कांग्रेसीहरुको रडाको

0
717

चिन्तामणि दाहाल,

प्रारम्भ :

अहिले प्रमुख प्रतिपक्ष बलियो बन्नुपर्ने बेलामा उसभित्र रडाको मच्चिएकोबाट त्यस्तो रडाको मच्चिनु नहुने पक्षमा रहेका सबैमा पीडा भएको छ । उनीहरुको मन पोलेको छ । तर, कांग्रेस कमजोर हुँदा जसलाई बढीभन्दा बढी पीडा हुनुपर्ने हो वा मन पोल्नुपर्ने हो उ नै रडाको गरिरहेकोले अरुको मन पोलेर केही भएको छैन ।

धेरैलाई लाग्न सक्छ कांग्रेसमा रडाको मच्चिएको छ । यस्तो रडाको सत्तासीन नेकपा पनि नभएको होइन । संगठनमा धेरै किसिमका मानिसहरु रहने भएकोले उनीरुबीच नेतृत्वको होडबाजी र लाभ लिन खोज्नेहरुमा विवाद हुन्छ र कहिलेकाहीँ त्यस्तो विवाद, पार्टी टुटफुट हुने अवस्थासम्म आइपुग्छ । यस्तो भएका उदाहरण यी नै ठूला दलकाबीच मै छ । २०५० के दशकमा एमाले फुटेर माले र एमाले भएकै हो भने २०६० को दशकमा कांग्रेस पनि देउवा र कोइराला गुटका रुपमा पार्टी फुटेकै हो ।

एमाले मालेबीच फुटमा सैद्धान्तिक कुरा रहेको भनिएको छ भने कांग्रेसको फुटमा कुनै सैद्धान्तिक कारण छैन । तर, फुटेपछि दुबैको भलो भएन अनि दुबै गुट आ–आफ्नो मातृ समूहमा मिल्न पुगे । संगठन त मिल्यो तर, मन मिलेन । जसका कारण एमालेभित्र जहिल्यैपनि एमाले र मालेको कुरा उठिरह्यो भने अहिले माओवादीको प्रचण्ड समूह मिलेपछि नेकपा बनेपनि उनीहरुको मन मिलेको छैन । यसका थुप्रै उदाहरण आएदिन उद्घाटन भइरहेका छन् । त्यस्तै कांग्रेसभित्र देउवा र कोइराला गुटमा रहेकोमा अहिले शीर्ष तहमा कोइराला नभएपछि देउवा र पौडेल अनि तेश्रोमा सिटौलाको गुट पनि उत्तिकै सक्रिय छ ।

यी गुटै गुटका कारण अहिले पार्टी भन्नु नै विवादको जड भएको मान्न थालिएको छ । कारण हरेक ठूला–साना पार्टीमा विवाद छ । तर, यसो भन्नुको अर्थ कांग्रेस पार्टीभित्रको विवाद पनि स्वभाविक हो भन्न खोजिएको होइन । तर, कांग्रेसभित्रको रडाको भनेको कांग्रेसीहरुको रडाको हो, कांग्रेसको होइन ।

सरल भाषामा भन्नुपर्दा अहिले कांग्रेसभित्रको रडाको सैद्धान्तिक नभएकोले यसलाई कांग्रेसको नभएर कांग्रेसीहरुको मात्र हो भनिएको हो । त्यसो भए कांग्रेस के हो र कांग्रेसी के हुन् ? भन्ने प्रश्न पाठक वर्गमा उठ्नु स्वभाविक नै हो । मैले बुझेको कांग्रेस भनेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त भएको, अर्थात् बहुलवादी विचारको पक्षपाती, मुलुकको अर्थतन्त्रलाई टेवा दिने आर्थिक नीति ( औद्योगिक, बाणिज्य व्यवसाय, आयात निर्यात, आन्तरिक व्यापार, कृषि नीति आदि) अंगिकार गर्ने, गरीब र धनीबीचको खाडललाई कम गर्ने, प्रगतिशील कर लगाएर त्यस करबाट विपन्नहरुको आर्थिक हैसियत बढाउने, भौतिक विकास र वातावरणबीच सन्तुलन ल्याउने नीति अख्तियार गर्ने, वास्तवमै गाउँस्तरमै अधिकार र सुविधा पु¥याउने, त्यही सिद्धान्तका आधारमा मुलुकको विकासमा हरतरहले योगदान दिने, सत्तामा हुँदा होस् वा सत्ता बाहिर गरीब र निमुखा जनताका पक्षमा आवाज उठाउने, सन्तुलित वैदेशिक नीति अख्तियार गर्ने,दुई छिमेकी राष्ट्रलाई नजिक राखेर उनीहरुबाट देशहीतमा बढीभन्दा बढी लाभ लिने प्रयत्न गर्ने, कार्यकर्तालाई त्याग, बलिदान, अनुशासित, सक्षम र संघर्षशील बनाउन प्रशिक्षित गर्ने, विपक्षीलाई शत्रु होइन प्रतिष्पर्धी मानेर इज्जत दिने, पार्टीभित्र सकेसम्म सहमति र नभए आन्तरिक प्रजातन्त्रको अधिकतम प्रयत्न गर्ने लगायत गुण र विशेषता भएको समूह हो । यो गतिशील, विकासशील, मासवेस्ड पार्टी हो । यसको चरित्र कम्युनिष्टसँग मिल्दैन न संगठन निर्माणमा र विचारमा ।

