पर्यटन कार्यालयको नाम छ, काम छैन,नेपाल घुम्न आउने पर्यटक बंगलादेशी बढी

0
1413

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल,बिर्तामोड।

उच्च सगरमाथादेखि देशकै होचो भू–भाग झापाको केचनासम्म रहेको प्रदेश नम्वर १ले पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको छ ।

४५ लाख १ हजार ४ सय ४९ जनसंख्या रहेको यो प्रदेशमा होचो भू–भाग केचना समुद्री सतहदेखि ६० मिटर उचाइमा रहेको छ भने ८८४८ मिटर अग्लो विश्वको सर्वाेच्च शिखर सगरमाथा यही प्रदेशमा पर्छ । भौगोलिक वनावट र हावापानीले समेत विविधतापूर्ण यो प्रदेश धार्मिक, पर्यटकीय, औद्योगिक र व्यापारको हिसाबले अब्बल छ । योसँगै यहाँ कृषि र जलस्रोतको समेत प्रचुर सम्भावना छ । नेपालका प्रायः सबै जातिको बसोबास रहेको यस प्रदेशमा जातीय र सांस्कृतिक विविधता समेत पाइन्छ ।

एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ वटा गाउँपालिका गरी एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेश नम्वर १मा १४ जिल्ला छन् । जसमध्ये झापा पनि एक हो । पर्यटकीय दृष्टिकोणले झापाको छुट्टै विशेषता छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगमका कारण झापाले पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ । ७ वटा गाउँपालिका र ८ वटा नगरपालिका रहेको झापामा दोमुखा, अर्जुनधारा धाम, किच्चकबध, जामुनखाडी सिमसार क्षेत्र, केचना, बाँसबारी सिमसार क्षेत्र , सुखानी पार्क, सतासीधाम, बाह्रदशी, सालवारी प्रमुख पर्यटकीय क्षेत्र हुन् । १ हजार ६ सय वर्ग किमी क्षेत्रफल रहेको झापाको पूर्वमा मेची नदीले भारतको पश्चिम बंगालसँग सीमाना छुट्याएको छ ।

जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ भने उत्तरमा इलाम र पश्चिममा मोरङ जिल्लाले झापाको सीमाना छुट्याएको छ । सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०२०’ को लक्ष्य भेट्न झापाका पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास, सेवासुविधाको विस्तार गर्न सके पर्यटनबाट झापासँगै पूर्वकै मुहार फेरिने निश्चित छ । तर, सरकारी तवरबाट भने झापाका पर्यटकीय क्षेत्रको विकासमा कुनै पहल गरेको देखिँदैन । नेपाल सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश स्तरीय कार्यालय झापाको काँकरभिट्टामा रहेको छ । तर, सो कार्यालयको काम, कर्तव्य र अधिकारको टुङ्गो लाग्न नसक्दा पर्यटन कार्यालयका कर्मचारी नै आफूले के गर्ने हो भन्ने विषयमा अनभिज्ञ छन् ।

पर्यटन कार्यालयसंगै रहेको छ, नेपाल पर्यटन बोर्ड । वोर्डले समेत पर्यटन प्रर्वद्धनमा काम गर्न नसक्दा स्थल मार्ग हुँदै काँकरभिट्टा नाका भएर नेपाल भित्रिएका पर्यटक सोझैं, पोखरा, लुम्विनी, काठमाडौं पुग्ने गरेका छन् । जसका कारण झापा सहित पूर्वका जिल्लामा पर्यटन क्षेत्रको विकास हुन नसकेको ग्रामीण पर्यटन व्यवसायको क्षेत्रमा काम गर्दै आएका अभियन्ता अर्जुन कार्कीको भनाइ छ ।

