नदीनाला जीवनका आधार बनून्

0
925

सम्पादकीय

विरीङ नदीलाई झापाको दुःख भन्ने गरिएको छ । झापाको झण्डै मध्यवर्ती भएर बग्ने विरीङ नदीमा प्रत्येक वर्ष आउने बाढीले किनाराका बस्ती र आवादी जमिन र त्यसमा लगाएको बालीनाली मात्र होइन जनधनकै क्षति गराउने गरेको छ । वर्षेनि हुने क्षतिका आधारमा झापाको दुःख भनिने विरीङलाई तटबन्ध गर्दै उत्पादनशील जमिनको पूर्ण प्रयोग गर्न सकिए त्यही नदी झापाको सुख पनि हुन सक्छ । विरीङले खासगरी वर्षायाममा बढी क्षति गर्ने गरेको छ । पहाडी क्षेत्रमा पानी पर्नासाथ तत्कालै बाढी आउने विरीङले प्रत्येक वर्ष मानवीय क्षति पु¥याउँदै आएको छ।

विगतमा विरीङले उत्पन्न गरेको पीडा कम गर्न जनप्रतिनिधिहरु र स्थानीय निकायले प्रयास नगरेकै चाहिँ होइन । विरीङको प्रवाहले क्षति पु¥याउँदै गरेको अवस्थामा तत्कालीन बुधबारे खुदुनाबारी, शनिश्चरे र पाराखोपी (पछि अर्जुनधारा) गाविसहरुले बाँध बाँधेर आ–आफ्नो क्षेत्रमा क्षति कम गर्ने प्रयास गरेका थिए । एक–दुई दिन पानी पर्दा ‘अब विन्दुली बाँध फुट्छ होला !’ भन्ने त्रास सबैका मनमा उत्पन्न हुन्थ्यो । बाँध फुटेर शनिश्चरे बजार र बिर्तामोड क्षेत्रका केही स्थानका स्थानीयलाई विस्थापित गराउँथ्यो भने सयौं विगाह क्षेत्रफलमा लगाएको खाद्य बाली बगाएर, डुबाएर क्षति पु¥याएको थियो ।

यतिबेला संघीयताको अभ्यास गर्दागर्दैको समयमा विरीङ नदीलाई नियन्त्रण गर्न संघ सरकारकै तर्फबाट पहल भएको छ । यस क्षेत्रका कन्काई, मेची, रतुवा, मावा लगायतका नदीनालाहरुका कारण पनि स्थानीयबासी पीडित छन् । तिनलाई समेत दुई किनारबाटै बलियो तटबन्ध लगाएर बाढीबाट उत्पन्न हुने क्षति कम गर्न सकिए स्थानीयबासीलाई राहत नै हुन्छ । यसका लागि प्रदेश र स्थानीय सरकारले पनि अग्रसरता र सहभागिता देखाउनु पर्दछ । दीर्घकालीन योजना बनाएर नदीलाई तटबन्ध गरी नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसो गर्न सकिए नदी किनारमा बगरमा परिणत भएको जमिन आवादी गर्न सकिन्छ । यसले उत्पादनमा वृद्धि भई अहिलेको आयातलाई कम गर्न, रोक्न र मुद्रा सञ्चितिमा समेत योग दिनेछ ।

नेपाल अथाह जलसम्पदा भएको देश हो । यिनको राम्रो उपयोग गर्न सकिए ‘मोहर’ कमाउने आधार तयार हुन्छ । यसका लागि साना–ठूला नदीहरुलाई दीर्घकालीन योजना बनाएर नियन्त्रण र उपयोगको नीति बनाएर अघि बढ्नु पर्दछ । यसका लागि तीनवटै सरकारकाबीच समन्वय हुनुपर्छ र स्थानीय जनतासँग समेत साझेदारी गर्दै दाता राष्ट्रहरुको अनुभवलाई समेत उपयोगमा ल्याउनु पर्छ । यस्तो योजना र कार्यक्रम निर्वाचन लक्षित र स्वार्थपूर्ण हुनुहुँदैन । त्यसैगरी तटबन्ध पछिको केही भू–भागमा वृक्षरोपण गर्दै अनपेक्षित बाढीको प्रकोपबाट बच्ने उपाय पनि अवलम्वन गरिनुपर्दछ । यस्तो अवस्थाले सरकारको योजनाले दीर्घता र परिणाम अनुभूत गर्न सक्ने बनाउँछ । यसतर्फ पनि अगुवा नेतृत्वको ध्यान जाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here