बिर्तामोड।
झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रो. मोहम्मद युनुस सहारा पुरस्कार’ तरकारी उद्यमी टीकादेवी राईलाई प्रदान गरिने भएको छ ।
झापाको शनिश्चरे सेवा केन्द्र अन्तरगत जागृति सहारा महिला समूहमा आबद्ध उनलाई संस्थाले २३ औँ वार्षिक साधारणको अवसरमा आयोजित समारोहमा ५१ हजार रुपैयाँसहितको उक्त पुरस्कार प्रदान गर्न लागेको संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
संस्थाको साधारणसभा पुस २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुनेछ । विगत चार वर्षदेखि सो संस्थाले आफ्ना शेयर सदस्यमध्ये उद्यमशील एक जना सदस्य सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।































