दुर्घटनाको त्रास कम गर

0
529

सम्पादकीय

सवारी दुर्घटनाको त्रासदीले नेपालीलाई सताएको छ यसबेला । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो त्रास झनै बढाएको छ । पछिल्लो समय प्रतिदिन औसत सात जनाले सवारी दुर्घटनाका कारण असामयिक मृत्युवरण गर्नु परिरहेको गृहको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार प्रत्येक वर्ष दुर्घटना र मृत्युको संख्या बढ्दैछ । अघिल्लो आर्थिक वर्ष ०७४–०७५ मा देशभर दश हजार नौ सय पैसठ्ठी वटा दुर्घटना भएका थिए भने दुई हजार पाँच सय एक चालीस जनाले ज्यान गुमाउनु परेको थियो । आर्थिक वर्ष ०७५–०७६ मा यो संख्या बढेर तेह्र हजार तीन सय छैसठ्ठी पुगेको छ । सार्वजनिक सवारीसाधन दुर्घटना हुँदा एउटा परिवार मात्र होइन गाउँ नै प्रभावित हुने गरेको छ । त्यसले यसलाई विश्वासयोग्य र सुरक्षिन बनाउन जरुरी छ ।

त्यसो त दुर्घटना गर्छु भनेर गरिने वा हुने घटना होइन । तर, थोरै सजगता, होशियारी र तयारी गरेको खण्डमा यस्तो त्रासदीबाट जोगिन भने सकिन्छ । हामीकहाँ दिनहुँ थपिने सवारीसाधन, सडकको दुरावस्था, ट्राफिक चेतनाको कमी, हेलचेक्र्याइँ र अनुमतिपत्र वितरण पद्दतिमै त्रुटि छ कि खोज्न ढिला गर्नुहुँदैन । किनकि अहिलेसम्म भएका सवारी दुर्घटनाको प्रमुख कारण नै चालकको लापरवाही देखिएको छ । यस्ता दुर्घटनामा परी घाइते हुने औशत बाह्र हजारभन्दा बढी छन् । यी दुबैका कारण परिवार नै सकिने, अङ्गभङ्ग हुने र ठूलो आर्थिक भार बोक्नु पर्ने यथार्थलाई सम्बद्ध पक्षले आत्मसात गर्दै न्यूनीकरण र नियन्त्रणको बाटो खोज्नु पर्छ ।

पछिल्लो पटक सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनाले सोह्र जनाको ज्यान लियो । सो दुर्घटनामा एउटी दूधमुखे बालिका मातृविहीन हुन पुगिन् । यो प्रतिनिधि घटना मात्रै हो, यस्ता घटना दिनहुँ भइरहेका छन् । त्यसलाई कम गर्न, नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीदेखि स्वयम्सेवी संघ–संस्थाहरुले कार्यक्रम आयोजना गरिरहेका छन्, तर नतिजा अपेक्षित भइरहेको छैन । सार्वजनिक सवारीको यात्रा यसबेला डरलाग्दो र असुरक्षित महशुस गर्न थालिएको छ । सवारीको यान्त्रिक अवस्था, चालकको सचेतता, क्षमता र जिम्मेवारीबोध आदि सूक्ष्म कुराले यात्राको सुरक्षा प्रभावित हुन्छ । यसतर्फ ट्राफिक प्रहरीको प्रमुख ध्यानाकर्षण हुनुपर्छ भने सम्बद्ध अन्य पक्षले पनि त्यत्तिकै जिम्मेवारी बन्नु पर्दछ ।

सवारी दुर्घटनाका कारण कसैको अकालमा मृत्यु नहोस्, अङ्गभङ्ग वा आर्थिक क्षति नहोस् यसतर्फ राज्यको प्रमुख भूमिका रहनु पर्दछ । दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि भएका कानूनी व्यवस्था अपूर्ण छन् भने तिनलाई संशोधन र कार्यान्वयनमा दृढता देखिनु पर्दछ । यसका लागि सवारी धनी पनि दोषी छन् कि कारण खोज्न र कानूनको दायरामा ल्याउन ढिला गर्नुहुँदैन । सवारी आयातको आवश्यकता, सडकको अवस्था, बिना अध्ययन–अनुसन्धान जथाभावी सडक खन्ने परिपाटी, अदक्षलाई सवारी चालक अनुमति पत्र दिइने व्यवस्था आदि जे–जे कारण सहायक हुनसक्छ तिनको पहिचान गरिनु पर्दछ । यो सँगै दोषी पाइएको जुन कुनै कारण र कारकलाई कानूनको दायरामा ल्याइनु पर्दछ । अनि मात्र दुर्घटना नामको त्रासदीबाट जोगिन र जोगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here