स्थलमार्ग भएर मुलुकमै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो– काँकरभिट्टा । काँकरभिट्टामा रहेको अध्यागमन कार्यालयको पछिल्लो तत्याङ्क अनुसार सन् २०१८मा सबैभन्दा धेरै वंगलादेशी पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिए । त्यस्तै युएस र भुटानका पर्यटकहरु पनि स्थलमार्ग भएरै नेपाल धेरै भित्रिएको कार्यालयका सूचना अधिकारी मदनप्रसाद खतिवडाले जानकारी दिए । उनले भने– सन् २०१८मा ११ हजार ३ सय ९ जना पर्यटक काँकरभिट्टा नाका भएर भित्रिँदा १ हजार ९ सय ५० बंगलादेशी पर्यटक आएका थिए भने युएसबाट नेपाल भित्रिने पर्यटकको संख्या ८ सय ५६ र भुटानबाट ७ सय ५३ जना पर्यटक पूर्वी नाँका काँकरभिट्टा हुँदै नेपाल भित्रिएका थिए ।

सन २०१९मा पनि नेपाल भित्रिने पर्यटकको संख्या अघिल्लो वर्ष जस्तै छ । सन् २०१९को अक्टोवरसम्मको तथ्याङ्क हेर्दा स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकको संख्या यो वर्ष पनि बंगलादेशी कै बढी छ । तर, नेपाल भित्रिएका पर्यटकलाई ‘गाइड’ गर्न नसक्दा उनीहरुले नेपालका पर्यटकीय क्षेत्रको सहजरुपमा अवलोकन गर्न नसकेको कार्की बताउँछन् ।

नेपालमा भित्रिएका पर्यटकको विषयमा ‘गाइड’ गर्ने अधिकार पर्यटन वोर्डलाई भए पनि काँकरभिट्टामा रहेको पर्यटन वोर्डको कार्यालयलाई नै गाइड गर्नुपर्ने अवस्था छ भन्दा पत्यार नलाग्न सक्छ । तर, पर्यटकले परैबाट प्रष्टसंग देख्न सक्ने गरी सो कार्यालयको वोर्डसम्म राखिएको छैन । वोर्डकी निमित्त कार्यालय प्रमुख सुस्मिता दाहालले आफूहरुले वोर्ड राख्न नसकेको स्वीकार्दै विभागसँगको समन्वयमा तत्काल वोर्ड राखिने बताइन् ।

सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२०लाई पर्यटन वर्ष घोषणा गरे पनि झापामा रहेका पर्यटनसँग सम्वन्धित कार्यालय र संघ संस्थाको समन्वय नहुँदा भित्रिएका पर्यटकले समेत सास्ती झेल्दै आएका छन् ।
भारत लगायत तेस्रो देशबाट स्थल मार्ग हुँदै आएका पर्यटकले इलाम घुम्न जाँदा सवारी जाँचपासका कारण कारवाहीमा पर्ने गरेका छन् । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट नेपालमा सवारी सञ्चालनको अनुमति लिए पनि ‘रुट परमिट’ लिन यातायात व्यवस्था कार्यालय मेचीमा आउनुपर्ने भएपछि विदेशी पर्यटक परामर्शको अभावमा कारवाहीमा पर्दै आएका हुन् । नेपाल घुम्न आएका पर्यटकलाई सही परामर्शको सट्टा कारवाही गर्नुले पनि पर्यटक पर्यटकीय क्षेत्रको खोजीमा भन्दा कारवाहीका डरले निश्चित गन्तव्यभन्दा अन्यत्र नजाने गरेको बताइएको छ ।

पूर्वी नाका काँकरभिट्टामा पर्यटन प्रहरी सहितको पर्यटन वोर्ड भएपनि नेपाल भित्रिएका पर्यटकले आवश्यक सूचना नपाएका कारण भएका पर्यटकीय क्षेत्रमा समेत पर्यटकहरु पुग्न सकेका छैनन् ।

