किसानलाई भारतीय मजदुरको भर

0
837

गरामनी।

मंसीर महिना किसानका लागि सबैभन्दा महत्वपूर्ण समय मानिन्छ । असारमा रोपेको मानो मुरीमा परिणत गर्ने सपना पूरा गर्ने समय पनि यही हो ।

तर, यतिखेर गाउँघरका युवा विदेशिएपछि कृषि मजदुरको अभावमा खेतीपातीको काम गर्न किसानलाई अप्ठ्यारो पर्दै गएको छ । कृषि मजदुरको अभाव भएसँगै कृषि कर्म गर्न किसानलाई समस्या परेको हो । झापाका ग्रामीण भेगमा यतिखेर धानबाली उठाउन र भण्डारण गर्न ज्याला मजदुरी गर्ने जनको अभाव भएपछि किसान मारमा परेका छन् ।

युवा विदेशिएका र भएका पनि अन्य काममा जाने गरेकाले भारतीय मजदुरको भरमा खेती उठाउनु परेको बिर्तामोड–९का कृषक छत्रकुमारी घिमिरेले बताइन् । समयमा काम लगाउँन नपाउँदा रोग किरा आदिको आक्रमणले धानमा नोक्सानी व्यहोर्नुपरेको उनले बताइन् । बिर्तामोड–१० बिराटपोखर क्षेत्रमा बर्षेनि भारतीय कामदार आउने गरेको भए पनि कामको चापले उनीहरुलाई भ्याइनभ्याइ हुन्छ ।

अर्का कृषक डिल्लीराम निरौला आफूले उनीहरुलाई काममा बोलाउँदा नआएको गुनासो गरे । मैले उनीहरुलाई पटक–पटक बोलाएँ तर हामी एकछिन् पनि भ्याउँदैनौं भने के गर्नु ?– निरौलाले भने । यसपाली एकातिर काम गर्ने जनको अभाव छ भने अर्को अर्कोतिर पाकेको बालीमा नयाँ रोग तथा किराको प्रकोपले दोहोरो मारमा परेको किसानहरु बताउँछन् ।

धेरै किसानको धान सुकेको र काट्न र बिटा उठाउन ढिलो हुँदा किराले काटेर आधीसरो धान भुइँमा झर्ने गरेको पाइएको छ । धानमा यस्तो नौलो रोगकिराको संक्रमण भई क्षति भइरहेको भए पनि सम्बन्धित निकायले चासो नदिएको उनीहरुको गुनासो छ ।

छोटो समयावधिका लागि आउने भारतीय मजदुरको कमाइ पनि राम्रै हुने गरेको छ। फुर्सदको समयमा करिब एक महिनाका लागि आफूहरु बिहारबाट झापा आउने गरेको भारतीय मजदुर अब्दुल अदम खान बताउँछन् । बाह्र जना समूहका डफेदार (नाइके) रहेका उनले श्रम गरेर प्रति व्यक्ति २५देखि ३० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here