सहकारी संस्था सफलताको मापन केलाई मान्ने ?

0
815

रामचन्द्र उप्रेती,

सहकारीमा पहिलो पटक सदस्य बन्न आउने सदस्यले मैले के पाउँछु, के सुविधा छ भनेर नै सोध्ने गर्छन् । यो धेरै बेठिक होइन । किनकि उहाँहरुले सहकारीका बारेमा केही बुझेकै त हँुदैन । सहकारीमा सदस्यले लिने मात्रै हुँदै होइन पहिला योगदान गर्ने । पहिला योगदान भनेको सबैभन्दा पहिला सदस्य बन्न शेयर किनेर योगदान गर्ने । त्यसपछि सदस्य बनेर सहकारीले गरेको व्यवसायमा सहभागी भएर, सहकारीका नीति–नियम बुझेर, अरुलाई बुझाएर सहयोग गर्ने । सदस्यको सहयोग अर्थात् योगदानबाट संस्थाको उन्नति हुँदै जान्छ । कारोवारबाट केही न केही बचत हुन थाल्छ यस्तो बचतबाट सदस्यको हितमा हुने गरी कार्यक्रम सञ्चालन गर्ने र सदस्यको व्यवसायमा, सामाजिक पहुँचमा, सांस्कृतिक सोचमा, शिक्षामा, स्वास्थमा सहयोग पु¥याउने खालका चेतनामूलक काम गर्नुपर्छ ।

बर्षभरिमा यस्ता भए गरेका कार्यक्रमबाट सदस्यलाई कति लाभ भयो । सदस्यमा कति परिवर्तन हुन सक्यो भनेर समिक्षा गर्नुपर्छ । सदस्यले संस्थालाई तब माया र योगदान गर्छन् जब संस्थाको कारण मलाई फाइदा पुगेको छ भन्ने महशुस अन्तर हृदयबाट अनुभूत हुन्छ । सदस्यलाई फाइदा पुगेको कुराका अनुभूत गराउन संस्थाले निरन्तर काम गरिरहनुपर्छ । केही केही सदस्य लिन मात्रै खोज्ने, आफ्नो फाइदा मात्रै सोच्ने अरुको हितका कुरा, संस्थाका हितका कुरामा खासै मतलव नगर्ने हुन्छन् । तर, यस्तो संख्या विस्तारै कम हुँदै जान्छ । संस्थाले आफ्नो प्रयास निरन्तर जारी राख्नुपर्छ ।

अहिले सञ्चालनमा रहेका अधिकांश सहकारीले सहकारीको वास्तविक मर्म अनुसार कार्य गरेको अवस्था छैन भन्दा हुन्छ । धेरैजसो सहकारीका सञ्चालकहरुको सानो समूहले सहकारीलाई आफ्नो सुविधाका लागि धेरै प्रयोग गरेका छन् । उनीहरुको बुझाइमा यो सहकारी हामीले शुरु ग¥यौं, हामी भएकाले मात्रै यो सहकारी यो अवस्थामा छ । हामी सहकारीका मालिक हौं । सहकारीमा हामीले चाहेको जस्तो गर्नुपर्छ । सहकारी नै हामीले बनाएर यो अवस्थामा ल्याएपछि हाम्रो हितमा सहकारीलाई किन प्रयोग नगर्ने ? अरु त पछि ऋण लिन सदस्य बनेका हुन् ।

अझ हामीले भनेर, ल्याएर सदस्य बनाएका हौं । उहाँहरुलाई सहकारी के थाहा । यस्तो सोच पुराना सञ्चालक र हर्ताकर्तामा पलाएको देखिन्छ । त्यही कारण सहकारीमा यस्ता सञ्चालक मनपरि जस्तै गर्छन् । आपूmले गरेको मनपरीलाई उचित ठान्ने गर्छन् । सहकारीले त सदस्यको हितमा काम गर्नुपर्छ, सदस्यलाई सहकारी बुझाउनुपर्छ, नियम अनुसार चलाउनुपर्छ । नियम बनाएर चलाउनुपर्छ र नियम सबैले मान्नुपर्छ भन्ने कुरा यस्तो सोच राख्ने सञ्चालकलाई बेकारको लाग्छ । समस्या सञ्चालकहरुको यस्तो सोचमा रहेको छ । यस्तो सोच राख्ने सञ्चालक र हर्ताकर्ताहरु सहकारी अभियानमा जोडिन पनि मन पराउँदैनन् । अभियानले यस्तालाई देखेकोनदेखै गर्छ । किनकि यस्ता सहकारी धेरै छन् । यिनलाई ऐन, नियम, सहकारीका मूल्य, मान्यता, सिद्धान्त, मर्म आदिको कुरा गर्दा अभैm टाडिने सम्भावना हुन्छ भन्ने ठान्छन् । कतिपय अभियानका नेताका सहकारी पनि यस्तै चरित्रका छन् । तिनले आफ्नै खुट्टामा बन्चरो हान्ने काम त गर्नैै भएन ।

