बिर्तामोड।

झापाको बिर्तामोडमा सञ्चालनमा रहेको बीएण्डसी अस्पतालसंगै जोडिने नाम हो– दुर्गा प्रसाई । झापासहित इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने उद्देश्यसहित २०७१ साल फागुन १८ गतेदेखि बिर्तामोड निवासी प्रसाईले बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रा.लि. सञ्चालनमा ल्याउँदै स्वास्थ्य सेवा शुरु गरे ।
पचास शैय्याको सघन उपचार कक्ष (आइसीयू)को व्यवस्थासहित सञ्चालनमा आएको अस्पतालको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका नेता योगेशकुमार भट्टराई र नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले संयुक्त रूपमा गरेका थिए । तीन सय शैय्याको अस्पताल सञ्चालनमा आएसंगै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने विषयमा प्रसाई पटक–पटक चर्चामा आए ।
अस्पताल बिर्तामोड निवासी भगवान गिरी र चन्द्रमाया गिरीको स्मृतिमा निर्माण गरिएको छ । अस्पताल निर्माणका लागि तत्कालीन अनारमनी–३ निवासी गिरी परिवारको तीन विगाह जमिन प्रयोग गरिएको छ । तर, मेडिकल कलेज बनाउन तीन विगाह जमिन पर्याप्त नभएपछि भगवान र चन्द्रमायाकै स्मृतिमा धाइजनमा १६ विगाह जमिन खरिद गरिएको छ । सोही जमिनमा अहिले मेडिकल कलेजका लागि आवश्यक सबै पूर्वाधार समेत तयार गरिएको मेडिकल कलेजकी अध्यक्ष इन्दिरा गिरीले बताइन् । इन्दिरा भगवान तथा चन्द्रमाया गिरीकी जेठी छोरी हुन् ।
आमा २०४५ सालमा क्यान्सर लागेर बित्नुभयो – अध्यक्ष गिरीले भनिन्– त्यो वेला उपचार गर्न सहज थिएन, उपचारका लागि आमालाई शिलगढी पु¥याएका थियौं । भारतका धेरै ठाउँमा पु¥याउँदा पनि आमालाई बचाउन सकिएन, आमा खसेको वर्ष दिन बित्न नपाउँदै २०४६ सालमा बुबा पनि खस्नुभयो ।’

