मेलमिलाप दिवसको सन्देश

0
482

सम्पादकीय

आजदेखि अंग्रेजी सम्वत् २०२० शुरु भएको छ । नेपालीका लागि यो सम्वत्को खासै महत्व छैन, किनकि हामी विक्रम सम्वत् अनुसारका महिना, गते, तिथि, घडी, पलालाई मान्छौं । यसकै आधारमा हाम्रा चाडपर्वहरु आउँछन् र तिनै पर्वहरुलाई उत्साहपूर्वक मनाउँछौं । हाम्रा राष्ट्रिय कार्यक्रम र पर्वहरु पनि आफ्नै परम्परा अनुसार मनाइने भएकाले इस्वी सम्वत् नेपालीका लागि ‘कागलाई पाकेको बेल’ मात्रै हो । थोरै अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने वा कामका लागि विदेश जानेहरु बाहेक यो दिनलाई नयाँ वर्ष भनेर विशेष रुपमा मनाउनु भनेको परभक्ति मात्रै हो ।

प्रत्येक मानिसले जन्मसिद्ध अधिकार पाएको छ कि ऊ इच्छा अनुसार चल्न सकोस् । इच्छा संस्कृति, परम्परा विपरीत हुनसक्छ तर राष्ट्र, राष्ट्रियता, प्रचलित कानूनभन्दा बेग्लै भने हुन पाउँदैन । त्यहीकारण हुनसक्छ हिजोआज मानिस परसंस्कृतिको अन्धअनुशरण गर्न प्रतिष्पर्धा गर्दैछ र न काग न त कोइलीको नियति भोगिरहेको छ । अहिलेको सन्दर्भमा अंग्रेजीको नयाँ सम्वत् २०२० नेपाल भ्रमण वर्षका रुपमा आएको छ । करिब बीस लाख वाह्य पर्यटक भित्र्याउने लक्ष्य घोषणा गरेर सरकारले प्रचारप्रसारमा मात्रै लाखौं रुपैयाँ खर्च गरेको हुनुपर्छ । पर्यटनको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्दै देशलाई समृद्धिको बाटोमा लाने सरकारको उद्देश्यका लागि यो सम्वतले थोरै अर्थ राख्ला यसपटक । तर, समष्टिमा हाम्रो नयाँ बर्ष अब साढे तीन महिना पछि मात्रै आउनेछ ।

यसबेला नेपालीका लागि सबैभन्दा ठूलो चुनौति रहेको छ, एकताबद्ध हुनु । भूगोलले एकीकृत नेपाल र भाषाले संगठीत नेपालीले त्यहीकारण वडामहाराजाधिराज पृथ्वीनारायण शाह र आदिकवि भानुभक्त आचार्यलाई राष्ट्रिय एकताका प्रतीकका रुपमा स्वीकार गरेका हुन् । यसको महत्व नयाँ पिढीसम्म पु¥याउन जरुरी छ, त्यसैले जिम्मेवार वर्ग, निकाय, संस्था र सरकारले त्यतातर्फ गम्भीर हुनुपर्दछ । यही तत्वबोध गरेर महामानवका रुपमा राजनीतिक क्षेत्रबाट सम्मानित वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासन त्यागेर स्वेदश आएको दिन हो आज अर्थात् पुस १६ गते । उनको यस्तो राष्ट्रिय अभियानको आवश्यकता आज पनि उत्तिकै छ। भूगोलले सानो भएर पनि भाषा, संस्कृति र बहुपहिचान भएको सानो तर आँखाको नानी सरहको नेपालमा विभिन्न जाति, धर्म, समुदाय र सम्प्रदायका मानिस एक सूत्रमा बाँधिएर बसेका छौं । विविधताभित्रको यो एकता र सद्भाव नेपालीको मौलिक र विशिष्ट पहिचान हो ।

युग नेता वीपी कोइरालालाई विचारका योद्धाका रुपमा पनि लिइन्छ । वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको अवधारणाका साथ स्वदेश फर्किएका उनको यही नीतिले आज देश नयाँ संविधान मार्फत संघीय गणतन्त्रमा प्रवेश गरेको छ । राष्ट्र सबै विचार–वाद र सिद्धान्तभन्दा उचो हुन्छ । त्यहीकारण वीपीले अख्तियार गरेको बाटो, सद्भाव र विचारलाई सम्मान गर्दै प्रत्येक वर्षको पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ । तत्कालीन सत्ताले मृत्युदण्ड सुनाएको अवस्थामा बहुदलका पक्षधर प्रजातन्त्रका सेनानी नेताहरु निर्वासन त्यागेर स्वदेश फर्किएका थिए । मेलमिलापको नीति अनुसार सबै राजनीतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने वीपीको अवधारणा थियो । जो आज पनि त्यत्तिकै सान्दर्भिक र आवश्यक छ ।

नेपाली कांग्रेसभित्रै वीपीको मेलमिलापको अवधारणाको अझै कार्यान्वयन भएको छैन । राष्ट्रिय राजनीतिमा प्रमुख दल मानिने वीपीकै पार्टीभित्र एकता र मेलमिलापको खाँचो देखिएको छ । केन्द्रीय नेताहरु नै धु्रव–धु्रवमा विभक्त छन् । प्रमुख प्रतिपक्षमा रहेको दल आफैं आन्तरिक किचलोमा फसेको छ । यही बेला पुस १६ गतेले तिनीहरु सबैलाई वीपीको आदर्शले झक्झक्याओस्, सचेत गराओस् र एकताबद्ध भएर राष्ट्रिय आवश्यकता पूरा गर्न बलियो बनाओस् । शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here