हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

0
647

दमौली,

तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ ।

विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्दी गाउँपालिका–३ लामागाउँ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक भन्ने बुद्धिबहादुर कामीलाई जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले अभियुक्तलाई उक्त फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । अभियुक्तलाई जनही रु एक लाख १० हजारका दरले जरिवाना गर्ने निर्णयसमेत भएको छ । सोही घटनामा संलग्न भनिएका धनबहादुर कामी र मनकुमार कामी भने फरार रहेका जनाइएको छ ।

हत्यामा संलग्न रहेका मनकुमारी र मनमाया दिदी र आयुष मृतक राजुका भाई हुन् । उनीहरुले राजुलाई चिर्पटले टाउकामा हानी डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो । प्रहरीले अभियुक्तलाई विसं २०७५ माघ २२ गते पक्राउ गरेको थियो ।

अभियुक्तले राजुको हत्या गरी भानु नगरपालिका–९ काउरेटारको इनारमा फालेका थिए । स्थानीय रामप्रसाद हड्खलेको बारीमा सिँचाइका लागि खनेको इनारभित्र मृतकको शव दुर्गन्धित अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अभियुक्त सबै फागुन १६ गतेदेखि पुर्पक्षका लागि थुनामा गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here