नमूना बन्दै सरस्वती

0
953

बिर्तामोड।

केही वर्ष अघिसम्म ‘झोडा स्कूल’का नामले परिचित बिर्तामोड नगरपालिका–६ वुट्टावारीको सरस्वती माध्यमिक विद्यालय एकाएक नमूना बन्दै गएको छ ।

बिद्यालयले शैक्षिक गुणस्तरसँगै भौतिक संरचना समेत निर्माण गर्दै स्तरोन्नति भएपछि सरस्वती सबैको रोजाइमा समेत परेको हो । हेयका दृष्टिले ‘झोडा स्कूल’ भन्दै आफ्ना नानीहरु निजी विद्यालय पठाउने अधिकांश अभिभावकले पनि विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्न थालेपछि आफ्ना नानीहरु सोही विद्यालयमा भर्ना गरेका छन् ।

बाल शिक्षदेखि बालमैत्री र प्रविधिमैत्री शिक्षा प्रदान गर्न थालेपछि सरस्वती सबैको रोजाइमा परेको बताइएको छ । अहिले सो क्षेत्रका अभिभावक पनि विद्यालयको आमूल परिर्वतन प्रति आश्चर्यचकित छन् ।

केही वर्षअघिसम्म एउटा पनि पक्की भौतिक संरचना नभएको विद्यालय अहिले आफ्नै सुविधासम्पन्न भवनमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न सक्षम भएको छ । समायनुकूल शिक्षा प्रदान गर्न थालेपछि केही वर्षदेखि बिद्यार्थीको चाप बढेको बिद्यालय प्रशासनले जनाएको छ ।

अहिले सरस्वती माध्यमिक विद्यालयमा ५ सय ३५ जना विद्यार्थी अध्ययनरत् छन् । कक्षा ११ र १२को अध्ययन अध्यापनको तयारी गरिरहेको सो विद्यालयले प्रविधिक धारका कक्षा सञ्चालनको समेत तयारी थालेको र नगरकै नमूना विद्यालय बनाउने अवधारणा अघि सारेको छ ।

प्रधानाध्यापक दीपक लुइँटेलका अनुसार विद्यालयले पूर्वाधारसंगै शैक्षिक गुणस्तर सुधारमा परिर्वतन ल्याएपछि सरस्वती बिद्यार्थीको रोजाइमा परेको हो । विद्यालयमै छुट्टै पुस्तकालय, साइन्स ल्याव, प्रविधिमैत्री सिकाइका लागि कम्प्युटर कक्षा, शुद्ध पिउने पानीका लागि फिल्टर प्लान्टसहितको व्यवस्था हुनु नै सरस्वती सबैको रोजाइमा पर्नु हो– प्रधानाध्यापक– लुइँटेलले भने– कक्षा ११ र १२ को पठनपाठन सञ्चालनसंगै सरस्वतीले छुट्टै पहिचान बनाउँछ ।

अहिले भएको व्यवस्थापन समितिको पहलमा विद्यालयमा करोडौका भौतिक संरचना निर्माण भएका छन् । जसका लागि व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वासहितको सिङ्गो टिमको अथक पहल छ– प्रधानाध्यापक लुइँटेलले भने – ‘विद्यालय सुधार्न व्यवस्थापन समितिको भूमिका निक्कै महत्वपूर्ण हुँदोरहेछ । विद्यालय चलायमान राख्न कि प्रधानाध्यापक कि त समिति नै सक्रिय हुनुपर्ने रहेछ । यो विद्यालयले दुवै पायो, छोटो समयमा परिर्वतन भएर सरस्वतीले देखायो ।’

अध्यक्ष कन्दङ्वा नेतृत्वको समितिले आठ कोठे सुविधासम्पन्न दुई तले हिरोता ड्रिम भवन, साविक जिल्ला शिक्षा कार्यालय झापा मार्फत ४ कोठे दुई तले भवन, नगर र वडाबाट ६ कोठे दुई तले भवन निर्माण भएका छन् भने सरस्वतीको मन्दिर समेत निर्माण भएको छ ।

