ताप्लेजुङ।

धरानका कुलुङले आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।
मिनारी दोचाम् चासूम लो फाइम् येलोदोङ (चाक्चाकुर) पर्वको अवसरमा आधारपत्र पेश गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरूले धरान उपमहानगरपालिकाभित्र रहेका आदिवासी जनजातिको सूची अविलम्व निर्माण गरिनुपर्ने, मापदण्ड पुगेका तर बहिष्करणमा पारिएका कुलुङ लगायत सबै जातिहरूलाई आदिवासी जनजातिको सूचीकरणमा समावेश गरी राज्यद्वारा निर्देशित सर्वाङ्गीण विकासमा अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्वको माग गरेका छन् ।
धरानमा कुलुङ लगायत मेवाहाङ, देवान, लोहोरुङ, खालिङ, वान्तवा, साम्पाङ, याम्फु आदि समुदाय विभेद र बहिष्करण, अन्याय र उत्पीडनमा परेको उनीहरुले जनाएका छन् । ‘राष्ट्रिय जनगणना २०६८ मा भाषा र जाति सूचीकृत भइसकेको, कुलुङ भाषाको पाठ्यक्रम कक्षा–५ सम्म निर्मित भई अध्ययन अध्यापन कार्य पनि भइरहेको, कुलुङको मौलिक सांस्कृतिक पर्व चाक्चाकुर, भूमिपूजा, पितृ पुजन कार्य, देदाम लगायत, जन्म, विवाह, मृत्यु कर्मकाण्ड गरिरहेको र एक सय ५० भन्दा बढी थरहरू रही महाकुलुङ समेत यथेष्ट आदिवासी जनजातिका प्रमाण रहँदारहँदै यस जातिलाई भिन्न आदिवासी जनजातिको सूचीमा सूचीकृत गराइएन, जसका कारण राज्यद्वारा अविलम्वित समावेशी–समानुपातिक विकासका अवसर छात्रवृत्ति, रोजगार, आर्थिक, व्यक्तित्व विकास केही हुन पाएको छैन ।’ –आधारपत्रमा भनिएको छ ।
आधारपत्रमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा मन्त्रिपरिषद्मा आदिवासी जनजातिका अधिकार स्थापितका लागि कार्यान्वयन गर्न गरिएको सिफारिस भएपछि उक्त सिफारिसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यान्वयन गर्न गराउन संघीय मालिम तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ वैशाख ४ गतेको परिपत्रद्वारा सबै स्थानीय तहका सरकारलाई सूची पुनरावलोकन गरी स्थानीय तहमा आदिवासी जनजातिको सूची निर्धारण गरी आयोग र प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराउन निर्देश गरेको परिपत्र पनि संलग्न राखेर पठाइएको छ ।
यसैबीच उनीहरूले धरान देवीगाउँमा आफ्नै कार्यालयमा भेला भएर सामुहिक रूपमा यो चाड मनाएका छन् । कुलुङ भाषामा पुस महिनालाई चाक्चाकुर भनिन्छ । वि.सं २०६४ देखि नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको पहलमा कुलुङ समुदायले चाक्चाकुर मनाउन शुरु गरेका हुन् । उनीहरूले वर्षेनि चाड मनाउने गरेका छन् । हिन्दूको दशैं जस्तै महत्व बोकेको सो पर्वमा कुलुङले टीका लगाएर मान्यजनबाट आशीर्वाद लिएर मनाउने गर्छन् ।
गोमा कुलुङले स्वागत गरेको कार्यक्रममा जिल्ला संयोजक मालुमध्वज पिदिशे, नेपाल किरात कुलुङ भाषा, संस्कृति उत्थान संघ प्रदेश नं. १ का अध्यक्ष आशधन कुलुङ, कुलुङ संघका सल्लाहकार वीरचन्द्र रिन्हो लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा यो पर्व सोलुखुम्बुसँगै संखुवासभा, इलाम, झापा, भोजपुर, धरान, काठमाडौँ लगायत देशका २६ जिल्लामा बसोबास गर्ने कुलुङले मनाउँछन् ।