सन् २०१९मा स्थलमार्ग भएर जनवरीमा दुई हजार ३ सय २८, फेव्रुअरीमा एक हजार ५ सय ७०, मार्चमा २ हजार ३ सय ५१, अप्रिलमा १ हजार ९ सय ८३, मे मा २ हजार ३ सय ५०, जुनमा २ हजार ४ सय ३३, जुलाइमा १ हजार ६ सय ६, अगष्टमा १ हजार ९ सय १, सेप्टेम्वरमा १ हजार ४ सय ७, अक्टोवरमा २ हजार ८ सय ४९ जना पर्यटक भित्रिएका छन् ।
सन् २०१८मा पर्यटक भित्रिँदा मात्रै २८ लाख ८ हजार ६३ रुपैयाँ १० पैसा सरकारलाई राजश्व संकलन भएको अध्यागमनको तथ्याङ्कमा उल्लेख छ ।

नाम मात्रैको समिति

प्रदेश नम्वर १का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा पर्यटन वर्ष २०२०लाई सफल बनाउन भन्दै प्रदेश स्तरीय प्रदेश पर्यटन प्रर्वद्धन समन्वय समिति गठन भएको छ । तर, सो समितिले पर्यटन प्रर्वद्धनका लागि अहिलेसम्म कुनै ठोस् काम शुरु गरेको छैन । समन्वय समितिका सदस्य अर्जुन कार्कीका अनुसार ५१ सदस्यीय समितिको डेढ महिना अघि जिम्मेवारी वाँडफाड भएको र आफू ग्रामीण पर्यटन तथा हस्तकला समितिको संयोजक रहेको बताएका छन् । उनले समितिकै काम कर्तव्य कमजोर भएका कारण सोचेको लक्ष्य प्राप्त गर्न नसक्ने बताए ।

निजी क्षेत्रबाट अघि वढी प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिरहेको भएपनि सरकारी तवरबाट कुनै ठोस काम नभएको उनको भनाइ छ । समितिमा झापाका मात्रै पाँच जना सदस्य छन् । सो समितिमा अर्जुनसहित उदय श्रेष्ठ, राजु कार्की र तारा बास्तोला र राजेन्द्र दंगाल सदस्य छन् ।

फुर्सदिला पर्यटन कार्यालयका कर्मचारी

मुलुक संघीय संरचनामा गएसँगै पर्यटन कार्यालय कसले हेर्ने भन्ने विषयमा लामो समयसम्म विवाद हुँदा पर्यटन कार्यालयका कर्मचारी फुर्सदिला देखिएका छन् ।

संघीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी वाँडफाड नहुँदा काँकरभिट्टामा रहेको पर्यटन कार्यालय एक महिना अघिसम्म बन्द रहेको थियो । तर, पर्यटन कार्यालयलाई हेर्ने जिम्मेवारी प्रदेश सरकारलाई आएसँगै अहिले प्रदेश सरकारले धमाधम कार्यविधि बनाइरहेको छ । ऐन वनेपनि कार्यविधि नबन्दा कर्मचारीलाई काम नै नभएर फुर्सदिलो भएर बस्नु परेको पर्यटन कार्यालयका कर्मचारी निरोज कट्टेलले बताए । उनले भने– ‘संघीय सरकार र प्रदेश सरकारबीच समन्वय रकार्यबिभाजन समयमा नहुँदा हामी फुर्सदिला भएका हौं ।’

सरकार नयाँ संरचनामा गएको र सवै ऐन नियम वनिनसकेका कारण केही काम गर्न नसकेको उनले बताए । उनले भने– हामीलाई मन्त्रालयले यो यो काम गर, यो क्षेत्र हेर नभनेको हुनाले हामी कामविहीन भएका हौं । तर, संघीय सरकारको मातहतमा रहेको आधारमा नै अहिले हामीले नियमित काम गरिरहेका छौं ।

यता निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद सिग्देलले पर्यटन प्रर्वद्धनका लागि आफूहरुलाई कुनै अधिकार नदिएकाले केही गर्न नसकेको बताएका छन् । उनले मुख्य मन्त्रीको संयोजकत्वमा बनेको प्रदेशस्तरीय समितिले नै पर्यटन वर्ष २०२०लाई सफल बनाउन भइरहेका कार्यक्रमको प्रचारप्रसारको काम गरिरहेको बताए ।