सहज उपचार नपाएर बाआमा दुवै गुमाएपछि हामीले भाइ रामवावुलाई डाक्टर पढाउने निधो ग¥यांै उनले भनिन्– बहिनी उमा र मेरो पहलमा भाइलाई डाक्टर पढाएका थियौं । भाइ डाक्टर भएपछि अस्पताल खोलिएको हो । बहिनी उमा, ज्वाइँ दुर्गा प्रसाईका छोरा निराजन र छोरी आर्जु डाक्टर छन् । परिवारकै तीन जना सदस्य डाक्टर भएपछि अस्पताल खोल्ने सल्लाह भएको र बुवा आमाको स्मृतिमा अस्पताल खोलिएको हो– अध्यक्ष गिरीले भनिन् ।
बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाई अध्यक्ष इन्दिराका कान्छा ज्वाइँ हुन् । २०७३ सालमा प्रसाईलाई घाँटीको क्यान्सर भएपछि प्रसाईले क्यान्सर अस्पताल आफैं बनाउने सोच बनाउनुभयो– इन्दिराले भनिन् । २०७४ साल वैशाख ९ गते भारतको मेदान्त अस्पतालमा प्रसाईंको शल्यक्रिया भयो, शल्यक्रिया सफल भएपछि आफैं बीएण्डसी अस्पतालसंगै क्यान्सर अस्पताल बनाउने सोच बोकेर फर्कनु भयो र यो अस्पताल तयार भएको हो– इन्दिराले भनिन् ।
छ सय करोड रुपैयाँ लगानी गर्दै भगवान र चन्द्रमाया गिरीको स्मृतिमा बीएण्डसी अस्पताल निर्माण गरिएको छ भने चार सय करोड रुपैयाँ लगानी गर्दै बीएण्डसी अस्पतालसंगै पूर्वाञ्चल क्यान्सर अस्पताल पनि तयार गरिएको छ ।
अत्याधुनिक उपकरण जडान गर्दै दक्षिण पूर्वी एसियामै उत्कृष्ट क्यान्सर अस्पताल तयार गरिएको सञ्चालक प्रसाईको दावी छ । सो अस्पतालले आज पुस १६ अर्थात् जनवरी १ सन् २०२० बाट सेवा शुरु गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
अस्पतालमा क्यान्सरको उपचारमा प्रयोग हुने बिम लिनर एक्सिलेरेटर, ब्रेकी थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर–डी सिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिसकेको बताइएको छ ।
अस्पताल तीन सय शैय्याको भए पनि तत्काल एक सय शैय्याबाट सेवा शुरु गर्ने बताइएको छ । मेचीको मुख्य व्यापारिक केन्द्र बिर्तामोड–५मा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल छन् । जसका लागि प्रसाई र गिरी परिवारको झण्डै एक हजार करोड रुपैयाँ लगानी भएको छ । वीएण्डसी हस्पिटलले मेडिकल कलेजको पठनपाठनका लागि मेचीनगर–११ धाइजनमा बेसिक साइन्स भवन तयार गरेको छ ।
हस्पिटललाई पूर्वकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त बनाउन सकिए पनि चिकित्सा शिक्षा प्रदान गर्ने योजना भने मुलुकको राजनीतिक उतारचढाव र चिकित्सा शिक्षा सम्बन्धी अस्थिर नीतिका कारण अपूरै रहेको अस्पताल अध्यक्ष इन्दिराले बताइन् ।
प्रा.डा. गोविन्द केसीसँग भएको नौ बुँदे सहमतिमा काठमाडौं उपत्यका बाहिरका आशयपत्र पाएर पूर्वाधार खडा गरिसकेका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने उल्लेख भएपछि बीएण्डसी हस्पिटलका सञ्चालक र झापावासीले छिट्टै बीएण्डसीलाई मेडिकल कलेजका रूपमा पाउने आशा राखेका थिए । तर, अहिलेसम्म अस्पतालले कलेज सञ्चालनको अनुमति पाउन सकेको छैन । नेपाल मेडिकल काउन्सिलबाट खटिएको अनुगमन टोलीले बीएण्डसीको बेसिक साइन्स भवन, ल्याव, लेक्चरर क्लासरुम लगायत सबै पूर्वाधार तयार भइसकेको भनी गतवर्ष नै प्रतिवेदन बुझाइसकेको बताइन्छ ।
सरकारबाट २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाइसकेको र तोकिएका मापदण्डसमेत पूरा गरिसकेको हुँदा मेडिकल कलेज बन्न बीएण्डसी हस्पिटल पूर्ण रुपले योग्य भइसकेको कार्यकारी निर्देशक प्रसाईले दावी गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बीएण्डसी हस्पिटलले २०७३ साउन ९ गते तीन सय शैय्याको अस्पताल सञ्चालनको स्वीकृति पाइसकेको छ । त्यस्तै २०७१ मंसीर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट नौ सय शैय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ ।






























राज्यको राजनीतिक अस्थिरता, नितिगत अस्थाईत्व ले गर्दा अर्बौं काे लगानी जाेखिममा परेकाे देखिन्छ । सरकार परिवर्तन संगै राज्यको निर्देशक सिद्धान्त पनि परिवर्तन हुदा मुलुककाे दिगो विकासकाे लक्ष्य प्राप्त गर्न प्राय असंम्भव बन्दैगएकाे छ। एकातिर हामी देशमा विदेशीहरु तथा एनआरएनलाई नेपालमा पुँँजी लगानी गर्न आकर्षित गर्न बिभिन्न कानुनमा परिवर्तन, करमा छुट जस्ता प्रलोभन दिन्छौ भने अर्कोतिर राजनीतिक कारणले नेपाली नागरिक काे लगानी भैसकेको पुँजीकाे संरक्षण गर्न नसक्नु दुर्भाग्यपुर्ण हाे ।