अहिले पार्टीका पछिल्लो पुस्ताका नेताहरुमा अरु राजनैतिक दलको संगठ खासगरी कम्युनिष्टहरुको संगठन हेरेर कांग्रेस पनि त्यस्तै हुनुपर्छ भन्छन् । तर, फरक छ र हुनुपर्छ । आमजनतामा गएर संगठन बृद्धि गर्नुपर्ने, आम जनतामै गएर विचार र सुझाव लिनुपर्ने विचार बोकेको पार्टीका नेताले एकल नेतृत्वको विकास गर्ने, संगठनलाई सधैंभरि एउटै नेताको ग्रीपमा राख्न खोज्ने बाम विचारका पार्टीको सांगठनिक रुप हेरेर कांग्रेसलाई त्यस्तै बनाउनुपर्छ भन्ने पनि देखिएका छन् ।

त्यस्तो काम आमजनतामा जान डराउने, आफ्नो नेतृत्वमा चुनौति आएर नेतृत्वबाट तल झर्नु पर्छ भनेर डराउने नेतृत्वले मात्र गर्न चाहन्छ । कांग्रेसको स्वरुप, विचार र संगठनको स्वरुप त्यस्तो होइन । यो कुरा अहिलेका शीर्ष नेतृत्वबीचका नेताहरु र तलका कार्यकर्ताहरुले पनि राम्ररी बुझ्न जरुरी छ । जनताका पक्षमा काम गर्ने नेताले कहिल्यै तल झर्नु पर्दैन । काम चाहिँ नगर्ने अनि सधैं शीर्ष तहमा बस्छु भन्नेले मात्रै अधिवेशन र महाधिवेशन गर्न डराउँछन् । अहिले भएको ठ्याक्कै त्यस्तै हो ।

वर्तमान रडाको :

वर्तमान रडाको कार्यकर्ताहरुबीचको पटक्कै होइन । शीर्ष नेताहरु एक ठाउँमा आउने बित्तिकै कार्यकताहरु सबैसँग उत्तिकै व्यवहार सम्मान र इज्जत आदर गर्न तयार छन् । भएका छन् । यसका धेरै उदाहरण वीपीका पालादेखि भट्टराई, गिरिजा, सुशील र अहिले देउवाको कार्यकालमा प्रशस्त उदाहरण छन् । पछिल्लो उदाहरण उपनिर्वाचनकै हेरे हुन्छ । पार्टीभित्र कार्यशैलीलाई लिएर समूह हुन्छन् र हुनु पनि पर्छ । जसले कार्यशैलीमा परिवर्तन गर्न वा नयाँ शैलीको खाका प्रस्तुत गरेर त्यस अनुसार पार्टीलाई अघि बढाउन सकिन्छ भनेर पार्टीभित्रै बहस चलाएर सहमत गराउन सक्छ त्यसले प्राथमिकता पाउँछ । त्यसो नगर्ने र भागबण्डा मात्र खोज्ने र अर्कोले भागबण्डा दिन्न (अंश दिन्न भने जस्तो ) गर्नेे, दिएन भनेर छलफल गर्ने बैठकमा सहभागी नहुने, बाहिर बसेर भाग खोज्ने, भाग दिन्छु भनेपछि आफ्ना पिछलग्गुलाई मैले गर्दा तिमीहरुले सुविधा पाएका हौ भनेर पछि लगाई राख्ने प्रवृत्ति मौलाएको छ ।

अहिलेको विवाद र झगडा सैद्धान्तिक हुँदै होइन । सैद्धान्तिक नभएकै कारण हिजो कांग्रेसबाट अलग भएर अलग पार्टी बनाएका देउवा अहिले मूल कांग्रेसकै सभापति छन् । मूल पार्टीबाट अलग भएका गच्छदार पुनः फर्किएर अहिले, उपसभापति भएका छन् । विवाद सैद्धान्तिक नभएको र केही कार्यशैली, केही जिम्मेवारीविहीन बनाएको, केही क्षमताका आधारमा मूल्यांकन नभएको, मूल्यांकनको आधार तयार नपारी चाकरी गर्ने र सधैं गणेश जस्तैः आप्mनो वरिपरी घुमि राख्नेलाई जिम्मेवारी दिने जस्ता कार्य भएकाले पनि विवाद भएका छन् ।

अन्त्यमा :

विश्वासका साथ जाने आधार तयार पार्ने वेला आएको छ । विवादलाई लगातारको छलफलबाट निपटारा लगाउनुपर्छ । बहिष्कार र पेलान होइन । एउटाले बहिष्कार गर्ने अर्कोले पेल्ने दुबै प्रवृत्ति गलत हुन् । केन्द्रीय समितिको बहुमत कांग्रेस जस्तो लाखौं कार्यकर्ता र समर्थक भएको दलका लागि तुच्छ हो । तीन दर्जनको बहुमतले जनतामा जाँदा माखो मार्दैन । आमजनताको मत जित्न एक हुनैपर्छ ।

यो नगर्ने र गुट–उपगुटमै रमाउने हो भने कुनै दिन यस्तो पनि आउनेछ कि एकादेशमा नेपाली कांग्रेस नामक पार्टी थियो रे । त्यसका नेता वीपी थिए रे । त्यसपछिका नेताहरुले नितान्त वैयक्तिक स्वार्थ र संकीर्ण विचारका कारण वीपीले प्रतिपादन गरेको सिद्धान्तलाई अघि बढाउन नसकेर गर्तमा डुब्यो रे भन्ने इतिहासमा सिमित रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here