आफूहरु के काम गर्ने भन्दै प्रदेशमा जाँदा समेत प्रदेशले आफूहरुलाई नियम कानून बन्दै छ भनेर फर्काउने गरेको उनको दुखेसो छ । उनी भन्छन्– तिमीहरुले यो काम गर भन्दा पो त्यो काम गर्ने त । के काम कसरी गर्ने भन्ने नै टुङ्गो लाग्न नसक्दा हामीहरुलाई नै समस्या भएको छ । पर्र्यटन व्यवसायलाई दिगो र सेवा मुलक बनाउन साथै उच्च प्रतिफल हासिल गर्न यसको विविधिकरण, प्रवद्र्धन र विकास गरी गुणस्तरीयतामा विशेष ध्यान दिने भन्दै प्रदेश सरकारले गत वर्ष घरवास(होमस्टे) सञ्चालन कार्यविधि समेत सञ्चालनमा ल्याएको छ । तर, संघीय सरकारको लक्ष्य अनुरुप पर्यटन वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारले कुनै पहल नगरेको बताइएको छ ।

झण्डै २० करोड जनसंख्या भएको भारतको बिहार झापाको सीमाना जोडिएको छ । भारतको पश्चिम बङ्गाल प्रान्तबाट पनि थुप्रै पर्यटक ल्याउन सकिने आधार छ । बङ्गलादेशका लागि काँकरभिट्टा मुख्य प्रवेशद्वार हो । विहार र पश्चिम बङ्गालका पर्यटकलाई धार्मिक र प्राकृतिक पर्यटनका लागि आकर्षित गर्न सकिन्छ । विहारमा विष्णु र शिव भगवान् मान्नेहरूको ठूलो समुदाय छ । तिनलाई झापा सहित प्रदेश १ का पूर्वको पशुपतिनाथका नामले परिचिन अर्जुनधारा जलेश्वर धाम, सताक्षीधाम, कञ्चनगढ, पाथीभरासहित सुनसरीको हलेंसी, वराहक्षेत्र, विष्णुपादुका जस्ता पौराणिक महत्वका स्थलमा ल्याउन सकिन्छ ।

खोटाङको हलेंसी महादेवको मन्दिर हिन्दूको मात्र नभई, किरात र बौद्ध धर्मावलम्बीका लागि पनि एकपटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा हेरिन्छ । सिक्किम, भुटान र बर्माबाट धेरै बौद्ध धर्मावलम्बी हलेंसीमा आउने गरेका छन् । तर, अझै पनि प्रचारप्रसारको अभावले झापाका धार्मिक, ऐतिहासिक, पौराणिक महत्वका पर्यटकीयस्थलमा पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।

प्रमुख समस्या

पर्यटन विकास निरन्तर सरकारको प्राथमिकतामा पर्दै आए पनि सोचेजस्तो प्रगति भने भएको देखिँदैन ।
स्थानीय तहले आ–आफ्नो ठाउँको पर्यटकीय क्षेत्रको पहिचान गर्दै पर्यटन प्रर्वद्धनमा चासो देखाएपनि विदेशी पर्यटक भित्र्याउने कुनै ठोस् नीति बनाएको छैन । खर्च गर्ने क्षमता भएका गुणस्तरीय पर्यटक भित्र्याउनेदेखि उनीहरूलाई गर्ने व्यवहार, बसोबासको प्रबन्ध, सुरक्षा समन्वय, अल्मल्याउने बिकल्पको योजनाबद्ध विकासको अभावले झापामा पर्यटक धेरै दिन बस्दैनन् । भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सुधार नहुनुले पनि यहाँको पर्यटन क्षेत्रको विकास हुन सकेको छैन ।

भन्सार बिन्दुबाट प्रवेश गरेलगत्तै भारतीय सवारीसाधन चेक–जाँचको नाममा हैरानी दिने प्रवृत्तिले पनि पर्यटक झापा सहित पूर्वका जिल्लामा आकर्षित हुँदैनन् । अस्थायी रुट परमिटको नाममा पनि झञ्झट दिने गरिएको छ, यसलाई सुधार्न सकेमात्रै झापाको पर्यटन क्षेत्रको विकास हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here