अपराध नियन्त्रण आजको चुनौति

0
459

सम्पादकीय

भारतको हैदरवादस्थित तेलङ्गानामा एक महिलामाथि बलात्कारपछि हत्या गरेको आरोप लागेका चार युवालाई पुलिसले इन्काउन्टरमा मारेको छ । यो खबर र घटनाले भारतमात्र होइन दक्षिण पूर्वी एसियाका कतिपय मानिसलाई खुसी लागेको हुनुपर्छ । सत्ताइस वर्षीय डाक्टर महिलालाई आरोपी ती चार जनाले बलात्कार जस्तो अपराध मात्र गरेनन् आगो लगाएर क्रुर हत्या समेत गरे ।

यस्तो अपराधमा संलग्नलाई पक्राउ गर्नु, थुनामा राख्नु वा आजीवन काराबासको सजाय दिनु मात्रले यस्ता अपराधहरु नियन्त्रण हुने छैनन् । स्थानीय प्रहरीद्वारा बलात्कारपछि हत्याका आरोपीहरु माथि भएको इन्काउन्टरको यो घटना हाम्रा लागि पनि अनुकरणीय हुनसक्छ । यसले बढ्दो बलात्कार र हतया जस्ता आरोप नियन्त्रणमा सहयोग नै पुग्छ ।

वर्तमान र सभ्य समाजका लागि हत्या, हिंसा जस्ता दुष्कर्मलाई जंगली र बर्बरतापूर्ण व्यवहार मानिन्छ । त्यहीकारण संविधानमै नागरिक हक, मानवअधिकार र स्वतन्त्रतालाई अपरिवर्तनीय शर्तका रुपमा उल्लेख गरिएको हुन्छ । त्यसैले हिंसा लुटपाटदेखि हत्यासम्मका अपराध आधुनिक र सभ्य समाजको अनुहारमा देखिने ‘कालो दाग’ हो । तर, यही आधुनिकताले नै हुर्काइरहेको विकृति र विसंगतिको उत्कर्षमा बलात्कार, हत्या जस्ता क्रुरता हाम्रै समाजमा व्यापक भइरहेको छ ।

यी र यस्ता जघन्य अपराध न्यूनीकरण गर्दै सह–अस्तित्व, सह–सम्मानसहितको उद्यत्त व्यवहारले मात्र सभ्य समाजको निर्माणमा बल पुग्छ भन्ने बिर्सनु हुँदैन । आधुनिकताले एक्काइसौं शताब्दी भनिए पनि आध्यात्मिक मान्यता अनुसार यो समय ‘कलीयुग’ को उत्कर्षमा रहेको मानिन्छ । त्यहीकारण यतिबेला ‘दुर्जन’हरु सज्जनका तुलनामा चर्चामा रहेका हुनसक्छन् । सदाचारीहरुलाई दुराचारीको आरोप लाग्छ शायद । द्वापर युगमा समेत निष्ठामा बाँचेका भीष्मपितामहले शरशैय्याको कष्टपूर्ण क्षण बिताउनु प¥यो । भगवान राम आलोचित भए कुनै सनदर्भमा र भगवान भनिने श्रीकृष्णले पनि न्यायको रक्षाका लागि संघर्ष नै गर्नुप¥यो । दुराचारीहरु सम्मानित थिए र दुनिया उनीहरुकै ‘वाहवाही’मा रमाउँथे ।

हाम्रो समाज अहिले यस्ता थुप्रै विसंगतिहरुबाट आक्रान्त छ । सामाजिक अपराध भनिएका व्यवहारहरु यतिबेला सामान्य जस्तै बन्दै गएका छन् । बालबालिका माथि हुने शोषण, दुराचार, चेलीबेटी बेचबिखन, देह व्यापार, चोरी, डकैती, लुटपाट, लागूऔषधको दुव्र्यसन, हातहतियारको दुरुपयोग, सत्ता र शक्तिको दुरुपयोग तथा नैतिकता, मर्यादा र आदर्श विपरीतका कर्महरु विकृत मानसिकताको परिणाम हो । अनि पनि त्यसैले प्रश्रय पाइरहेको छ, दुराचार बढिरहेको छ । दिनहुँ यौनहिंसा र अपराधका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

यस्तो विक्षिप्त मानसिकता र अपराध नियन्त्रण गर्न अब सचेतनाले मात्र नपुग्ने भएको छ । त्यसैले अपराध कर्मबाट अरुहरु निरुत्साहित होउन् त्यस्ता कानून र कार्यान्वयन चाहिएको छ । त्यही कार्यान्वयन गरेको छ शायद हैदरावादको घटनामा । यद्यपि यस्तो कार्यान्वयन सबैका लागि उचित नहुन सक्छ । आरोप प्रमाणित नहुँदासम्म अपराध मान्न नहुने कानूनी पद्धतिले पनि मानव अधिकारकै पक्षमा जोड दिएको हुनसक्छ । तसर्थ, यी दुबै अवस्थाबाट जोगिँदै समाजमा शान्ति, अमनचैन र सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनले गम्भीर हुनैपर्छ । यसका लागि राज्य सञ्चालकहरुको समेत समन्वय खोज्नु पर्ला । त्यसतर्फ सम्बद्ध सबैको गहिरो चासो देखियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here