बाँके,
बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत्् प्रसारण लाइन विस्तारको काम शुरु भएको छ ।
ठेकेदारको ढिलाइका कारण लामो समयसम्म रोकिएको १३२ केभीको प्रसारण लाइन विद्युत््को खम्बा गाडेर विस्तारको काम शुरु गरिएको हो ।
बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाडदा बस्तीमा विद्युत् सेवा पु¥याउन सकिएको थिएन । गाउँमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुआत भएपछि स्थानीयहरु खुशी भएका छन् ।
बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पार्वती पुन उषाले पोल गाड्ने कार्यको शिलान्यास गर्नुभयो । राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुईमा एक वर्षभित्र काम सक्ने गरी विद्युत् लाइन विस्तारको ठेक्का रेणु निर्माण कम्पनीलाई दिइएको छ ।
सो निर्माण कम्पनीका प्राविधिक भरतबहादुर खत्रीले एचटी लाइन १५ दशमलव दुई किलोमिटर र एलटी लाइन १६ किलोमिटर विस्तार गरिने जानकारी दिनुभयो ।






