देश संघीयतामा गएपछि सहकारीको नियमन र अनुगमन गर्ने कार्य स्थानीय तह, प्रदेश र संघीय सरकारमा बाँडिएको छ । धेरै सहकारी स्थानीय तहको मातहतमा आएका छन् । प्रदेशमा समेत दक्ष र प्रयाप्त जनशक्ति नभएको बेलामा स्थानीय तहमा यसलाई बुझ्ने र नियमन गर्ने संयन्त्र एकदमै कमजोर छ । त्यसैले सहकारीमा भएका कतिपय समस्या ऐन, नियम, सहकारीमा सिद्धान्त, मूल्य–मान्यता र मर्मका आधारमा सच्चिएलान् भन्न मुस्किल छ । यति हुँदाहुँदै पनि यदि सहकारी अभियानले सहीबाटो समातेन भने अभियान कमजोर हुनेछ । मानिसको विश्वास सहकारीमा घट्ने छ । सहकारी अभियान सच्चिने बाटोमा लागेको अनुभूति भएको छ । किनकि पहिले जस्तो सहकारी केही सिमित सञ्चालकको हालीमुहालीमा चल्ने अवस्था अब छैन । यदि कतै अभैm बाँकी छ भने तीनले सच्चिनु पर्छ । नसच्चिए ती सहकारी धेरै दिन टिक्ने अवस्था हँुदैन ।

सहकारीले बनाएका सदस्यले आफ्नो हक, अधिकार, सहकारी संस्थाको अवस्था, आपूmले जम्मा गरेको पैसाको सुरक्षा, नेतृत्वको कार्यशैली र सुविधा आदिका बारेमा विगतमाभन्दा धेरै चासो राख्ने गरेका छन् । यदि सञ्चालकले सदस्यको चित्त बुझाउन सकेनन् भने सदस्यले सबै ठाउँमा बिद्रोह गर्लान् त भन्न नसकिएला, तर सहकारीसँगको सम्बन्ध घटाउँदै लाने छन् । कतिपय सहकारीमा सदस्यले चासो राखेर आफ्नो हक र सुरक्षा खोज्ने छन्, खोजेका छन् । सदस्यको यो चासो र सक्रियताकै कारण पनि विगतको तुलनामा अहिले (सत्तरीको दशकमा) सहकारीको असफलता घटेको छ । सहकारीहरु कसरी बलियो हुन सकिन्छ र टिकाउन सकिन्छ भनेर उपायहरुको खोजी गरिरहेका छन् । सहकारी ऐन २०७४ ले बदमासी गर्ने सहकारीका सञ्चालकलाई कडा सजाय गर्ने व्यवस्था भएपछि नियतबस गलत गर्ने सञ्चालक, कर्मचारी केही हच्किएका छन् । यो खुसीको कुरा हो ।

सहकारीका सञ्चालकले थाहा पाउनैपर्ने कुरा के हो भने सहकारी संस्था स्थापना गरेका, सहकारीलाई निकै मेहनत अर्थात् योगदान गरेर यो अवस्थासम्म ल्याएका, संस्थाको हर्ताकर्ता बनेका, लामो समयदेखि सहकारीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेकाहरुको मात्रै सहकारी हुँदै होइन । उनीहरुले म वा हामी भएमात्रै सहकारी चल्छ नभए त चल्दैन भन्ने बुझाई राख्नु हँुदैन । सदस्यलाई सहकारीको चासो नै छैन, बोलाउँदा पनि आउँदैनन्, धेरै नाफा र सुविधा मात्रै खोज्ने गर्छन् भन्ने लाग्छ र वास्तवमा स्थिति त्यस्तै हो भने हामी सहकारीका हर्ताकर्ता भएर लामो समय मुख्य–मुख्य जिम्मेवारीमा बसेर पनि गर्नुपर्ने जति काम गरेका रहेनछौं भनेर गल्ती स्वीकार्नु पर्छ र अब गल्ती सच्याउन लाग्नुपर्छ ।