भवन निर्माणका लागि घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीमार्फत हिरोता ड्रिम निर्माणमा झण्डै अढाई करोड रुपैयाँ लागेको र साविक जिल्ला शिक्षा कार्यालयबाट २४ लाखे बजेटले ४ कोठे दुई तले भवन निर्माण गरिएको अध्यक्ष कन्दङ्वाले जानकारी दिए । उनका अनुसार बिर्तामोड नगरपालिका र वडा कार्यालयको झण्डै एक करोड रुपैयाँ वरावरको बजेटले २ तले ६ कोठे भवन निर्माण भएको छ ।

विद्यालयको भौतिक संरचनासंगै शैक्षिक गुणस्तर सुधार भएपछि अभिभावकले आफ्ना नानीहरु निजी बिद्यालयबाट निकालेर सरस्वतीमा भर्ना गरेका छन्– कन्दङ्वाले भने– यो बिद्यालयलाई अझ व्यवस्थित गरी जिल्लाकै नमूना विद्यालय बनाउँछौं । हाल विद्यालयको ऐलानी जग्गा व्यवस्थापन र पुस्तकालयका लागि कर्मचारीको व्यवस्थापन तथा पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठनपाठनका लागि शिक्षकको व्यवस्थापनको काममा विद्यालय जुटेको प्रधानाध्यापक लुइँटेलले बताए ।

विद्यालयमा अहिले बाल शिक्षामा मात्रै ४१ जना बालबालिका अध्ययनरत् छन् भने आधारभूत तह १– ५ सम्म अध्ययन गर्ने बिद्यार्थीको संख्या १८३, जना ६– ८ सम्म अध्ययन गर्ने बिद्यार्थीको संख्या २१३ र माध्यमिक तहमा १३९ जना बिद्यार्थी अध्ययनरत् रहेको बताइएको छ ।

यसैबीच बिद्यालयको चौतर्फी विकासका लागि अभिभावकले समेत आ– आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले आफ्नै ठाउँको सरस्वतीलाई नचिने र अन्त सरस्वती खोज्न गएको भन्दै आगामी दिनमा बिद्यालयलाई अझ राम्रो र परिष्कृत गरेर लाने प्रतिवद्धता जनाए ।

विद्यालयमा बुधवार भएको अभिभावक भेलामा बिद्यालयलाई थप चलायमान बनाउन नयाँ नेतृत्व चयन गरिएको छ । अभिभावकले शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि यस अधिको समितिले उल्लेख्य काम गरेको भन्दै प्रशंसा समेत गरेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा अधिकृत केशरबहादुर खवास, बिर्तामोड–६का वडा अध्यक्ष सूर्य कन्दङ्वा, बिद्यालयका सल्लाहकार समिति संयोजक रामकुमार कन्दङ्वा, सल्लाहकार लोकबन्धु कन्दङ्वा, तेजबहादुर कन्दङ्वा, पर्शुराम राई, व्यवस्थापन समिति पूर्व अध्यक्ष कृष्णमाया चौधरी, जनप्रतिनिधि पवित्रा कोइराला लगायतले बोलेका थिए ।

यसैबीच भेलाले पुरानो विद्यालय व्यवस्थापन समिति भंग गर्दै नयाँ व्यवस्थापन समितिका लागि चार जना अभिभावकलाई चयन गरेको छ । भेलाले राजुजंग कन्दङ्वा, पदमसुन्दर कन्दङ्वा, देवी राई र अनिता बराइलीलाई चयन गरेको छ ।

त्यस्तै शिक्षक अभिभावक संघमा संयोजकमा मनिकुमार भट्टराई, सदस्यमा जीवन बाँस्कोटा, सुशीला गिरी, कमला भट्टराई, कैलाश कन्दङ्वा र वीरवहादुर राई सर्वसम्मत चयन भएका छन् । विद्यालयमा आयोजित कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक नारायण चम्लागाँईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here