाकलापहरु छैनन् । एकातिर बजारमा भारतले प्याज निर्यातमा रोक लगाएकाले प्याज महँगो छ, अर्कोतिर हामी आफै प्याजमा आत्मनिर्भर बन्ने गरी स्वउत्पादनमा केन्द्रित हुन सकेका छैनौं । प्याजखेती बृद्धि न्यूनरुपमा हुनु, लक्षित जमिनको हेक्टर नपुग्नु र भेन्टीलेटर प्याज घर निर्माणका लागि सम्बन्धित सहकारी संस्थाहरुलाई आह्वान गर्दा समेत खासै चासो नदेखाउनुले पनि उत्पादन घटेर निर्यात बढाउन नसकिएको हो ।

एक प्रमुख नगदे बालीका रुपमा प्याजखेतीलाई बढावा दिनुपर्छ । नेपालको उत्पादनले करिब छ महिना पनि नपुग्ने नेपाली अधिकारीको आँकडा छ । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित २०६४ सालमा सरकारले झापासहित तराईका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रम असफल भएको छ । कमजोर नीति र झारा टार्ने कार्यान्वयनले आत्मनिर्भर अर्थतन्त्रको विकास सम्भव छैन । प्याजको आयात घटाउँदै नेपाली प्याज निर्यात गर्र्ने उद्देश्यले झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दिया लगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन ल्याएको थियो । योजना असफल भएपछि नेपाल प्याजका लागि समेत परनिर्भर बनेको छ ।

उत्पादन भएलगत्तै खपत गरिहाल्नु पर्छ नत्र कुहिने सडिने डर हुने भएकाले किसान हत्तपत्त व्यावसायिक प्याज खेतीमा नलाग्नु मुख्यः कारण हो । सरकारले छनौट गरेका सबै ठाउँमा योजना कागजमै मात्र सीमित हुनुभएन । योजनाको पुनर्मूल्यांकन गर्दै सम्बन्धित निकायको सक्रियताका साथ योजना कार्यान्वयनका लागि प्रभावकारी कार्यक्रमका साथ अघि बढ्न जरुरी छ । विदेशिएका युवाशक्तिलाई नगदे बाली मुख्यतः प्याज खेतीतर्फ आकर्षित गर्न सरकारी ध्यान जान जरुरी छ । अग्र्यानिक सब्जीखेतीले आयातलाई न्यूनीकरण गरी निर्यातलाई बढावा दिन्छ र यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ । नेपालमा बजारको अभाव होइन, उचित बजारीकरणको कमी हो । तसर्थ, प्याजमा आत्मनिर्भर बन्न र प्याज आयात गर्ने परिपाटीको अन्त्य गर्न सबै पक्षको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here