धेरै सहकारीका सञ्चालकहरुले पहिला संस्थालाई वित्तीय हिसावले मजबुत बनाउन प्रयास गर्नुभएको छ । यसलाई नराम्रो भन्नु हँुदैन । किनकि वित्तीय हिसावले बलियो र सन्तुलित भएपछि सहकारी अगाडि बढ्ने एउटा आधार तयार हुन्छ । शुरु मै सहकारी वित्तीय हिसावले कमजोर भयो भने समुदायका मानिसले विश्वास गरेर सदस्य बन्ने अवस्था आउँदैन । कमजोरी कहाँ भएको छ भने संस्था आर्थिक हिसावले बलियो बनाउने काम सँगसगै भएका सदस्य र नयाँ बन्ने सदस्यलाई सहकारीका बारेमा क्रमशः शिक्षा, जानकारी दिँदै जानुपर्छ । जिम्मेवार बनाउँदै जानुपर्छ ।

सहकारीको उद्देश्य, मर्म, सिद्धान्त, मूल्य–मान्यता बुझाउँदै जानुपर्छ । यो पाटोमा धेरै सहकारीले राम्ररी काम गरेको पाइँदैन । कतिपय सहकारीले त अझ नियतबस नै अरु सदस्यलाई जानकारी नै नदिने गरेको पनि पाइन्छ । नियतबस नै सदस्यलाई जानकारी नदिनु, संस्थाका सूचनाहरु लुकाउनु एक प्रकारले अपराध नै हो । यस्तो अपराध गर्नेहरु सहकारीको ब्यानरमा निहित स्वार्थ पूरा गर्न लागेका छन् भनेर बुझ्न सकिन्छ । यस्तालई पहिचान गरेर नियमक निकायले सही बाटोमा ल्याउनु पर्छ ।

कतिपय सहकारीका सञ्चालकहरुमा संस्थाको सम्पति र मुनाफालाई देखाएर संस्था ठूलो छ, राम्रो छ भन्ने गरेको पाइन्छ । वास्तवमा यो उहाँहरुलाई लागेरै भनेको हो । तर, सहकारीको सफलता संस्थाको सम्पत्ति र नाफा बढ्नु मात्रै होइन । सदस्यको संस्था प्रतिको अपनत्व, सक्रियता, सुझबुझ, योगदान, सदस्यले संस्थाबाट प्राप्त गरेको वित्तीय मुनाफा (शेयर लाभांश)बाहेकको सुविधा र त्यसले जीवनमा पारेको प्रभावमा नापिनु पर्छ । यो काम निश्चय नै कठिन छ । तर, सहकारी संस्थाको दिगो विकास र सहकारीको सफलता यसैमा निहित हुन्छ । संस्था शुरु गरेर खास अवधिसम्म संस्थालाई राम्रो चलेको, चलाएको, सम्पत्ति बढेको, नाफा बाडेको जस्ता कुराले मात्रै संस्थाको अवस्था राम्रो छ भन्न सकिँदैन ।

संस्थाभित्रको सुशासन, लागतरहित कोषको अवस्था, सदस्यको चेतना र संस्थाको जिम्मेवारी लिन सक्ने जिम्मेवार सदस्यको विकास कुन स्तरमा भएको छ भन्ने कुराले संस्थाको दिगो विकासको जग तयार गरेको नगरेको भन्ने छुट्याउनु पर्छ । त्यस्तै दिगो विकासको लागि काम गर्न सके मात्रै संस्था राम्रो छ भन्न सकिन्छ । धेरैलाई लाग्न सक्छ यसरी त सदस्यलाई बुझाउनै सकिँदैन । मेरो विचारमा बुझाउनै नसकिने होइन एकै चोटी बुझाउन नसकिएला, तर निरन्तर बुझ्ने र बुझाउने प्रयास भइरहे असम्भव हुँदै होइन । यही काम नगरी हामी बलियो र दिगो संस्था बनाउनै सक्दैनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here