सामाजिक संस्थाको गौरव रक्षा गरौं

0
608

सम्पादकीय

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनले अहिले बिर्तामोड नगरपालिका क्षेत्र मात्र होइन झण्डै देश नै तातिएको अनुभूति गराउँदैछ । भर्खरै सम्पन्न देशको उपनिर्वाचनपछि हुन लागेको यो निर्वाचनले त्यही रुप लिने अनुमान गर्न गाह्रो नहुने भएको छ । यद्यपि खानेपानी संस्था विशुद्ध समाज सेवासँग जोडिएको अङ्ग हो । जहाँ न तलब, न भत्ता न त आकर्षक केही अवसरहरु नै हुन्छन् । आफ्नो खाएर उपभोक्ताको सेवामा लाग्नुपर्ने संस्थाको नेतृत्व लिन देखिएको सक्रियता र वातावरणले त्यो संस्था पनि कुनै विकास आयोजना अथवा आर्थिक कारोबार गर्ने निकाय नै हो भने झल्को देखिएकोले आम उपभोक्ता रनभुल्लमा पर्नु स्वभाविक हो ।

बिर्तामोडले बजारको आकार लिन थालेपछि यहाँका केही बासिन्दाको पहलमा शुद्ध, स्वच्छ र व्यवस्थित खानेपानी वितरण गर्ने संस्थाको आवश्यकता महशुस गरी खानेपानी उपभोक्ता संस्था गठन गरिएको थियो जसका लागि बिर्तामोडका पुराना बासिनदा राजनीतिकर्मी एवम् सामािजक अगुवा रामबाबु प्रसाईं समेतको सहमतिमा छोरा टोरुप प्रसाईंको नेतृत्वमा समिति गठन भयो । रामबाबु कै सेवा र समर्पणबाट बिर्तामोडमा विद्यालयका लागि जग्गा निःशुल्क प्राप्त भयो ।

त्यसैगरी मेची अञ्चलका चार जिल्लाका कृषि उत्पादनको मुख्य बिक्री केन्द्रका रुपमा रहने गरी कृषिथोक बजारका लागि त्यही परिवारबाट जग्गा प्राप्त भयो । आजको देवी मावि र बिर्तामोड कृषि उपज बजार त्यही दानसिलताको परिणाम हुन् । जहाँबाट समाजसेवा र विकासमा भइरहेको योगदान स्थानीयबासीले प्राप्त गरेको सुविधाको प्रतिफलले मूल्यांकन गर्छ ।
पानीलाई जीवन भनिन्छ ।

प्राणीका लागि मात्र होइन सम्पूर्ण चराचर, वनपस्ति र पृथ्वीको रक्षाका लागि समेत पानी अनिवार्य छ । मानिस चेतनशील प्राणी भएका कारण पानीको शुद्धता, स्वच्छता र अनिवार्यतालाई उसले बढी महत्व दिन्छ । पानी प्रकृति प्रदत्त निःशुल्क उपहार हो, तर अवस्था र परिवेश अनुसार यसको उपयोगमा मूल्य पनि चुकाउनु पर्दछ । प्रकृतिले दिएको पानीको स्वच्छता मानिसकै व्यवहारले अशुद्ध र प्रदुषित भइरहेको छ । मानिसकै व्यवहारले पानीका स्रोत घट्ने र सुक्ने क्रममा छन् । त्यसकै परिणाम हो कि कतिपय शहरका बासिन्दाले ‘काकाकुल भएर बाँच्नु परेको छ । झापाले अहिलेसम्म त्यो नियति भोग्नु परेको छैन, तर बढ्दो शहरीकरण र जनसंख्याका कारण मुहान सुक्ने र भएका स्रोत प्रदुषित हुने क्रम बढेपछि त्यही अवस्था भोग्नु पर्ने निश्चित छ ।

यतिबेला पानीको प्रचुर स्रोत रहेका तराईका क्षेत्रमा व्यवस्थिति र शुद्ध पानी वितरण गर्न दातृ निकायहरुको सहयोगमा खानेपानी वितरण आयोजना सञ्चालित छन् । त्यही मध्येको बिर्तामोड खानेपानी संस्था पनि एक हो । अहिले सो संस्था वैधानिक पद्धतिले नेतृत्व चयन गर्ने दौडमा छ । त्यही पद्धतिलाई अनुशरण गर्दै आउँदो २५ गते निर्वाचन हुँदैछ । त्यसलाई लक्षित गर्दै राजनीतिक निकायको झल्को देखिने गरी प्रचार–प्रसार भइरहेको छ । नेकपाले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी घोषणा गरेपछि लोकतान्त्रिक समूहका नाममा नेपाली कांग्रेस र राप्रपाले पनि उम्मेदवार सार्वजनिक ग¥यो ।

यी दुबै अवस्थाले बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अब राजनीतिमुक्त नरहेको देखाएको छ । यस्तो अवस्था न उपभोक्ताको हितमा हुनसक्छ न त संस्थाको स्वतन्त्र गरिमा रक्षाका लागि सहायक हुन्छ । समाज सापेक्ष यस्ता संघ–संस्थाहरु वाद र विचारबाट मुक्त राख्न सकिएन भने तिनको कार्य कुशलता पनि प्रभावित हुनेछन् । त्यसैले पनि दलीय वा विचारको संकीर्णताबाट माथि उठेर यस्ता संस्थाहरुको गौरव जोगाउन अगुवाहरुले गम्भीर बन्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here