सम्पादकीय
आज डिसेम्बर १० । संयुक्त राष्ट्र संघको महासभाले यो दिनलाई मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनामा आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । मानव अधिकारको घोषणापत्र विश्वका पाँच सयभन्दा बढी भाषामा अनुवाद भएका छन् ।
सात दशकअघि संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकारको महत्व अपरिहार्यताको बोध गराउन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने निर्णय गरेको थियो । मानिसलाई जन्मेदेखि मृत्युपर्यन्तसम्म सम्मानपूर्वक र समानरुपमा बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्दछन् । यसभित्र जन्मिनेदेखि बाँच्न, स्वस्थ रहन, आवागमन गर्न, लेखपढ गर्न, अभिव्यक्ति तथा विचार ग्रहण गर्ने अधिकारहरु पर्दछन् । यिनको अभावमा बाँच्न, आधारभूत आवश्यकताको परिपूर्ति गर्न, सम्मानित भएर बाँच्न र व्यवहार गर्न कठिन हुन्छ । आज चेतना, पूर्वाधार तथा उपलब्धताले मानव समाज धेरै अघि पुगिसकेको छ । तर, कतिपय समाज समानता, स्वतन्त्रता र सामाजिक न्याय लगायतका आधारभूत शर्तहरुबाट अनभिज्ञ छन् । मानव अधिकारको विश्वव्यापी मूल्य र मान्यतासँग आपरिचित छन् ।
नेपाल स्वयम् लामो संघर्ष, द्वन्द्व र संक्रमणको अवस्थाबाट भर्खरै बाहिर आउँदैछ । त्यसले सिर्जना गरेको दण्डहीनताले अराजकता र वेथिति प्रकट भइरहेको छ । यसकै संरक्षणमा अपराधीहरु कानूनको दायरामा आएका छैनन् भने पीडित झनै ठूलो पीडा सहन गर्न बाध्य छ । कानूनद्वारा दण्डित गरिएकाहरु पद, पैसा र शक्तिको धाक देखाएर सजाय पाउनबाट जोगिँदै आएका छन् । मानव अधिकार हुने खाने र पहुँच हुनेका लागि मात्रै अनिवार्य गरिएको छ । यसको विश्वव्यापी मान्यताको उपहास मात्र भएको छैन गम्भीर उल्लंघन गरेर मानव अधिकारको धज्जी उडाउने काम भइरहेको छ । यस्तो अवस्थामा हामी सचेत वर्गले बाटो, विद्यालय, सामाजिक वा सामुहिक कार्यमा अथवा मतदान स्थल नै किन नहोस् अधिकार उल्लंघनका घटनामा प्रतिवाद गर्न जरुरी भइसकेको छ ।
समाजमा रहेको फरक क्षमता भएका व्यक्ति हुन् वा तेस्रोलिङ्गी महिला, लोपोन्मुख, सीमान्तकृत वा बालबालिका लगायतका क्षेत्रमा भएका विभेदहरुलाई हटाएर उनीहरुलाई राष्ट्रिय मूलप्रवाहमा ल्याउनु पर्छ । जाति, भाषा, धर्म वा विचारका नाममा मानव जातिमाथि भइरहेका हिंसा र विभेदलाई रोक्न र समानताको प्रत्याभूति दिलाउन सकिए मात्र संयुक्त राष्ट्रसंघको यो घोषणाले सार्थकता पाउने छ । सशस्त्र द्वन्द्व र त्यसपछिको संक्रमणकालले निम्त्याएको दण्डहीनताको अन्त्य गर्दै मानव अधिकारको जग बलियो बनाउन हामी अझै चुकेका छौं । मानव अधिकारको नाममा कतै दोषी, अपराधीहरु दण्डित नभइरहेको अवस्था छ भने कतै कानूनी ‘बर्को’ ओडाएर अपराधीलाई संरक्षण दिने काम भइरहेको छ ।
जसका कारण पीडित पक्षलाई न्याय दिन सकिएको छैन । त्यसैले कानूनद्वारा वर्जित र मानव अधिकारको सीमा मिच्न पाउँदा रमाउने पात्र, चरित्रलाई कानूनको दायरामा ल्याउन यो दिनले प्रेरित गर्नुपर्छ । नवपुस्तालाई मानवतावादी हुन, समानताको पक्षपाती बन्न र शिक्षा स्वास्थ्य, पोषण, सुरक्षा लगायतका आधारभूत आवश्यकताको उपलब्धता निश्चिन्त बन्ने वातावरण दिनुपर्छ । आजको दिनले सम्बद्ध पक्षलाई त्यसतर्फ सचेत गराओस् ।




























