मन जित्न सुन्दर हुनुपर्छ, सुन्दर हुन हरियाली चाहिन्छ भन्ने धारणालाई मुस्ताङले गलत सावित गरेके छ । उजाड देखिने मट्यौले वुङ्ग उड्ने वालुवाको पहाड, मरुस्थल झैं लाग्ने भूगोलको अलौकिक सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई मोहनी नै लगाइदिन्छ ।
धौलागिरी र निलगिरी हिमालको काखमा रमाइरहेको मुस्ताङलाई हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र मुक्तिनाथले अझ सुन्दरता थपेको छ । हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङ भौगोलिक विकटताले गर्दा विकासमा पछि परे पनि त्यहाँको प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक र पुरातात्विक महत्वको कारण लाखौं पर्यटकको गन्तव्यको केन्द्रबिन्दु बन्दै गएको छ ।

मुस्ताङ नेपालको लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइकलिङ गर्न रुचाउने भएकाले त्यहाँ पुगेर साइकलिङमा रमाउने गर्छन् । पोखरा वाग्लुङ राजमार्गलाई मालढुंगामा छोडेर बेनी, तातोपानी, रुप्से, हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।
मुस्ताङको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । अन्नपूर्ण हिमश्रृंखलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिबबीच भाग भएर काली गण्डकी नदी बग्दछ। प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् ।
प्रस्तुति : नबिना (निर्मला) कुइँकेल































