नेकपा एकीकरण र सरकारको निरन्तरता

0
475

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया अझैसम्म पनि पूरा भएको छैन । झापा विद्रोह (२०२८) को जगमा बनेको कोअर्डिनेशन केन्द्र (कोके) हुँदै नेकपा (माले) को स्थापना भएको थियो २०३५ साल पुस ११ मा । पछि नेकपा (माक्र्सवादी)सँग एकीकरण भएपछि नेकपा (एमाले) बनेको थियो । माक्र्सवाद, लेनिनवाद र मायोत्सेतुङ विचारधारालाई मार्गदर्शन सिद्धान्त मान्दै २०२८ सालमा बनेको नेकपा (केन्द्रीय न्यूक्लियस) को धार मोटो र मशाल एकता केन्द्र माओवादी एमाओवादी हुँदै नेकपा (माओवादी केन्द) बनेको थियो । डेढ वर्षअघि यिनै दुई फरक धारलाई प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीहरु एकीकरण हुने घोषणा गरे । चुनावी तालमेल र सहकार्य हुँदै पार्टी एकीकरणको चरणमा पुगेका यी दुई दलहरु नेपाली कम्युनिष्ट आन्दोलनका मुख्य भँगालाहरु हुन् ।

नेकपा (एमाले) शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामा विश्वास गर्ने जनताको बहुदलीय जनवादलाई अङ्गिकार गर्ने पार्टी थियो भने २०५२ सालदेखि १० वर्षसम्म जनयुद्ध र सशस्त्र संघर्षको अनुभव बोकेर आएको पार्टी थियो नेकपा (माओवादी केन्द्र) । दुई दलहरु एक हुनु नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व परिघटना थियो । हुन् त यसको शुरुवात २०६२÷०६३ को जनआन्दोलनपछि तत्कालीन नेकपा (माओवादी) शान्तिपूर्ण राजनीतिमा सरिक हुँदै २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा भाग लिएर नेपालको सबभन्दा ठूलो दलको रुपमा स्थापित भएको थियो । यतिबेला दुई दलबीचको एकताले उत्पन्न ऊर्जाका कारण झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ। एकातिर जनअपेक्षा अनुरुप सरकारले काम नगरिरहेको आरोप लागि रहेको छ र मन्त्रीमण्डल हेरफेर तथा पुनर्गठन गरे सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउने प्रयास भइरहेको छ ।

पार्टी एकताको प्रक्रिया जारी छ। केन्द्रमा पोलिटब्यूरो गठन र जनवर्गीय संगठनको एकता पूरा गरेपछि एकताको पहिलो चरण सम्पन्न हुनेछ । नेपाल २००७ सालपछि अस्थिरताको पट्यारिलो क्रममा गुज्रिरहेको छ । २०१५ सालको निर्वाचनबाट बनेको नेपाली कांग्रेसका नेता बीपी कोइराला नेतृत्वको दुई तिहाइको सरकारलाई राजा महेन्द्रद्वारा अपदस्थ गरी पञ्चायती व्यवस्थाको बीजारोपण गरेपछि मुलुक झन् संकटमा फँस्यो । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि कुनै पनि सरकारले पाँच वर्षको अवधि सरकार चलाउन सकेनन् । नेपाली कांग्रेसले एकल बहुमतसहित दुई पटक सरकारको नेतृत्व पाएको थियो, तर अस्थिरताको बीजारोपण आफ्नै पार्टीभित्रको कलह र प्रतिसोधी व्यवहारबाट भयो ।

पटक–पटक मिलिजुली सरकार बने पनि भ्यागुताको धार्नी पु¥याउन नसके झैं सरकार गिराउने र बनाउने खेल चलिरहे । केपी ओली नेतृत्वको सरकारको पूर्णावधि सञ्चालन र निरन्तरताका लागि पार्टी एकता सम्पन्न हुन आवश्यक देखिन्छ । पार्टीभित्रका बेमेल र चलखेलका खबर बाहिरिँदा नेकपा प्रतिको जनविश्वास निराशामा परिणत हुन खोज्छ । सरकार टिकाउनुले मात्र मुलुकका सबै समस्या हल हुँदैनन् । तर, सरकारको निरन्तरताबाटै स्थिरता जन्मने सत्यलाई नजरअन्दाज गर्न मिल्दैन । नेकपाको व्यवस्थापन स्थिरताको पहिलो शर्त हो भन्ने सञ्चाइलाई नेकपा आबद्ध सबैले बुझ्न जरुरी छ, नत्र अनिश्चय र अस्थिरताको भुँवरीमा मुलुक फँस्ने कुरालाई कसैले रोक्न सक्दैन । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभिष्ट फगत हावादारी नारामा परिणत हुने खतरालाई रोकेर साँचो अर्थमा मुलुकमा परिवर्तन ल्याउने हो भने मुलुकमा स्थिरता कायम गर्नु पहिलो शर्त हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here