सानु निसा आचार्य,
जब एउटी नारी कुनै परिवारमा जन्म लिन्छे तब छिमेकका मान्छेको नाक, निधार र पुरै अनुहार खुम्चिन्छ र त्यो खिसी र चुट्किलाको विषय बन्छ । दिनदिनैको लागि कुरा गर्ने विषय बन्छ । छोरा–छोरा भनेर मरिहत्ते गर्थे छोरी जन्मिछे भनेर भगवानलाई दोष चलन पनि छ समाजमा । छोरी त्यस्तो बोझिलो चिज हो र ? पक्कै पनि होइन । यदि छोरा सरह व्यवहार गर्नु र उचित शिक्षादिक्षा प्रदान गर्नु हो भने कुनै कुरामा नि कम हुन सक्दैनन् छोरी पनि ।
छोरीलाई अर्काको घर जाने जात, यसले पढेर के गर्छे भनेर सोच्नुभन्दा पनि हो यो अर्काकै घर जाने जात हो यसको भविष्य सुन्दर बनाउनुपर्छ, यसलाई आफ्नो खुट्टामा आफै उभिनसक्ने बनाउनुपर्दछ भन्ने सोचेर छोरा र छोरीमा कुनै भेदभाव नगरी शिक्षा आर्जन गराउनुपर्ने हो । तर, समाजमा त्यसो भइरहेको हुँदैन ।
अहिले पनि छोराछोरीम भेदभाव कायमै छ समाजमा । यदि एउटा घरमा नारी शिक्षित छिन् भने पुरै घर सभ्य र सुशोभित हुन सक्छ । सम्पत्तिसँग शिक्षालाई दाँजेर शिक्षाबाट छोरीलाई वञ्चित गराउनु भनेको परिवारको कमजोर मानसिकता हो । अहिलेको एक्काइसौँ शताब्दिमा आएर पनि दाइजो टन्न दिनुपर्छ । पढाएर के गर्नु भन्ने सोच्नु भनेको कहाँसम्मको मुर्खता हो भनेर साध्ये छैन ।
जब नारी शिक्षित र जिम्मेवार हुन्छे तब उसले नै आफू स्वावलम्बी भएर कयौँ गुणा सम्पत्ति कमाउन सक्छे । आफ्नै बलबुताले परिवार सम्हाल्न सक्छे । घर चलाउन सक्छे । समृद्ध समाजको निर्माण गर्न सक्छे र देश विकासमा सहयोग गर्न सक्छे । छोरीलाई घरको अँध्यारो चारकुनामा मात्र सीमित राखेर उनीहरुको सोचाइ, आँट, हिम्मत, इच्छा, रहरलाई उनीहरु भित्रभित्रै मारेर चिहान बनाउन बाध्य बनाउनेहरुले यो बुझ्न जरुरी छ कि नारी पनि पुरुष सरह एउटै प्रक्रिया र नियमले जन्मेकी हुन्छे ।
कमजोर त पुरुषहरुले सोचले बनाइ दिएका हुन् । तर, उनीहरुको इच्छाशक्ति र दर्बिलो आँट–हिम्मत नारीसँग पुरुषभन्दा कयौँ गुणा बढी हुन्छ । तसर्थ, नारीले चाहेको खण्डमा थोरै समयमा धेरै परिवर्तन गराउन सक्छे । धन सम्पत्ति, ऐंसआराम भनेको एकछिनका क्षणिक आकर्षण हुन् । तर, शिक्षा भनेको जीवनपर्यन्तको गहना हो । त्यसकारण नारीलाई पनि पुरुषसरह व्यवहार गर्नु सबैको कर्तव्य हो । शिक्षा आर्जन गर्नु मानिसको नैसर्गिक अधिकार हो । यो अधिकार जबर्जस्ती कसैले खोस्न खोज्छ भने त्यो सरासर अपराध हो ।
नारीलाई सक्षम बनाउन शिक्षा दिनुहोस् । सम्पत्ति त आफूलाई चाहिने आफै जोड्न सक्छे । सर्वप्रथम त हरेकले छोराछोरीमा गरिने भेदभाव हटाउन आफ्नो संकीर्ण सोचमा परिवर्तन गर्न जरुरी छ । त्यसो गरियो भने मात्र समाज अनि देशको परिवर्तन सम्भव छ ।



























Nice artice Nisha jee
Great