भ्रमण वर्ष र अपेक्षा

0
468

सम्पादकीय

वाह्य पर्यटकहरुलाई आकर्षित गर्दै देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक विशिष्टताको माध्यमबाट विश्वमा पहिचान कायम गर्न अंग्रेजी सम्वत् २०२० को पहिलो दिनदेखि भ्रमण वर्ष अभियान शुरु भएको छ । यसै पनि तिथि–मिति बिना, बिना सूचना अचानक आएका अभ्यागत पाहुना हुन् । ती पाहुनालाई अतिथि पनि भनिन्छ । यसरी आएकाहरु नेपाली संस्कृतिमा देवता सरह मानिन्छन् । त्यही सिकाएको छ वैदिक संस्कृतिले ‘अतिथि देवो भवः’ भनेर । सनातन वैदिक संस्कृतिमा ‘घुन–पुत्ली’ पर्दै गएको छ यतिबेला । हाम्रा कतिपय संस्कारजन्य परम्पराहरु भौतिकताको रमझममा विलुप्त हुन थालेका छन् । जन्मदेखि मृत्युपर्यन्तका कतिपय संस्कारहरु पुरातन र रुढीबाढी भन्दै विस्थापन गर्ने दुष्प्रयास गर्नेहरुको संङ्ख्या पनि देखिन थालेको छ ।

बाह्य स्वरुप बदल्दैमा प्राकृत गुण हराउँदैन । बाघको छाला ओडेको भरमा स्यालहरु बाघ बन्दैनन् । निजत्व प्रत्येक जातिसँग हुन्छ । त्यो जीवन होस, चराचुरुंगी वा वनस्पति नै किन नहोस् । हामीले भौतिकताले चुलिएका विदेशीहरुलाई आकर्षित गर्ने भनेको हाम्रा पहाड, पर्वत, हिमाल, वनजंगल, खहरे, झरना, जीवजन्तुहरुले हो । यो संगै यहाँको जातीय, भाषिक, सांस्कृतिक एवम् धार्मिक विविधताले समेत विदेशीहरु नेपाललाई मुख्य गन्तव्य बनाउँछन् । उनीहरुको आगमन र लक्षित बसाइलाई सुनिश्चित गर्न सकिए मात्रै पनि प्रत्येक वर्ष नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्छ । यसका लागि पर्यटक लक्षित सेवा–सुविधा, सम्मान, सुरक्षा लगायतको निश्चिन्तता हुनुपर्छ ।

जनवरी १ देखि शुरु भएको नेपाल भ्रण वर्ष राष्ट्रिय अभियानले सातवटै प्रदेशलाई छोपेको छ । प्रत्येक प्रवेशद्वारमा यसका लागि विशेष प्रबन्ध पनि गरिएको छ शायद । यो प्रबन्ध देखावटी होइन अनुभूति गर्ने खालको भयो भने भ्रमण सक्नेहरुले त्यस्तै सन्देश लिएर जानेछन् । त्यही सन्देश वाह्य पर्यटकलाई आकर्षित गर्ने आधार र माध्यम दुबै बन्नेछ । गेटमा बसेर माला, टोपी लगाइदिएर वा ‘स्वागत छ’ भनेर मात्र पुग्दैन । उनीहरुलाई नयाँ देश, नौलो परिवेश र नवीन वातावरणमा आवश्यक पर्ने सम्पूर्ण सेवा सहज ढंगले प्रवाह गर्ने व्यवस्थापन स्थानीय सरकारले मिलाउनु पर्दछ ।

झापा पर्यटकलाई आकर्षित गर्न सक्ने पूर्वाधारहरुले सम्पन्न छ । धार्मिकदेखि सांस्कृतिक, भाषिक, सामाजिक तथा प्राकृतिक सम्पदाको माध्यमबाट जति धेरै विदेशीहरु आकर्षित हुन्छन् हामीले त्यही आधारमा लक्ष्य छुन सक्छौं । हाम्रो सरकारको बीस लाखको लक्ष्यका बीच प्रदेश १ सरकारले एक्लै पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको छ । तिनको आगमन, बसाइ र घुमफिर सुरक्षित र सुनिश्चित होस् यसतर्फ स्थानीय सरकारको प्रमुख भूमिका रहनु पर्दछ । हाम्रा जातीय संस्कृतिको माध्यमबाट होस् वा उत्कृष्ट आतिथ्यबाट अतिथिहरुको मन प्रफुल्ल होस् । हाम्रा प्राकृतिक सम्पदाहरुले पर्यटकलाई आकर्षित गर्न सकोस् । नेपाललाई विश्वमाझ सुन्दर, शान्त, सुरम्य देशको रुपमा अझ बढी पहिचान दिन सकियोस् । नेपाल भ्रमण वर्ष २०२० को भव्य सम्पन्नताको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here