जलवायु परिवर्तन अधिकारकर्मी ग्रेटा थनबर्ग

0
936

तीर्थराज खरेल,

उनको पूरा नाम हो– ग्रेटा तिनतिन एलेओनोरा एर्मान थनबर्ग । तर, उनी ग्रेटा थनबर्ग भनेर चिनिन्छन् । अहिले विश्वभर १६ वर्षीया जलवायु परिवर्तन अधिकारकर्मी ग्रेटा थनबर्गको चर्चा छ । कलिलै उमेरमा उनी विश्व प्रसिद्ध हुन सकेकी छन् । हालै ग्रेटाले संयुक्त राष्ट्रको जलवायु परिवर्तनको शिखर सम्मेलनमा विश्वका नेताहरुलाई जलवायु परिवर्तनको असरबारे गम्भीर हुन र ठोस योजना बनाउन कडा र भावुक भाषण दिएकी छन्, जुन विश्वभर चर्चाको विषय बन्यो । उनले आफ्नो भाषणमा विश्वका नेताहरुलाई चेतावनी मात्र दिइनन्, कैयौ युवालाई जलवायु परिवर्तनको असर बारे जनचेतना फैलाउने अभियानमा सहभागी हुने प्रेरित पनि गरिन् ।

हवाई मार्गबाट यात्रा गर्दा कार्बन उत्सर्जन हुने भएकोले उनले सयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी सभामा भाग लिन एउटा जिरो इमिसन डुंगामा पुरै दुई हप्ता लगाएर आन्ध्र महासागर पार गरेर न्युयोर्क पुगेकी थिइन् । अहिले ग्रेटा हजारौ युवाको आवाज बनेकी छन् जसले वातावरण र पारिस्थितिक आपतकालीन अवस्थाप्रति विश्वको नेताहरु समक्ष आफ्नो आवाज पुर्याउन चाहन्छन् । ग्रेटाले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनको शिखर सम्मेलनमा विश्वका शीर्ष नेताहरुलाई निकै मार्मिक र प्रभावकारी भाषण दिएकी थिइन् । निकै आक्रामक तर भावुक भाषण गरेकी ग्रेटाले भनिन्– ‘यो पुरै तरिकाले गलत हो, म यहाँ नहुनुपर्ने हो । म महासागरको अर्कोपट्टि कुनै स्कुलमा हुनुपर्ने थियो ।

तपाईहरुले युवाहरुको नाममा आशा देखाइरहनुभयो । कसरी त्यस्तो गर्न सक्नुहुन्छ ? तपाईहरुले मेरो सपना र बालापन दुबै खोक्रा आश्वासन र भाषणले चोर्नुभएको छ ।’ उनले मानिसहरु जलवायु परिवर्तनले प्रभावित भइरहेको, मानिसहरु मरिरहेका र सबै पारिस्थितिक प्रणाली ध्वंश हुँदै गएको र हामी ठूलो नरसंहारको नजिक रहेको बताएकी थिइन् । उनले राजनीतिक नेताहरुले पैसा र आन्तरिक आर्थिक वृद्धिको कथा मात्र सुनाइरहेका तर वैज्ञानिकहरुले गरेका भविष्यवाणीप्रति नजरअन्दाज गरिरहेकोमा आक्रोस व्यक्त गरेकी थिइन् । उनले यदि जलवायु परिवर्तनको सामना गर्न र समाधान गर्ने योजना दिन नसके युवापिढीले आजका नेताहरुलाई माफ नगर्ने र समस्याबाट भाग्न नदिने बताएकी थिइन् ।

साँचो कुरा बुझ्न र बुझाउन एवम् मानवताको सेवा गर्न उमेरले छेक्दैन । ग्रेटाको जन्म २००३ को जनवरी ३ मा स्टोकहोममा भएको हो । अभिनेता पिता स्वन्त थनबर्ग र ओपेरा गायिका माता मलिना अर्मनको कोखबाट जन्मिएकी ग्रेटाले ८ वर्षको उमेरबाट जलवायु परिवर्तनको बारेमा बुझ्न शुरु गरेकी थिइन् । युवाहरु यसलाई न्यूनीकरण गर्न केही नगरेको देखेर उनी आश्चर्यचकित भइन् ।

