सम्पादकीय
बिर्तामोडको केन्द्रमा रहेको रामचोक सामुदायिक वन आफैंमा महत्वपूर्ण छ । वनजंगल वातावरणको संरक्षण, जैविक विविधता, पारिस्थितिक प्रणालीको रक्षाका लागि मात्रै होइन कुनै क्षेत्र विशेषको सौन्दर्यका लागि समेत आवश्यक हुन्छ । यिनै आवश्यकताको परिपूर्ति गर्ने कारणले वनजंगलको महत्व बढेको हो । अझ पछिल्लो समय भौतिक विकासका लागि प्रकृति र प्राकृतिक स्रोतको विनाश भइरहेको छ । त्यसका कारण विश्वको तापक्रम बढ्दै जाँदा सम्पूर्ण पृथ्वी मानव मात्रका लागि प्रतिकूल हुने क्रममा छ । मौसम परिवर्तन भइरहेको छ, अनेक वैज्ञानिक प्रयोगको परिणाम ओजोन तह कमजोर हुँदै सूर्यबाट विषाक्त परावैजनी किरण सोझै पृथ्वीसम्म आइपुग्ने जोखिम बढेको छ ।
यतिखेर विकसित राष्ट्रहरु विकासशील राष्ट्रहरुलाई भौतिक विकासका लागि प्रकृतिको दोहन नगर्न सुझाव दिँदैछन् । उनीहरु बरु आर्थिक सहयोग गरेर भए पनि प्राकृतिक स्वरुपलाई यथास्थितिमा राख्न आह्वान गर्दैछन् । मानिसले उत्सर्जन गरेको हानीकारक ग्यास तथा फोहरका कारण परिवर्तन हँुदै ह्रासोन्मुख वातावरणीय अवस्थितिलाई रोक्ने र नियन्त्रण गर्ने भनेको वनजंगलले नै हो । तर, पैसा कमाउने लालसाले वन फँडानी भइरहँदा चराचुरुंगी, वन्यजन्तु समेत लोपोन्मुख अवस्थामा पुग्दा सौन्दर्य मात्र होइन, मानवजीवन नै संकटमा पर्दै गएको छ । यही अवस्थामा बिर्तामोड–२ मा रहेको जिल्लाकै सानो वन क्षेत्र आफ्नो अस्तित्व रक्षाको चुनौतिसँग लडिरहेको छ ।
करिब २ हेक्टर क्षेत्रफल रहेको रामचोक सामुदायिक वनमा साखु जातका एक सय पैंसठ्ठीवटा रुख छन् । ती पनि सुक्ने क्रममा छन्, मर्दैछन् । त्यही क्रमले सुक्दै जाँदा वन क्षेत्रको अस्तित्व नै संकटमा पर्ने र त्यसले मानव जीवन प्रत्यक्षतः प्रभावित हुने निश्चित छ । सोही वन छ वर्षअघि तत्कालीन वन समितिले हर्बल पार्क निर्माण गर्ने गरी चालीस वर्षका लागि लिजमा दिने सहमति गरेको थियो । वर्तमान कार्यसमितिले साधारणसभाको आदेशको पालना गर्दै कल्पचन्द्र आरोग्य धामसँग भएको सम्झौता खारेज गर्ने निर्णय ग¥यो । जिल्लाकै केन्द्रमा रहेको, जनघनत्व उच्च रहेको, पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकको र सानो मध्येको एक सो सामुदायिक वनको अस्तित्व नै समाप्त हुनेगरी लिजमा दिनु कानूनसम्मत नहुन पनि सक्छ ।
‘आँखाको नानी’ सरहको रामचोक सामुदायिक वन क्षेत्र बिर्तामोडबासीको मात्र होइन जिल्लाकै सरोकारको विषय हुनुपर्छ । वर्तमान संरचना अनुसार स्थानीय सरकार यो र यस्ता सार्वजनिक सम्पत्तिको अभिभावक र संरक्षक हुनुपर्दछ । त्यस आधारमा बिर्तामोड नगरपालिकाले सानो तर महत्वको रामचोक सामुदायिक वन उपभोक्ता समूहको निर्णय अनुसार वन क्षेत्रको प्राकृतिक स्वरुप जोगाउन पहल गर्नुपर्दछ । कृत्रिमताले वनको स्वरुप बिग्रिने मात्र होइन, मासिने डर पनि त्यत्तिकै रहन्छ । तसर्थ, वन डिभिजन कार्यालय, सम्बद्ध निकाय तथा मन्त्रालय समेतको सहकार्यमा बिर्तामोड नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नु यस क्षेत्रकै आवश्यकता हो । भएका बिरुवा नमरुन्, भौतिक संरचना निर्माण नहोस्, वातावरणमा प्रतिकूलता नआओस् यसतर्फ सम्बद्ध निकायको ध्यानाकृष्ट होस् ।




























