हिंसाले समाधान खोज्दैन

0
694

सम्पादकीय

विचारको लडाइँलाई सरकारले दमन गरेको भन्दै सशस्त्र हिंसामा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीको पूर्वी क्षेत्रका कमाण्डर पक्राउ परेको घटनाले संघर्षरत् समूहलाई चोट लागेको हुनसक्छ । प्रहरी सक्रियतामा मेची–कोशी ब्यूरो प्रमुख उमा भुजेल र सहप्रमुख सुमन सिंह पक्राउ परेपछि प्रहरीलाई ठूलो सफलता हात लागेको महशुस भएको हुनसक्छ । सरकारले आफूहरु विरुद्ध प्रतिबन्ध लगाएसँगै हिंसात्मक गतिविधि तीव्र पारेको नेकपा चन्द समूहलाई यो पक्राउले आहत बनाएको छ भने प्रहरीलाई भने टाउको दुखाइ कम भएको हुनुपर्छ ।

प्रदेश प्रहरी कै सक्रियतामा प्रदेशका उच्चस्तरीय चार जना नेतालाई पक्राउ गरेको छ । यसले नेकपा चन्द समूहको गतिविधि शिथिल हुँदै निस्तेज हुने अपेक्षालाई बल पु¥याएको छ । यसअघि झापा लगायतका पूर्वी नेपालका जिल्लाहरुमा विष्फोट, आगजानी र चन्दा आतंक गर्दै आएको आरोप लागेको यो समूहका कारण खासगरी ग्रामीण क्षेत्र आतंकित थियो । तत्कालीन नेकपा माओवादीले जनयुद्धका नाममा मच्चाएको आतंक र सशस्त्र हिंसाका कारण त्रस्त मानसिकता साम्य हुन नपाई त्यसबाटै अलग भएको चन्द समूहको गतिविधिबाट त्रसित भएकै हो । लुटपाट, चन्दा, विष्फोट, अपहरण जस्ता घटनाले शान्ति सम्झौतामा आउनु अघिको नेकपाको लडाइँकै निरन्तरता जस्तो देखिने गतिविधिलाई सरकारले प्रतिबन्ध लगायो । त्यसको परिणाम भूमिगत अवस्थामा रहेर पनि अघिल्लो हिंसाको पुनरावृत्ति गर्दैै आएको छ ।

सुनसरीको चकरघट्टीबाट ब्यूरो प्रमुख उमा र उपप्रमुख सुमनलाई प्रहरीले पक्राउ ग¥यो । यसअघि जिल्ला तहका दुई नेता पक्राउ परिसकेका थिए । प्रतिबन्ध सँगै सर्वाधिक खोजीको सूचीमा रहेकाहरुलाई पक्राउ गर्न लागेको प्रहरीलाई प्राप्त यो सफलताले हिंसाको राजनीति स्थिर हुँदैन भन्ने सन्देश प्रवाह भएको छ । विगतका घटनाक्रमलाई हेर्दा पनि वर्ग शत्रु मास्ने भन्दै गरिएका हिंसात्मक घटनाहरुले नेतृत्व पंक्तिलाई सत्तारुढ गराउनु बाहेक जनताले अनुभूति गर्न सक्ने कुनै वस्तुगत परिवर्तन देख्न पाएका छैनन् । दश वर्षे लडाइँ पनि सत्तारुढ गर्ने सिँढी मात्रै भएको घटनाक्रमले देखाएकै हो । हतियार देखाएर, तर्साएर अथवा लुकेर गरिएका आक्रमणले चिर सुख प्राप्त हुँदैन । त्यसका लागि हिंसारहित विचार कै लडाइँ गर्नुपर्दछ । हिंसा त्यागेकै कारण सिद्धार्थ भगवान बुद्ध बने । विचारको शक्ति हतियारको शक्तिभन्दा कैयौं गुणा बढी हुन्छ भन्ने द्वन्द्वरत् पक्षलाई बुझाउन जरुरी छ ।

देश सर्वोच्च पहिचान हो । देश भूगोलको चौहद्दी मात्र होइन भावना, विचार र माटोप्रतिको प्रेमको पर्याय पनि हो । नेपाल नामको सानो भूखण्डभित्र रहेका तीन करोड नेपालीका साथमा रहेको एकात्मकतालाई सहिष्णुता, सद्भावना, सह–अस्तित्व र समन्वयको मायालु डोरीले अझै कसिलो बनाउन जरुरी छ । यसले मात्र अखण्ड नेपालको अस्तित्व र अस्मिताको रक्षा गर्न सक्छ । त्यसकारण पक्राउ गरेँ जितेँ वा पक्राउ परेँ हारेँ भन्ने मानसिकता त्यागेर आपसमा बन्धुत्वको भावनालाई बलियो पार्नु आजको आवश्यकता हो । तसर्थ, द्वन्द्वरत् पक्षले विचार नै बलियो हतियार हो भन्ने स्वीकार गर्नुपर्छ । यो नै अन्तिम सत्य र विकल्प होइन भन्ने सरकारले पनि मान्नु पर्दछ । यसले मात्र दुबै पक्षलाई सहजरुपमा एकाकार गराउन सक्छ । यही नै समाधानको उत्तम विकल्प हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here