तर, उनलाई त्यो असर कसरी कम गर्ने भन्ने जानकारी थिएन । ११ वर्षको हुँदा उनलाई पृथ्वीको अहिलेको अवस्था र केही गर्न नसक्ने देखेर दिक्क लाग्यो । अहिले जलवायु परिवर्तनको मुद्दामा उनी विश्वकै एक मोडल बनिसकेकी छन् । २०१९ सेप्टेम्बर २० मा विश्वको एक सय ६१ देशको करिब ४० लाख मानिसले जलवायु परिवर्तनको विरोधमा आन्दोलन गरेका थिए र त्यो अहिलेसम्मकै संसारकै सबैभन्दा ठूलो वातावरण सम्बन्धी प्रदर्शन थियो । त्यसको शुरुवात ग्रेटाले २०१८ मा ‘फ्राइडे फर फ्युचर’ अभियानबाट भएको थियो ।

अहिले हरेक शुक्रबार उनी हड्ताल गर्छिन् । उनले कक्षा ९ मा पढ्दा, नोभेम्बेर २०१८ मा स्वीडिस संसद अगाडि दुई हप्ताको आन्दोलन गरेकी थिइन् । सरकारले १५ प्रतिशत कार्बन उत्सर्जनमा कटौति गर्नुपर्ने उनको माग थियो । उनी एक वातावरण सम्बन्धी निडर अभियानकर्ताको विश्वमा चर्चित र सक्रिय छन् । डिसेम्बर, २०१८ मा पोल्याण्डमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनको सम्मेलन क्यटोविसमा पनि उनले बोलेकी थिइन् । त्यसको तीन महिनापछि मार्च १५, २०१९ मा १० लाख विद्यार्थीसहित शुक्रबारको कक्षा छोडेर प्रदर्शन गरेकी थिइन् । त्यसदिन एक सय २३ देशका बालबालिकाले विद्यालय छाडेर वातावरणको नियमहरु कडा हुनुपर्ने र ग्रीनहाउस ग्यास कम उत्सर्जन गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका थिए ।

गएको मार्च महिनामा थनबर्ग नोबल शान्ति पुरस्कारका लागि लागि पनि मनोनयनमा परेकी थिइन् । उनले मुख्यतः चार वटा एकअर्कामा गाँसिएका विषयमा आफ्ना धारणाहरु अघि सारेकी छन् । जलवायु परिवर्तनका कारण मानव जातिले मुकाबिला गरिरहेको अस्तित्वको संकट, जलवायु परिवर्तनका लागि वर्तमान प्रौढ पुस्ताको जिम्मेवारी, परिस्थिति सुधारका लागि कम पहल भएको अवस्था र राजनीतिज्ञ र नीति–निर्माताहरुले वैज्ञानिकहरुको आवाज सुन्नुपर्ने लगायतका विषयवस्तुलाई आधार बनाएर उनले आफ्नो आन्दोलनलाई अघि बढाइरहेकी छन् । उनले पेरिस सम्झौता अनुसार कार्बन उत्सर्जन कम गर्दै जाने प्रतिबद्धतालाई मान्नुपर्ने कुरालाई जोडदार रुपमा उठाइरहेकी छन् । उनी कडा तर सत्य बोल्छिन् ।

मानवताको ख्याल नगरी, सुन्दर पृथ्वीको भविष्यको विचार नगरी कार्बन उत्सर्जन गर्ने धनी देशका ठूला नेताहरु उनको विरोधमा छन्, तर विश्वभरका शान्तिकामी, वातावरणप्रेमीहरु, वातावरणविद्हरु, वैज्ञानिकहरु, आम बौद्धिक तप्का उनको पक्षमा छ । संयुक्त राष्ट्र संघको कार्यक्रममा न्यूयोर्क गएको बेलामा उनले अमेरिकी राष्ट्रपतिलाई भेट्न अस्वीकार गरिन् र भनिन्– ‘मैले डोनाल्ड ट्रम्पलाई भेट्न आवश्यक छैन, किनभने उनलाई मैले भन्नुपर्ने सबै कुरा थाहा छ, समस्या भेट्ने र भन्नेको होइन, समस्या त सुन्ने, बुझ्ने र नबुझपचाइकन प्रतिबद्धता अनुरुप काम गर्ने हो ।’

एकजना किशोरीले निर्भिकतापूर्वक संसारभरका आम मानवजातिको पक्षमा आवाज बुलन्द गर्न सक्नु र सँगसँगै आफ्नो पढाइलाई पनि सँगै लिएर अघि जानु अत्यन्तै ठूलो कुरा हो । ग्रेटाको अभियान विकसित देशभन्दा पनि गरीब, विकासोन्मुख र अल्पविकसित देशहरुको पक्षमा छ र कुनै पनि लेनादेना नभएका आम मानवहरुको पक्षमा छ । सारा जीवजगतसहितको प्यारो पृथ्वीको पक्षमा उनको आवाज घन्किरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here