राष्ट्रिय पोशाकको सम्मान गरौं

0
469

सम्पादकीय

आज पुस १७ गते । छ वर्षअघि यो दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो । पहिलोपटक वि.सं. २०७० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट अभियानका रुपमा राष्ट्रिय पोशाक दिवस मनाउन शुरु गरिएको थियो । पश्चिम संस्कृतिले हाम्रा मौलिक परम्परा, धर्म, संस्कृति पहिरन र चाडपर्वहरुलाई विस्थापन गर्दै लगेका कारण मौलिक पहिचान र विशिष्टताको संरक्षणका लागि अभियान थालेको अभियन्ताको भनाइ छ । नेपाल मौलिक पहिचान भएको विविधताले परिपूर्ण देश हो । यहाँ रहेका जात–जातिको आफ्नै भाषा, संस्कार र संस्कृति छन् । यो विविधतालाई जोडेर राष्ट्रिय एकता कायम गर्न एउटै जाति नेपाली, साझा भाषा नेपाली भए जस्तै पोशाक पनि साझा थियो । तर, आज सरकारकै तर्फबाट नेपाल र नेपालीको साझा पहिचानको अवमानना भएको छ ।

संसारभर राष्ट्रियतालाई भाषा, धर्म, संस्कृति, पोशाक र परम्पराबाट पहिचान गरिन्छ । हामीकहाँ पनि गणतन्त्रात्मक शासन पद्दति आउनुपूर्व यस्तो पहिचान दिने आधारहरु थिए । ती मध्ये पहिरन एक थियो, जहाँ पुरुषको दौरा सुरुवाल, टोपी र महिलाको फरिया (साडी) र चोलोलाई राष्ट्रिय पोशाक मानिएको थियो । तर, त्यसपछि पहिरन अर्थात् पोशाकलाई राष्ट्रको चिनारीबाट हटाइयो फलस्वरुप इतिहासदेखि पहिरनले पहिचान दिँदै आएको नेपालीपन विस्थापित भयो । सरकारका प्रतिनिधि लगायत उच्च पदस्थ व्यक्तिहरु सार्वजनिक कार्यक्रमहरुमा, विदेश भ्रमणमा र राष्ट्रिय पर्वहरुमा स्वच्छन्द ढंगले उपस्थित हुँदा नेपालीको पहिलो पहिचान नै हरायो । त्यही पीडालाई जन्मिएको राष्ट्रिय पोशाक दिवसले आजबाट सातौं वर्षमा प्रवेश गरेको हो ।

नेपालीलाई यसबेला आयातित संस्कृतिले छोप्दै लगेको छ । पश्चिमाहरु नियोजित रुपमै नेपालीत्व समाप्त गर्न लागेका छन् । यसका लागि यहाँका जिम्मेवार व्यक्ति र संस्थाहरुलाई ‘मन्द विष’ घोलेर आकर्षक र क्षणिक आनन्दका सेवा, सुविधा मार्फत मौलिकता समाप्त गर्ने काम गरिँदैछ । त्यसकै परिणाम हो कि इतिहासदेखि अन्योन्याश्रित जस्तै रहेको राष्ट्रिय पोशाक मन्त्री, सचिव लगायतका सार्वजनिक पद धारण गर्नेहरुलाई स्वेच्छिक बनाइयो । परिणाम नेपालीको विशिष्ट पहिचान विलुप्त जस्तै बनेको छ । त्यसैले पनि राष्ट्रिय पोशाक दिवस महाअभियानका रुपमा आयोजना गर्नु परेको । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पहिचानका रुपमा रहेको दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोलो राष्ट्रिय पोशाकबाट हटाएपछि देशभक्तिको भावनाले यो दिवस जन्माएको हो ।

जनताका तर्फबाट स्वतःस्फूर्त जन्मिएका अभियान चिरस्थायी र फलदायी हुन्छन् । पोशाक दिवस महाअभियान पनि त्यस्तै मौलिकता र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने आन्दोलन हो । यसले आम नेपालीमा मौलिकता प्रतिको प्रेम र श्रद्धा जगाउनु पर्छ । अहिले ग्रामीण क्षेत्रहरुमा समेत आयातित पहिरनले जरो गाड्दै आएको छ । शहर र शहर उन्मुख क्षेत्रहरु राष्ट्रिय पोशाक प्रति आकर्षित भइरहेका छैनन् । यस्तो अवस्थामा राज्यले नै मौलिकताको रक्षाका लागि अघि सर्नु पर्दछ ।

त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारमा रहेकाहरुको इमान्दार निष्ठा आवश्यक हुन्छ । सरकारमा बस्नेहरुले औपचारिक सभा–समारोहमा नेपालीत्व देखिने पोशाक अनिवार्य लगाउनु पर्दछ । हिला र पुरुष दुबैले जातीयताको सङ्कीर्णता होइन राष्ट्रिय पहिचानको उदात्त व्यवहार देखाउनु पर्छ । राष्ट्रिय पोशाक दिवस यसकै लागि उत्प्रेरक बनोस् । सबै नेपाली जो जहाँ बसे पनि राष्ट्र र राष्ट्रियताप्रति एक हुन सकौं– यो नै आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here